
जजसले अशेष मल्ल लिखित “अतिरिक्त आकाश” सडक नाटक हेरे, तिनको मनमा अझै पनि त्यो नाटकको नायकको सम्झना भएको हुनुपर्दछ । त्यो विशेष खालको भूमिका निर्वाह गर्ने खाइलाग्दो कलाकार कता हरायो भन्ने लागेको हुन सक्छ । दुई पात्रको त्यो नाटकमा मूल पात्रले आफू कसरी हत्यारा भयो, किन हत्या गऱ्यो भन्ने मार्मिक कथा भन्छ जेलभित्र । एक प्रकारको एकालाप हो यो नाटक । मूल पात्रले मात्र बोल्दछ । दोस्रो पात्र जेलरले मूक अभिनयले नै धेरै थोक अभिव्यक्त गर्दछ । बोल्दैन । यी दुवै पात्रको अभिनय गर्ने कलाकारका रूपमा देखिएका प्रतिभाहरू नेपाली साहित्यका विशेष कथा क्षेत्रमा नाम कमाएका साहित्यकारहरू हुन् । मूक पात्र ओममणि शर्मा हुन् भने मूल पात्र किशोर पहाडी ।
अहिले म यी हरफहरू लेखिरहँदा पनि किशोरको त्यो अभिनय मेरो आँखाअघि सजीव रूपमा टड्कारो देखा परिरहेछ, मानौँ यो नाटक मैले भर्खरै हेरेर फर्केको हुँ ।
तर किशोर लामै समयदेखि नाट्याभिनयबाट टाढा छन् । दशकौँ नै हुन लाग्यो एक प्रकारले । लेखनमा पनि तुलनात्मक हिसाबले सुस्ताएका छन् तर साहित्यिक गतिविधि र साहित्यिक जगत्मा भने सक्रिय छन्, चलायमान छन् । उनी आजकल सबभन्दा धेरै शब्दपथमा व्यस्त हुन मन पराउँछन् । नेपाली साहित्यको गतिविधिको जानकारीका लागि यो नम्बर वान थलो भएको छ । सुरुमा पेन लभर्स ईन नेपाल नाउँबाट सुरु भएर अहिले शब्दपथमा रूपान्तरित फेसबुक पेज विश्वभरिको नेपाली जगत्मा परिचित र लोकप्रिय छ । यद्यपि यसमा अरू हातहरू, अरू साथहरू पनि छन्, तर मूल खम्बा भने किशोर पहाडी नै हुन् ।
र यी किशोर पहाडी मेरा अभिन्न मित्र हुन् ।
यिनीसँगको मित्रता विसं २०३६ को आसपास भएको हो । सम्भवतः न्युरोड पिपलबोटमुनितिर । उनी त्यतिखेर खानेपानी समिति त्रिपुरेश्वरमा काम गर्थे र म त्रिभुवन विश्वविद्यालय त्रिपुरेश्वरमा काम गर्थेँ, जहाँ अहिले वर्ल्ड ट्रेड सेन्टरको भीमकाय भवन छ ।
विसं २०३६ सालको सडक कविता क्रान्तिले हामीलाई निकटतम बनायो नै । काठमाडौँमा एक महिनासम्म चलेको सडक कविता क्रान्तिका कविता वाचन कार्यक्रमहरूमा त सँगै भइयो नै, चुँदी रम्घादेखि पोखरासम्मको अरू हप्ता दिनको २४ घन्टे साथले हामीलाई झन् निकट, सन्निकट बनायो ।
पोखरा भ्रमणको क्रममा हरिभक्त कटुवालको फर्माइसमा किशोरले “बतासले झारेका फूलहरू सँगाली…” गीत गाएको पनि सम्झनाको सन्दुकमा सकुशल ताजाताजा विद्यमान छ ।
त्यसपछि त साँझ पीपलबोटमुनि भेट्ने, अनि गफ गर्दै कालिमाटीसम्म आउने र म कालिमाटीको आफ्नो डेरातिर लाग्ने, उनी चाहिँ साईकल चढेर पिताजीको घर बल्खुतिर लाग्ने । यसो गर्थ्यौँ । कहिलेकाहीँ अलिक ढिलो भएको छ भने म बल्खु चक्रपथको चोकसम्म पुऱ्याउन जाने पनि गर्थेँ । एक प्रकारको यस्तो रुटिन नै भएको थियो ।
त्यस ताक म हिन्दीका केही पत्रिकाहरू नियमितजसो किनेर पढ्थेँ, नेपाली पत्रिकाहरूको साथसाथै । त्यसमध्ये “सारिका” विशेष थियो । सारिका कथाप्रधान पत्रिका भएर बढी लोकप्रिय थियो । म हरेक अङ्क किन्दथेँ तर किनिसकेपछि किशोर भन्दथे, ” म आज लैजाऊँ है !”
म किन्थेँ, किशोर लान्थे र पहिला पढ्थे, उनले पढिसकेपछि म पढ्थेँ । साँझ न्युरोडबाट फर्किँदा कहिले हामी गफ गर्दै पैदल आउँथ्यौँ, कहिले भने किशोरको साईकलको पछाडि वा अघिल्तिर बसेर आउँथेँ ।
किशोर बङ्गाली लेखक विमल मित्रका रचना खुब मन पराउने गर्थे । त्यति वेला हामी नेपाल भारत सांस्कृतिक केन्द्र आरएनएसी भवन जाने गर्थ्यौँ । किशोरले त्यहाँ पुस्तकालयमा उपलब्ध विमल मित्रका सबै नै पुस्तक कुनै नछाडि अध्ययन गरेका थिए । साहब बिबी गुलाम २ भागको मोटामोटा उपन्यास पनि उनले आद्योपान्त अक्षरस पढेका थिए । हुन पनि विमल मित्रको लेखनशैली नै यस्तो हुन्थ्यो कि जतिसुकै लामो कथानक र पृष्ठ भए पनि त्यो सक्याउन उत्सुकता जगाइराख्ने हुन्थ्यो । मलाई लाग्छ, किशोरले जति विमल मित्रको कृति पढ्ने कोही नेपाली लेखक पाठक शायदै होलान् । उनलाई र उनको लेखनलाई विमल मित्रले गजबको साहित्यिक प्रभाव पारेका थिए ।
किशोरको बिहा हुने भयो । बिहाको वेला मैले किशोरको घर निकै आउजाउ गरेँ र किशोरका पितामाता, दुवै बहिनीहरूसँग पनि आत्मीयता भयो र किशोरको घर पनि आफ्नै घरजस्तो लाग्न थाल्यो । मित्रताले परिवारका सबै सदस्यसम्म पुगेर झ्याँगिने मौका पायो । किशोरले बिहा गर्न लागेकी कन्या गगन विरहीकी एउटै कक्षामा अध्ययन गर्ने रुक्मिणी थिइन् । यसैले किशोरको गगन विरहीसँग विशेष आत्मीयता गगन जीवित रहुन्जेल यथावत् रह्यो, अझ बढी नै आत्मीय भयो होला । उनी बिरामी हुँदा धेरै चासो लिने र भेट्न जानेमा किशोर नै मुख्य साथी थिए ।
किशोरको परिवारसँग आत्मीय भएकैले मैले विसं २०३८ सालमा धनकुटामा राजाको सवारी शिविरमा भएको कवि गोष्ठीमा किशोरका पिताको दौरा सुरुवाल मागेर लगाएको थिएँ । होचा कदका, मोटा किशोरका पिताको दौरा सुरुवाल म लुखुरेका लागि बडो मुस्किलले मिलाएर लगाई काम चलाउन सकेको थिएँ । मैले लगाएको दौरा सुरुवालको सम्झना गर्दै मोहन हिमांशु थापाले पछिसम्म पनि हाँसो गर्दथे, त्यो दिन सम्झँदै ।
किशोर खानेपानीमा ओभरसियर थिए तर उनले त्यो जागिर छोडे र व्यापारमा लागे । उनले पाटनको पुल्चोक दमकलछेउको किराना पसल किनेर कोल्डस्टोर बनाए । लेखनमा पनि उनको निरन्तरता थियो नै । झन् यो दोकानले गर्दा, त्यो दोकान नै साहित्यिक भेटघाटको एउटा बिन्दुझैँ हुन पुग्यो ।
किशोर मैले परिचय गर्नुअघि नै साहित्यिक क्षेत्रमा लागिसकेका थिए । रूपरेखाजस्तो नीजि क्षेत्रको साहित्यिक पत्रिकाको उनी प्रतिनिधि नै थिए । यो बेग्लै कुरा हो, रूपरेखामा उनको नाम किशोर पहाडी छापिएको थिएन, किशोरमान श्रेष्ठ, खानेपानी समिति, त्रिपुरेश्वर, काठमाडौँ भनेर मुद्रित हुन्थ्यो । उनको रूपरेखामा प्रकाशित “कोही नभएको ऊ” कथा पढेर म निकै भावुक बनेको थिएँ र प्रभावित भएको थिएँ ।
उनको कथासङ्ग्रह “बाँच्नु र बाँचेकाहरू” उनले आफ्नै खर्चमा निकालेका थिए र त्यो अनिता तुलाधरका श्रीमान्को प्रेस न्हौखामा मुद्रण भएको थियो । त्यो प्रकाशन गर्ने सिलसिलामा हामी सँगसँगै निकैपटक प्रेस गएका थियौँ । यो विसं २०३७ सालको कुरा थियो । रमाइलो कुरा, उनको त्यसै साल “घर खण्डहर” कथासङ्ग्रह साझा प्रकाशनबाट पनि प्रकाशित भयो । त्यति वेला विमोचन, विचार गोष्ठीहरूको प्रचलन व्याप्त भइसकेको थिएन, साहित्यिक पत्रपत्रिकामा पुस्तक समीक्षा गर्ने गराउनेबाहेक तर त्यति वेला एकै साल दुई-दुईओटा पुस्तक छापिनु चानचुने कुरा थिएन ।
यो चरणमा किशोर र अशेषको मित्रता सिर्जनात्मकतामा पनि मौलायो । उनीहरूले सहलेखनमा कथाहरू लेख्न थाले र ती कथाहरू समसामयिक पनि थिए । हृदयस्पर्शी पनि थिए । निकै चर्चा पनि पाए । मैले अनुभव प्रकाशनको पहिलो कृतिका रूपमा ती कथाहरू “कथाकोण” शीर्षकमा प्रकाशित गरेँ । यसरी यो किताब हामी ३ जनाको साहित्यिक मित्रताको त्रिकोणात्मक चिनो रहन गयो ।
किशोरले दोकान चलाउँदै “सौरभ” लाई पुनर्जन्म दिएर डाइजेस्टका रूपमा प्रकाशन गरे । यो प्रदीप कोइरालाले सुरु गरेको साहित्यिक पत्रिका थियो । यो पत्रिकाको एउटा अङ्कलाई लघुकथा अङ्कका रूपमा समेत प्रकाशित गरिएको थियो । त्यस अङ्कमा रहेका धेरैजसो लघुकथाहरू “सिर्जनशील साहित्यिक समाज” ले आयोजना गरेको लघुकथा गोष्ठीमा पाठ गरिएका लघुकथाहरू समाविष्ट थिए । पछि त्यस लघुकथा अङ्कको अफ प्रिन्ट किताबको रूपमा “अध्याय” शीर्षकमा प्रकाशित गरे ।
किशोरले सुरुमा डाइजेस्टको रूप दिएको “सौरभ” लाई पछि आकार अलि ठुलो बनाएर साहित्यिक समाचार र विचार प्रकाशन गर्ने म्यागाजिनको रूप दिए । यो रूप डाइजेस्टको रूपभन्दा लोकप्रिय भयो ।
यसैबिच नेपाल टेलिभिजन सुरु भइसकेको थियो र किशोरले बाल कार्यक्रम प्रस्तुत गर्ने अवसर पाए । त्यो कार्यक्रममा मलाई पनि सन् १९९२ मा पहिलो विदेश यात्रा गरेको लन्डनको वर्णन सुनाउन सो कार्यक्रममा बोलाएका थिए र नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो । उनको सिर्जनात्मक सोचले उनले बाल कार्यक्रमलाई निकै लोकप्रिय बनाउन सकेका थिए ।
पछि किशोरले आफ्नो कोल्ड स्टोरलाई भिडियो क्यासेट स्टोरमा परिवर्तन गरे । त्यति वेला भिडियोमा सिनेमा हेर्ने उत्कर्ष समय थियो । उनले सो व्यापार निकै राम्रोसँग सफलतापूर्वक गरेको देखिन्थ्यो । त्यसक्रममा हामी अन्तरङ्ग कुराकानी गर्दा उनले ब्लु फिल्म हुरुक्कै भएर हेर्ने अग्रज साहित्यकारको कुरा निकै स्वादसँग सुनाउँथे र म दङ्ग पर्थेँ ।
यही भिडियो क्यासेटको दोकान चलाइरहेकै वेलामा नै एकदिन हामीले एउटा सहयोगी उपन्यास लेख्ने कुरा गऱ्यौँ । कुरा मात्र होइन, काम पनि सुरु गऱ्यौँ । पहिलो अध्याय किशोरले लेखे । त्यसपछि विजय चालिसे, भागीरथी श्रेष्ठ, सनत रेग्मी, सीता पाण्डे, म लगायतले त्यो उपन्यास अघि बढायौँ र अशेष मल्लले त्यसको समापन गरे तर त्यो उपन्यास कहिल्यै छापिएन ।
पछि उनले त्यो व्यवसायबाट पनि बिदा लिए ।
उनले इँटा भट्टा चलाउने काम पनि गरे तर ३ वर्षजतिमा त्यसबाट पनि हात झिके ।
विसं २०३६ सालमा बहुदलको पक्षमा सडक कविता क्रान्तिमा भाग लिएका किशोर प्रजातन्त्रवादी समूहका पक्षधर थिए र हुन् । प्रजातन्त्रको पक्षमा देखाइएका सडक नाटकमा उनको अभिनय यात्रा जारी त थियो नै । विचारमा पनि उनी स्पष्ट थिए । त्यसैले विसं २०४६ सालको आन्दोलनमा पनि प्रत्यक्षपरोक्ष उनको सहभागितामा निरन्तरता थियो ।
विसं २०४६ सालको जनआन्दोलनले पञ्चायत ढल्यो र बहुदलीय व्यवस्थाको सुरुवात भयो । विसं २०४७ सालमा पञ्चायत र राजाको पक्षमा खुलेर लागेका नरेन्द्रराज प्रसाईँ र किशोरलाई संयुक्त रूपमा युवा वर्ष मोती पुरस्कारको घोषणा भयो । यो घोषणाले उनी झस्किए । विपरीत विचारधाराका व्यक्तिसँग कसरी संयुक्त रूपमा पुरस्कार ग्रहण गर्ने ? उनले मोती पुरस्कार अस्वीकार गर्ने निर्णय गरे । यो अस्वीकारले नेपाली साहित्य जगत्मा एउटा तरङ्ग नै ल्यायो । अखबारमा लेखहरू पक्षविपक्षमा लेखिए । प्रजातन्त्रवादी समूहका साथीहरूले किशोरको समर्थनमा वक्तव्य पनि निकाले जसमा विनय रावलको नेतृत्वकारी भूमिका थियो । उता नरेन्द्रराज प्रसाईँले “मेरो मोती पुरस्कार” शीर्षकमा लेख मात्र लेखेनन्, त्यही शीर्षकमा पुस्तक पनि प्रकाशित गरे । यो एउटा चर्चित घटना भयो नेपाली साहित्य जगत्मा ।
यता सर्वनाम औपचारिक रूपमा सुरु भएपछि किशोर नाट्याभिनयमा पनि निकै समर्पित भएर लागे । उनको अभिनय खारिँदै गएको थियो । उनले ‘अन्तराल’, ‘रात’, ‘अबोध’, ‘पराजित’, ‘पलाः ख्वायं’ (नेपाल भाषा) ‘उडान’ (पाकिस्तानी उर्दू भाषा) लगायतका टेलिफिल्ममा पनि अभिनय गरे तर टेलिफिल्ममा भन्दा रङ्गमञ्चको अभिनयमा उनको प्रतिभा खुलेको र दर्शक श्रोताले ज्यादा मन पराएको देखिन्थ्यो ।
सर्वनाममा अभिनय यात्रामा नियमित लागिरहँदा एकपल्ट सर्वनामको टोली चढेको मिनीबस दुर्घटना भयो । सो दुर्घटनामा सख्त घाइते हुनेमा किशोर पहाडी पनि एक थिए । उनको शल्यक्रिया नै गर्नुपरेको थियो । उनी वीर अस्पतालमा भर्ना भएर बस्नुपऱ्यो । म नितमितजसो भेट्न जान्थेँ । अस्पतालबाट घर फर्केपछि पनि उनी घरमा निकै दिन आराम गरेर उपचारसहित बस्नुपऱ्यो । त्यसपछि लामै अन्तराल रङ्गमञ्चमा देखा परेनन् । पछि पुनः देखा परे । बागबजारमा मानव अधिकारको अफिस रहेको घरको माथिल्लो तल्लामा सर्वनामको अफिस थियो र त्यो अफिसको प्रमुखका रूपमा उनले केही वर्ष पूर्णकालीन समय बिताए ।
मूलतः कथा विधामा समर्पित किशोरको लेखन कथामा मात्र सीमित थिएन । उनी कविता थोरै तर उत्तिकै प्रभावकारी लेख्छन् र “सहरमा बत्ती निभेको वेला” कवितासङ्ग्रह प्रकाशित छ । उनको सिर्जनात्मक सोख अनुवाद पनि हो । उनले अनुवाद गरेका कथाहरूको सङ्ग्रह “त्यो तलाको मालिक” प्रकाशित छ । उनले एउटा बालकथासङ्ग्रह साझा प्रकाशनका लागि समेत अनुवाद गरे, “एकैसाथ हाँसौँ” । उनका बालसाहित्यमा पनि केही कृतिहरू प्रकाशित छन् । उनका नियात्राहरू पनि रोचक र सुन्दर छन्, तिनले सँगालिएर किताबको रूप लिन पाएका छैनन् ।
किशोरले २०४५ सालमा प्रकाशित कथासङ्ग्रह “बिसु दाइ” का लागि त्यस वर्षको साझा पुरस्कार पाए । त्यो सङ्ग्रहको सोही शीर्षकको कथा मधुपर्कको कथा विशेषाङ्कमा प्रकाशित भएर अत्यधिक चर्चामा आएको थियो ।
उनले कथालेखन क्षेत्रमा योगदान पुऱ्याएबापत विसं २०६३ सालमा मैनाली कथा पुरस्कार पनि पाए ।
गीतगायन पनि किशोरको सोख हो, त्यसलाई पनि उनले नयाँ प्रविधि स्मुल अँगालेर सामाजिक सञ्जालमा प्रशस्तै गीत गाएका छन् । आफ्नो सोखलाई प्रविधिको माध्यमले उनले पूरा गर्न पाए र निकै प्रशंसकहरू पनि कमाए ।
किशोर र अशेष दुवैसँग उत्तिकै मित्रता भएका साथी सङ्गातीले दुवैलाई सोध्न नसकेको अनुत्तरित प्रश्न छ, विसं २०५९ वैशाख २३ गते सर्वनामबाट राजिनामा दिएर बिदा भएपछि किशोर र अशेषसँगै कहीँकतै देखिएका छैनन्, किन होला ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

