
दाङकी विष्णा विरही हाल संयुक्त राज्य अमेरिकाको शिकागो शहरमा बस्नु हुन्छ । साहित्यमा अति सक्रिय विरहीले लेख्नुभएको उपन्यास ‘गरिमा’ले राम्रो चर्चा पाएको देखिन्छ । साहित्यिक कार्यक्रमहरूमा विरहीको उपस्थिति बाक्लो रहने गरेको छ । प्रस्तुत छ, साहित्यपोस्टका लागि विश्वराज अधिकारीले विष्णा विरहीसँग गर्नुभएको वार्ताः
…
अचेल के गर्दै हुनुहुन्छ ? कुनै अर्को उपन्यास लेख्दै हुनुहुन्छ ?
खास केही गरिरहेको छैन । लेखेर मात्र के गर्नु, प्रकाशन पनि गर्नुपर्यो । त्यत्रो लगानी लगाएर प्रकाशन गरिहाले पनि पढिदिने पाठक खै ? त्यसैले गीत, गजल, कविता र मुक्तक लेख्छु मुड चलेकाबेला ।
तपाईँको हालै प्रकाशित ‘गरिमा’ कस्तो किसिमको उपन्यास हो ?
गरिमा उपन्यास सामाजिक हो तर राजनीति पनि समाजको एक अङ्ग भएकाले कथाको माग अनुसार केही विषयहरू पनि उपन्यासमा प्रयोग भएका छन् । यो उपन्यास पढेर व्यक्तिमा ‘म केही गर्न सक्छु’ भन्न भावान जागृत होस् भनी कामना गरेको छु । हरेक व्यक्तिभित्र अनेक प्रतिभा हुन्छ । व्यक्तिले आफ्नो प्रतिभा आफूभित्र खोज्नु पर्छ, निराश हुनुहुँदैन। यो उपन्यासको मूल उद्देश्य यही रहेको छ।
यस उपन्यासको माध्यमबाट तपाईँले पाठकवर्गमा के सन्देश साझा गर्ने उद्देश्य राख्नुभएको छ?
संसारमा सबै प्राणीको बाँच्ने अधिकार बराबरी हुन्छ । कसैले कसैलाई हेप्ने र दमन गर्ने वा आफू भन्दा कमजोरलाई सताउने गर्न हुँदैन । जो कमजोर छ उसले पनि आफ्नो भाग्यलाई सरापेर बस्ने होइन, बरु लगन र परिश्रमले इमानदारीपूर्वक अगाडि बढ्नुपर्छ । आँट र हिम्मत गरे नहुने केही छैन । मैले यस उपन्यासमार्फत भन्न खोजेको यही हो ।
तपाईँको लेखन-अभिरुचि उपन्यासमा अधिक रहेको हो?
हैन । प्रकाशन गर्ने शुरूवात उपन्यासबाट भए पनि मेरो रुचिको विषय गीत हो । म कविता, गजल र मुक्तकहरू पनि लेख्ने गर्छु ।
उपन्यास लेख्न सजिलो छ वा कठीन छ ?
अरु विधाभन्दा उपन्यास लेख्न कठीन छ । उपन्यास लेख्न निकै समय दिनुपर्छ र लेख्दा लेख्दै विश्राम लियो भने पात्रहरूकै नाम वा घटनाक्रमहरू बिर्सेर फेरि पढ्नुपर्ने हुन्छ ।
‘साहित्य लेखनमा महिलाहरूलाई सक्रिय भएर लाग्न कठीन छ ।’ यो भनाइमा केही सत्यता छ?
यो भनाइ सत्य हो किनकि नारी आमा हुन् । उनले सबैभन्दा पहिले सन्तानको आवश्यकतालाई बुझ्नुपर्छ । सन्तानको लालनपालनमा ध्यान दिनुपर्छ । त्यसैले सक्रिय भएर लाग्न महिलाहरूलाई गाह्रो छ ।
तपाईँले गीत, गजल, मुक्तक आदि पनि लेख्नुभएको छ । तपाईँका धेरै गीतिएल्बमहरू पनि प्रकाशित छन । तपाईँ कस्ता किसिमका गीतहरू लेख्न रुचाउनु हुन्छ ?
हजुर, हो । मेरा गीतका एल्बमहरू पनि छन् । गीत, गजलसंग्रह पनि प्रकाशित भएका छन् । मेरा गीतहरू धेरैजसो विरह, वेदना र नारी भावनामा लेखिएका छन् ।
गीत र कवितामा के अन्तर छ ?
हुन त कविताकै एक अङ्ग हो गीत पनि, तर गीतमा स्रोतालाई कतै रुवाउँने कतै हँसाउने शक्ति हुन्छ भने कविताले सर्लक्कै आफ्नो प्रभाव पोखेर जान्छ ।
‘गीतहरूले स्रोताहरूको पीडा कम गर्ने र हर्ष वृद्धि गर्ने कार्य गर्दछन् । असल गीतहरूले स्रोतालाई आनन्दपूर्वक बाँच्न एक किसमको ऊर्जा प्रदान गर्छन ।’ यो भनाइ तपाईँलाई सही हो जस्तो लाग्छ ?
हजुर । यो भनाइमा म सहमत छु । गीतले जस्तै पीडामा पनि राहत दिने क्षमता राख्दछ । मान्छेले पीडामा विरहका गीत सुन्छन् भने खुशीमा छमछमी नाच्न सकिने रमाइला गीत सुन्न मन पराउँछन् ।
लेखनका लागि चाहिने विचार वा सामाग्री अथवा विषय तपाईँ कसरी प्राप्त गर्नुहुन्छ ?
म धेरैजसो घटनाबाट प्रभावित भएर लेख्छु जस्तो लाग्छ।
साहित्यकारले साहित्य आफ्नो सन्तुष्टिका लागि लेख्ने हो वा समाजका लागि ?
साहित्य केवल आफ्नो सन्तुष्टिका लागि मात्र लेखिँदैन । आफ्नो विचार पाठकसम्म पुगोस् भन्ने चाहनाले नै समय र स्रोत लगाएर कृति प्रकाशित गरिन्छन् ।
साहित्य लेखनमा सामाजिक घटना महत्त्वपूर्ण हुन्छ वा लेखकको विचार ?
लेखकको विचार महत्त्वपूर्ण हुन्छ । सामाजिक घटनालाई हेर्ने नजर कसको हो त्यसमा भर पर्छ । कुनै घटना, पत्रकारले हेर्ने दृष्टिकोण, पुलिसले हेर्ने दृष्टिकोण, र एउटा साहित्यकारले हेर्ने दृष्टिकोण फरक फरक हुन्छ ।
पूर्वीय साहित्य र पश्चिमी साहित्यमा कस्तो किसिमको अन्तर देख्नुहुन्छ ?
साहित्य त आखिर सबै साहित्य नै हुन् तर व्याख्या गर्ने शैली आआफ्नो हुन्छ ।
हाम्रो समाजमा ‘पुस्तक बिक्री’ एक समस्याको रूपमा प्रस्तुत भएको छ । यो समस्या समाधान गर्न के गर्नुपर्छ होला ?
खै के भन्नू ! अब त पुस्तक प्रकाशित हुन नै बन्द होला जस्तो लाग्न थालेको छ । पुस्तक प्रकाशित नहुनु भनेको भविष्यमा हाम्रो भाषा लोप हुनु हो । साहित्य क्षेत्रमा पनि केही विकृतिहरू छन्, त्यो हटाउन पहल गर्नुपर्छ ।
‘हाम्रो समाजमा पाठकभन्दा लेखकको संख्या बढी छ’, यो भनाइ सही हो ?
सायद, हो ।
‘हाम्रा पाठकहरू नयाँ कृतिकारको कृति पढ्नमा रुचि राख्नुभन्दा पहिलेदेखि नै चर्चामा रहेका कृतिकारहरूको कृति पढ्न रुचाउँछन ।’ के यो भनाइ सही हो ?
हजुर, हो ।
हाम्रो सन्दर्भमा, अति नै नवीन वा उपयोगी विषयमा कुनै नयाँ लेखकले कुनै कृति लेखको छ भने त्यस्तो लेखको कृति पढ्नुभन्दा चर्चामा रहेका तर लेखनको हिसाबले सामान्य विषयमा लेखेका लेखकको कृति हाम्रा पाठकहरू पढ्न मन पराउँछन् । यस्तो किन भएको होला ?
खै किन हो, मलाई थाहा भएन।
पछिल्लो समयमा कुन पुस्तक पढ्नुभयो?
रमेश खकुरेल लिखित “अघोरी” पढेको थिएँ । साह्रै राम्रो लाग्यो ।
भविष्यमा नेपाल फर्किने इच्छा राख्नुभएको छ ?
अहिलेसम्म त त्यस्तो विचार आएको छैन । पछि समयले के भन्छ, त्यसै अनुसार गर्नेछु । समय अति बलवान हुन्छ रे !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

