
बेलायती लेखकहरूको संस्था सोसाइटी अफ अथर्सकी अध्यक्ष जोआने ह्यारिसले उनको धारणा विपरीतका लेखकहरूलाई ज्यान मार्नेसम्मको धम्की आउँदा पनि कुनै प्रतिक्रिया नजनाएको भन्दै केही लेखकहरूले उनलाई आक्षेप लगाएका छन् ।
आक्षेप लगाउनेहरूमा जेके रोलिङ र अन्य केही लेखक रहेका छन् ।
चकलेट नामक प्रख्यात उपन्यास लेखेर चर्चा बटुलेकी जोआनेले सोही पुस्तकबाट दर्जनौँ पुरस्कार थापिसकेकी छन् । उनले इतर विचार राख्ने लेखकहरूको अधिकारप्रति मौनता साँधेर लेखकहरूमाथि आक्रमण गर्न सजिलो पारिदिएको भन्दै जेके रोलिङ लगायत अन्य लेखकहरूले असन्तुष्टि पोखेका छन् ।
रचेल रूनी र गिलियन फिलिपले पछिल्लो समय आफ्ना धारणा मुखर गरेको तर त्यसको बदलामा सर्वसाधारणले तिनीहरूमाथि तथानाम गरेको र त्यसमा लेखक संघकी अध्यक्षका हैसियतमा जोआनेले कुनै प्रतिक्रिया जनाएकी थिइनन् । जबकि अन्य बेला लेखकमाथि लगाइने आक्षेप र दुर्वचनमाथि लेखक संघले चर्को विरोध जनाउने गरेको थियो ।
गएको साता ह्यारी पोटर शृंखलाकी लेखिका जेके रोलिङले सलमान रूस्दीमाथि भएको आक्रमणको निन्दा गर्दै ट्विटरमा सानो टिप्पणी लेख्दा उनलाई ज्यान मार्ने धम्की दिइएको थियो ।
सो धम्कीको प्रहरीले अनुसन्धान गरिरहेको छ ।
तर लेखक संघकी अध्यक्ष जोआने ह्यारिसले लेखिका रोलिङलाई लक्षित गर्दै प्रिय लेखकहरू … तपाईंले ज्यान मार्ने धम्की पाइरहनु भएको हो ? (त्यो चाहिँ कत्तिको वास्तविक हो कि हल्ला मच्चाउनका लागि हो ?) भनी पोलिङ (मतदान) शुरू गरेकी थिइन् ।
पछि उनलाई केहीले रोलिङप्रति कत्तिको सहानुभूति छ भनी सोधेका थिए । जसमा उनले रोलिङ मात्र होइन, धम्की पाउने जोसुकै लेखकप्रति आफ्नो सहानुभूति रहेको र त्यस्ता क्रियाकलापको विरोध गर्नुपर्ने बताएकी थिइन् ।
तर द टाइम्ससँग कुरा गर्दै रोलिङले भने आफूले लेखक संघकी अध्यक्ष ह्यारिसबाट कुनै पनि किसिमको सन्देश र सहयोग नपाएको गुनासो गरेकी छन् ।
‘मलाई ट्विटरमा बलात्कार तथा हत्याको धम्की दिइएको छ, ह्यारिस भने ट्विटर पोलिङ (मतदान) मा व्यस्त हुनुहुन्छ,’ रोलिङले भनिन्, ‘यो कस्तो किसिमको सहानुभूति हो ?’
यसअघि सन् २०२० र २०२१ मा जेके रोलिङप्रति भएको धम्कीपूर्ण सन्देशमा लेखिका केट क्वार्मबाईले चासो व्यक्त गर्दै त्यस्ता अतिवादीहरूलाई कार्बाही गर्न सरकारलाई ध्यानाकर्षणसमेत गरेकी थिइन् । त्यो बेला केट लेखक संघको व्यवस्थापन समितिमा थिइन् ।
संघको वक्तव्य आउनेबित्तिकै जेके रोलिङमाथि भइरहेको आक्रमण स्वाट्टै घटेको थियो । एउटा सानो विज्ञप्तिले पनि ठूलो काम गर्ने र लेखकहरूबीच एकता रहेको सन्देश सर्वसाधारणमा जाने हुनाले यस्ता कुराको महत्त्व हुने केटको धारणा छ ।
सन् १८८४ मा द सोसाइटी अफ अथर्स स्थापना भएको थियो । यो लेखक, चित्राङ्कनकर्ता तथा साहित्यिक अनुवादकहरूको संयुक्त संस्था हो । यसका बेलायतभरि ११ हजार ९०० सदस्यहरू छन् ।
जेके रोलिङ भन्छिन्, ‘मलाई ज्यान मार्ने धम्कीप्रति संघको बेवास्ता कुनै छक्क पर्नुपर्ने विषय होइन । संघकी अध्यक्ष ह्यारिसले पहिलेदेखि नै यस्ता कुरामा उति चासो दिएकी थिइनन् । बरू लेखकहरू धेर बोल्नु हुन्न भन्ने धारणा पाल्ने व्यक्ति हुन् ।’
लेखकहरूले आफूलाई चित्त नबुझेको कुरामा स्वतन्त्र ढंगले धारणा राख्न पाउनुपर्नेमा हिजो पनि पक्षधर रहेको र भोलि पनि रहने रोलिङले बताएकी छन् । चाहे त्यो जतिसुकै अप्रिय कुरा किन नहोस्, व्रह्मले देखेको बोल्नुपर्ने रोलिङ बताउँछिन् । यसका लागि कसैले आफूलाई अस्वीकृत गर्ने, भेदभाव गर्ने गरे समयले मूल्याङ्कन गर्ने उनको धारणा छ ।
संसारभर लेखकको मुख थुन्ने, उसका कुरालाई सेन्सर गर्ने, जेल हाल्ने, मार्ने, घृणा फैलाउने तथा ट्रोलिङ गर्नेजस्ता कुराको सशक्त विरोध हुनुपर्ने र लेखक संघजस्तो शक्तिशाली संस्थाले त लेखकका पक्षमा पैरवी गर्नुपर्ने रोलिङको धारणा छ ।
अवार्ड विजेता कवि तथा बाल लेखिका रचेल रूनीले माई बडी इज मी पुस्तक लेखेपछि उनलाई यति धेरै अपमानित गरियो कि उनीविरूद्ध पुस्तक विद्रोह गर्ने अभियानै चलाइयो ।
ट्रान्सजेन्डर ट्रेन्ड नामक प्रकाशकले उनको सो पुस्तक प्रकाशन गरेको थियो । उनलाई ट्रान्सफोबिक भएको आरोप लगाइएको थियो ।
यस्तो बेलामा लेखक संघले कुनै पनि सहयोग नगरेर रचेल रूनीलाई मर्माहत पारेको आरोप रोलिङले लगाएकी छन् । स्वयं रूनीले पनि त्यो बेला आफूलाई चारैतिरबाट प्रहार हुँदा संघको सहयोग रत्तिभर नपाएकामा चित्त दुखाइरहेको बताएकी छन् । खासगरी अनलाइनमा हुने आक्रमण, ट्रोल, घृणास्पद अभिव्यक्तिजस्ता कुरामा संघले सचेत भएर त्यस्ता कार्यको विरूद्ध अभियान नै शुरू गर्नुपर्ने सुझाव रोलिङको छ । यसले स्वतन्त्र रूपमा अभिव्यक्त गर्ने अधिकार खोसिने र लेखकहरू क्रमशः आफैँ शब्दलाई छानीछानी बोल्नुपर्ने अवस्थामा पुग्ने र यसले सबैलाई हानि पुर्याउने धारणा रूनीको छ ।
रोचक त के छ भने रूनीको पुस्तक प्रकाशित भएपछि उनीविरूद्ध खनिएका केही व्यक्तिको लहलहैमा लागेर प्रकाशकले पुस्तक नै बजारबाट निकालेको र उनका कुनै पनि पुस्तक ननिकाल्ने घोषणा गरेको सन्दर्भमा लेखक संघले कुनै प्रतिक्रिया नदिएकामा चित्त दुखाएकी छन् ।
संघकी अध्यक्ष ह्यारिसले भने आफू लेखकलाई आउने जस्तासुकै धम्कीको प्रतिरोध गर्ने बताएकी छन् । आफू इतर लिङ्गीहरूप्रति समर्थक भएकै कारण तीन वर्षसम्म केही लेखकको कोपभाजनमा परेको स्मरण गराउँदै कसैको निजी धारणामा टिप्पणी उठाउँदै विरोध गर्न संघ अघि नसर्ने बताइन् ।
‘मैले जति विरोध त कसले भोग्यो होला ?’ उनले भनिन्, ‘त्यो बेला यी लेखकहरू आफैँ मेरो राजिनामाको माग गरिरहेका थिए । अहिले भने उनीहरू नै संघले बोलेन भनिरहेका छन् ।’
उनले भनिन्, ‘म लेखकमाथि हुने जस्तासुकै आक्रमण, विभेद, ट्रोलविरोधी हुँ । म आफैँ पनि दर्जनौँ पटक त्यस्ता कुराको प्रताडना भोगेकी व्यक्ति हुँ । त्यसैले लेखकहरूको त्यो पीडा बुझ्छु । म उहाँहरूसँगै छु ।’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

