
अध्ययनका सिलसिलामा जब म डायास्पोरिक स्रष्टा निकट हुन्छु अर्थात् शब्दमा ती भावनाहरू पढ्छु अनि त अभिभूत हुन थाल्छु । पराय मुलुकमा बसेर आफ्नो भाषा, साहित्य, संस्कृतिको अथाह चिन्ता गर्ने सर्जकलाई कुन शब्दले सम्मान गरूँ हुन्छ । अहिले पनि मलाई ठीक त्यस्तै भएको छ । संस्मरणात्मक पुस्तक ‘सुदूर विस्मृतिका बिम्बहरू’मा टंक वनेमलाई पढ्दा । पेशाले ब्रिटिश सेनाका मान्छे । हात हतियार खेलाउने मान्छे । युद्ध गर्न तत्पर भइरहने मान्छे, शत्रुलाई हमेशा निसाना लगाउने मान्छे । बाह्य आवरणमा कति कठोर छ पेशागत व्यक्तित्व । आन्तरिकतामा उनी फेरि अर्कै छन् । हृदयको भाषा बोध गर्ने कोमल छन्, हार्दिक छन्, सहृदयी छन्, भावात्मक छन् । त्यसैले उनी कवि भएका छन् ।
मातृभूमि र लक्ष्य भूमिको सङ्घारमा द्वैध मनस्थिति लिएर बाँचेका स्रष्टा । द्वैध संस्कृतिले निर्मित स्रष्टा । द्वैधतामा पहिचान कायम गर्न सङ्घर्षरत स्रष्टा । त्यस्ता स्रष्टाका ‘सदूर विस्मृतिका बिम्बहरू’ एक डायास्पोरिक कृति । जसमा बिर्सेर बिर्सिन नसकेका स्मृतिहरू सङ्गृहीत छन् । यसले आफू हुर्किएको भूमिमा चित्रित मनको छायाङ्कन गरेको छ । त्यस्तै यसमा भाषा प्रेम, संस्कृति प्रेम, देश प्रेम, जाति प्रेम घनीभूत छ । साहित्यिक मन त्यसैको चिन्तामा छ । हेर्नु त त्यो चिन्ता कति ठूलो छ । पुस्तकको प्रस्तावनामै लेखक मन यसरी बोल्छ ‘मृत्यु जीवनको त्यति ठूलो क्षति होइन । क्षति त त्यस बेला हुन्छ जब कि जन्मभूमिलाई बिर्सिएर आफैँभित्र ज्यूँदै मरिरहेको हुन्छौँ ।’
यसरी स्रष्टा वनेमलाई मृत्यु बरु अकिञ्चन लाग्छ ।
आफू हुनुको अर्थ भनौँ या ‘म जीवित छु’ भनेर बोध गराउने हरेक मानव जातिको आआफ्नै भाषा संस्कृति छ । त्यस बेगर ऊ एउटा जीवित प्राणी मात्र हुनेछ अरू केही रहने छैन । जीवनको लक्ष्य प्राणवान् हुनु मात्र होइन ।
लेखकले यही बुझाइ छ । उनले समृद्ध राष्ट्रको भौतिक सुखसुविधा भोग गरे तापनि—आत्मा निर्घात रोइरहेको उनको अनुभूतिबाट स्पष्ट हुन्छ । डायास्पोरिक मन कति अशान्त हुनेरहेछ । लिम्बुवानी परिवेशमा हुर्किएका वनेम । उनको साहित्यमा लिम्बू संस्कृति र मुन्धुमको गहिरो प्रभाव परेको छ । ‘जति नै ठूलो अझ बूढाबूढी भए पनि बाल्यकालको सम्झना बूढाबूढी नहुँदो रहेछ ।’ उनको यस अभिव्यक्तिले—मलाई अबोध कुरा अचानक ज्ञात भएको महसूस भयो । कति मार्मिक छ उनको भनाइ ।
हो त है ! यसै निमेष मैले बालक समय स्मरण लागेँ । म एकदमै सानो भएँ । तथापि अहिले म सानो भने छैन ।
आधा शताब्दी समय बाँचिसकेका लेखक स्मृतिमा पुनः बालक भएका छन् । किशोर र वयस्क भएका छन् । बेला बेला अभिव्यक्त विचारमा लाग्यो लेखक बडो दार्शनिक छन्—जीवन भोगाइले उनलाई दार्शनिक बनाएको छ ।
मातृभूमिलाई मनमा हुर्काएर परदेशी जीवन व्यतीत गरेका वनेम । परिस्थितिले थाहै नपाई उनलाई एउटा बोधको चरणमा पुर्याएको छ, “जन्मभूमि छोडेर बसाइँ जानु भनेको ओढारभित्र स्थापित देवीथानलाई एउटा सुन्दर मन्दिर बनाएर त्यहाँ भएको देवत्व सार्न नसकिए जस्तै हुँदो रहेछ (पृ–२०) ।”
पूर्वी पहाडी जिल्ला—ताप्लेजुङको लिम्बू समुदायका लेखक । उनको ‘सुदूर विस्मृतिका बिम्बहरू’ एक विशाल ग्रन्थ । जसका ४३२ पृष्ठ मध्ये आधा भाग अझ बढी स्मृतिमा ताप्लेजुङका सन्दर्भहरू रहेका छन् । त्यहीँको प्राकृतिक दृश्य र जनजीवन अभिव्यक्त छन् । त्यस उताका स्मृतिमा चाहिँ प्रायः लाहुरे जीवनका अनुभव रहेका छन् । हङकङ, बेलायत, ब्रुनाईलगायतका ठाउँमा रहेर गरिएका स्वदेश विदेशका केही सम्झनाहरू समाविष्ट छन् ।
कथा, कविता, संस्मरणसँगै अनुसन्धानमूलक लेखनमा पनि उतिकै सक्रिय स्रष्टा टंक वनेम । मुन्धुम, इतिहास तथा खोज अनुसन्धानमा पनि उनको तत्परता देखिन्छ । यस अघि नै उनका अन्य प्रकाशित कृतिहरूमा— ‘साँघुरी र बूढासुब्बा (२०६२), ‘पेन्जिरी पेन्मिक्हाः भूल गर्ने जोडी आँखा’ (२०६३), ‘सङ्गिनको मूर्च्छना’ (२०६९) जस्ता कविता सङ्ग्रह, ‘सिन्धोलुङ फागो वनेम वंशावली इतिहास र मुन्धुम’ (२०७०) खोज अनुसन्धान तथा सङ्कलन कृति र ‘श्लेष्मान्तकको साम्माङ (२०७१) कथासङ्ग्रह रहेका छन् ।
जीवन हिँडेर पर पुगेपछि फर्किएर हेरिएका पाइतलाका बोडहरू—कति गाडा छन् कति धमिलिन खोज्दैछन् स्मृतिमा । उन्नचालीस वटा आलेख सङ्कलित ‘सुदूर विस्मृतिका बिम्बहरू’मा केही सन्दर्भहरू मलाई आफ्नै लाग्छन् । लाग्छ लेखकका बाल अतीत अरू धेरैलाई आफ्नै लाग्ने छन् । आकाशबेलीको पहेँलो लहरा चस्मा बनाइ लगाएको प्रसङ्गले—मलाई आफ्नै अतीत सम्झायो । आश्चर्यमा पर्छु भिन्न ठाउँ, संस्कृति र समय भए पनि बाल सुलभता उस्तै हुँदा रहेछन् । अनि आश्चर्यमा पर्छु सानु बेला चस्माप्रतिको इच्छा कति तीव्र रहेछ । अहिले म बाध्यताले चस्मा लगाउँछु कति जटिल लाग्छ । त्यतिखेर रहले कति लगाइयो लहराको चस्मा ।
लेखक जहाँ रहे पनि उनको मनमा तिनै गाउँ बेसी, उकाली, ओराली, पाखा पखेराहरू सुसाएका छन् । पहाड पर्वतका तिनै घाम छायाहरू लुकामारी गरेका छन् । अनि तिनै नदीनाला, खोला, छहराहरू कुलकुलाएका छन् । पंक्षीहरू चिरबिराएका छन् । हुरी बतासले सुसेलेका छन् । हरेक कुरा प्रीतिकर छन् । यहाँ केही कुरा मलाई आफ्नै अनुभूतिको आभास भएको छ । वनेमले जस्तै अङ्गेरी खाएर—मेरो पनि मुख निलो भएको थियो त्यस समय । गोठालो गर्दा ऐँसेलु खाएको, पानी अमला, तिँदु, पँदेल यस्तै अनेक कन्दमुल खाएको अझ पनि सम्झना उस्तै छ । पुस्तकमा मैले पुनः स्वर्गीय आनन्द अनुभूति गरेँ ।
कति सुन्दर छन्, कति रमणीय छन्, कति आनन्ददायक छन् ती बालापन । सानै उमेरदेखि वनेम पुस्तक प्रेमी छन् । गोठालामा पुस्तक पढ्ने उनको आदत छ । उनले नवीन अनुभूति गर्न थालेका छन् । हृदयमा मायाप्रीतिका संवेगात्मक अनुभूति—आविर्भाव हुन थालेको छ । मन बैँसालु हुँदै जान्छ प्रकाश कोविदका रोमान्टिक कृतिहरूले । वसन्तका कोइलीहरू, भर्खर पाउलिएका मञ्जरीहरू जसले उनको मनमा प्रेम चाहना बढाइदिन्छन्— उद्दीपक वातावरण सिर्जना गरेर ।
प्राचीनतादेखि चल्दै आएको जीवन पद्धति अब विखण्डित हुँदै गएको छ । नौलो भएको छ । तथापि स्रष्टा मनमा त्यही प्राचीन लय अनुगुञ्जित छ । उनी आफ्नो धारणा कामुसँग मिलेको पाउँछन् । कामुको भनाइमा आफ्नै अभिव्यक्ति सुन्छन्, “म मार्क्सवादी हुन सकिनँ किनभने मैले आफ्नो जाति, भाषा, धर्म, संस्कार, संस्कृति र समुदायलाई माया मार्न सकिनँ । मार्क्सवादले त त्यसलाई त्याग भन्छ मैले त्याग्न सकिनँ (पृ–३४) ।”
त्यसरी आफ्नो विगत भुल्ने हो भने— स्मृतिबाट टाढिने हो भने उसको बाँकी केही रहने छैन । ऊ जरा उखेलिएको वृक्ष हुनेछ । यस कुराले लेखक निश्चिन्त छन् । जेहोस् उनको जरा उखेलिएको छैन । मानिसको अस्तित्व भन्नु त्यही जरा त हो नि । उनको अतीत स्मृति कति समृद्ध रहेछ । मेरो अतीत उनको जस्तो समृद्ध नभएको मैले थापा पाएँ । छिचिमिरा भुटेर खाएको अनुभव मसँगै छैन । माछा मार्न गएको, गुलेली भिरेर वन पसेको, च्याउ खोज्न गएको, घोडा चढेको यस्ता कैंयन् अनुभूति मैले गर्न पाइनँ । मलाई उनका ती बालापनका गतिविधिमा ईर्ष्या लाग्यो । सम्झिन लायक मेरा त्यस्ता धेरै स्मृतिहरू छैनन् । उनी वनभोज गएका छन्, म पनि गएको थिएँ नवभोज त । कति रमाइला थिए वनभोज जाँदाका क्षणहरू । स्रष्टा वनेमलाई पढ्दै गर्दा सोच्छु आजका नानीहरूले— भोलि गएर अतीतलाई कसरी सम्बोधन गर्लान् ? कस्तो कुराले विगत सम्झउला ? फेसबुक, इन्स्टा, मोबाइल गेमले कसरी अतीत समृद्ध हुन सक्छ ?
ग्रामीण जीवनमा हुर्किएको आफूलाई लेखकले भाग्यमानी भएको अनुभव गरेका छन् । ती ग्रामीण भोगाइहरू नै बाँकी जीवनको लागि बाँच्ने मन्त्र भएको उनी बताउँछन् । आफ्नो अनुपस्थितिमा गाउँ उदास भई, शून्य बोध गर्दै होला उनलाई लाग्छ ।
वयस्क उमेर आरम्भ भए लगत्तै— अठार वर्षको उमेरदेखि लेखकको लाहुरे जीवन शुरु हुन्छ । अस्ट्रेलिया, क्यानाडा, मेक्सिको लगायत युरोपका अनेक नगरी उनलाई त्यहीँ नजिकको ठाउँ लाग्छ । पराय मुलुकमा भोगिएको उत्तरआधुनिक सम्पन्नता र सुविधाले उनमा त्यस्तो गहिरो छाप पार्न सक्दैन । विपन्नता नै सही आफू हुर्किएको प्राकृतिक जीवनप्रति उनी ज्यादा सम्मोहित हुन्छन् । अभाव, गरीबी, अशिक्षा, बेरोजगारी, विकृत राजनीति, पश्चगामी राज्यव्यवस्था, भ्रष्टाचार र कालाबजारी अनेक व्यवधानले देश संकटमा— झन् संकट पर्दै गएको चिन्ताले उनलाई छोप्छ ।
म विश्वस्त छु, टंक वनेम सर्जक मात्र होइनन् । उनी गम्भीर अध्ययेता रहेछन् । पुस्तकमा उनको अध्ययनको दायरा ठूलो छ भन्ने थाहा हुन्छ । जडीबुटीको क्षेत्रमा पनि उनलाई केही ज्ञान रहेछ । विविध भाषा–भाषी, संस्कार–संस्कृतिले समृद्ध नेपाली जनजीवन अहिले विखण्डित हुँदैछ । विविधता लोप हुँदैछ । लोक संस्कृति मासिँदैछ । असारे, भोटेसेलो, हाक्पारे, पालाम, सोरठीका धुनहरू मधुरिँदैछन् उनी चिन्तित छन् यस विषयमा पनि ।
त्यो बालमनमा अनौठा अनौठा कौतुहलहरू छन् । असिना तर्काउने, हुरीबतास फिसल्ने वन झाँक्री कस्ता होलान् ? पुस्तकका धामीबारे म उत्सुक हुन्छु । सानु उमेरका ती घटनाहरू बडो रोमाञ्चकारी छन् । विश्वास र आस्थाले निर्देशित गाउँले जीवन कति निष्कपट छ ।
विश्वास र आस्थाका कुराहरू जहाँको जीवनमा पनि उस्तै हुँदा रहेछन् । वन झाँक्री, सुन झाँक्रीका कुरा मैले पनि सुन्दै आएको छु । ती बडो शक्तिशाली हुन्छन् रे ! यस कुरामा गाउँहरू निःसन्देह छन् ।
वास्तवमा स्रष्टाको जीवन स्मृति भन्नु नै त्यस बेलाको समय र समाजको सामूहिक आवाज हो । कृतिमा विविध विषय सन्दर्भहरू रहेका छन् । समाज भलाइको लक्ष्य र देशमा न्यायोचित राज्यव्यवस्था कायम गर्न तथा दुखीदाखीको हितमा—प्रगतिको कामनामा क्रान्तिकारी भएका अम्बिका साँबाका विषय प्रसङ्ग पनि समाविष्ट छन् । लिम्बुवानमा पसेको त्यस समयको अग्रगामी चेतनामा—उता दार्जीलिङको प्रभाव परेको हुनुपर्छ निश्चय ।
संवेदनशील स्वभावका वनेम । उनको कृतिमा हार्दिकता सबल छ । बहुती बज्यैको स्मृति गरिएको आलेख कस्तो मन छुने, हृदय विदारक छ । त्यसमा एउटा तिक्त इतिहास छ । सर्जकलाई लागेको थियो ती बज्यै तर्साउने मान्छे त्यस्तै केही भूतप्रेतको क्षणिक स्वरूप होलिन् । भरे अवगत हुन्छ उनी त बडो दयालु जाती मान्छे रहिछिन् । पहिलो दोस्रो विश्व युद्धमा बहुती बज्यैको जस्तो जीवन कतिले भोगे होलान् ? त्यसको तथ्य इतिहासले राखेको छैन, “उतिनखेरको कथा अनुसार पल्टनेहरूको विधवा स्वास्नीहरूको पीडाले नेपालको सारा गाउँघरमा विरहको डढेलो सल्काएको थियो ।”
म त्यस परिस्थितिको कल्पना गर्न लाग्छु । छ्या ! कति विरक्त लाग्दो, शोकाकुल छ सम्पूर्ण गाउँटोल । निस्सासिएर तत्कालै म कल्पनाबाट बाहिरिन्छु । परन्तु पुस्तकको अक्षरले भने लेखेटिरह्यो, “अभावको जुइनो जोड्न हिँडेका मिर्लुङ घलेछाप गाउँका शेरबहादुरको सपना इटालीको मोन्टे क्यासिनोमा ढल्यो (पृ–८७) ।”
वनेमका लेखन विषय कति सरल र प्राकृतिक छन् । त्यस्तै सरल तर परिष्कृत छ भाषा शिल्प । पुस्तक पढ्दा पाँच दशकअघिको जीवन र समय उनी अहिले भोग्दैछन् जस्तो हुन्छ । पुनः ताप्लेजुङको सेरोफेरो उनले ब्यूँझाएका छन् । पाठकलाई पनि आफू त्यही समयमा छु आभास हुन्छ । यहाँ कति आलेखहरू व्यक्तिका सम्झनामा छन् । मित्र, गोत्र, बन्धुबान्धवका सम्झनामा छन् । कति भूतप्रेतका, राँके भूतका विषय छन् । शिकार खेलेका कुरा छन् । पशुपंक्षीका सन्दर्भ छन् । चाडपर्व तथा मेला बजारका प्रसङ्गहरू छन् । देवीदेवताप्रतिको आस्था, बिरामी पर्दा तिनको प्रार्थना र औषधी उपचारका अनेक तरिकाहरू छन् । पर्यावरणीय चेत र संरक्षणका कुरा छन् । ‘प्रकृतितर्फ फर्क’ भन्ने देवकोटा र रुसोका विचारमा लेखक सहमत छन् । घर गाउँका निष्कपट प्यार प्रीतिका कुरा अनि मिथक जस्तो लाग्ने बाल स्मृतिका अनेक घटना–उपघटनाहरू छन् ।
बेलायती भूमिमा रहेर गरिएका ती स्मृतिका यथार्थहरू अब खण्डहर भइसकेका छन् । हरियाली वन फडानी भएको छ, पौडी खेल्ने खोलाहरू सुकेका छन्, गाउँ बस्तीहरू रित्तिएका छन् । कति पशुपंक्षीहरू दुर्लभ भइसकेका छन्, कति हुँदैछन् । जडीबुटीहरू मासिँदैछन् । यस्ता समाचारले उद्विग्न लेखक मन अतीतको त्यही वास्तविकता खोजिरहन्छ ।
प्रकृतिपुजक, प्रकृतिको निकटतामा जीवनको रहस्य खोज्ने साहित्यकार । जीवनको ज्यादै समय विदेशमा व्यतीत भए पनि उनको मन किञ्चित पराई भएको छैन । आनन्दमा रमाउने त्यो मन स्वदेशमै छुटेको छ उनी भन्छन्, ‘मानिस भएर जन्मिएपछि स्वर्गको अनुभव गर्ने दिनहरू तिनै शैशवकाल रहेछन् ।’
पुर्खाको प्रकृति प्रेमलाई हामीले अझ पनि बुझ्न सकेका छैनौँ । प्रकृतिको पूजा गर्नुमा हामीले रुढिवाद देख्यौँ । त्यतिखेर कति दूरगामी चेत थियो । जीवन सार्थक बनाउन प्रकृति या भनौँ शक्तिको उपासना गरिन्थ्यो । सर्जक वनेमले ‘सुदूर विस्मृतिका बिम्बहरू’मा प्रकारान्तरले त्यही प्रकृतिको उपासना गरेका छन् ।
सम्पूर्ण प्राणी जगत्लाई जीवन निर्वाहको शिक्षा प्रकृति स्वयंले दिएको छ । स्वयं प्रकृति दीक्षित छ । हरेक प्राणीलाई दीक्षित गरेको छ । कुखुराको एउटा बैँसालु भालेलाई ‘तँ बास्ने बेला भयो’ भनेर कसैले सिकाउनु पर्दैन । ऊ आफैँ जान्दछ । एउटा हुर्किंदो बिरालाको छाउरोलाई मुसा मार्न कसैले अह्राउनु पर्दैन । ऊ आफैँ त्यो काम गर्दछ ।
प्रकृति छ र त प्राणी जगत् अस्तित्वमा छ । यही प्राकृतिक शक्तिमा मुनि तपस्वीहरूले ईश्वरीय रूप देखे । लेखक भन्छन्, – “म हरारीका विचारमा ती मुनि महर्षिलाई देख्छु । मानिसले ईश्वरको आविष्कार गरेपछि इतिहास शुरु भयो, मानिस नै ईश्वर भएपछि इतिहासको अन्त्य हुनेछ “पृ–१७६) ।”
देश दुरावस्थामा छ । नागरिकहरू निरीह स्थितिमा छन् । शोषण छ अन्याय र कुरीति छ । मुलुक रित्तिँदैछ, गाउँ रित्तिसकेको छ । युवा शक्ति पलायन भइरहेको छ । सरकारलाई त्यसमा किञ्चित चासो छैन । यस्तो अवस्थामा देश प्रेमले वशीभूत लेखक मन—स्वदेश फर्किन आदेश गर्छ—मातृभूमिको सेवा गर्न ।
भय, त्रास, रोमाञ्चकता, खुशी र प्रसन्नता मिश्रित वनेमको अतीतमा— म कहीँ पनि सानो बेलाको उद्दण्डता पाउँदिनँ । बालक उमेरदेखि नै उनी व्यवहारिक छन् । ठूली दिदीको प्रेमीलाई आफूले पत्र लेखिदिनु परेको विगत उनी फेरि सम्झिन्छन् । चिठ्ठी लेख्न असक्षम दिदीले पत्र लेख्न अह्राएको अनुरोध उनलाई अहिल्यै जस्तो लाग्छ ।
मनका स्मृति प्रकाशित गर्न लेखकले कसरी समय पर्खिएर बसेका थिए । त्यसैले ओरहान पामुकको अभिव्यक्ति उनलाई आफ्नै लाग्छ, “लेखक हुनु भनेको आफूभित्र बोकेर हिँडिरहेको गोप्य घाउहरूलाई ठम्याउनु हो । ती घाउहरूलाई धैर्यपूर्वक अन्वेषण गर्नु, चिन्नु र उजिल्याउनु हो । उजिल्याई सकेपछि तिनका दुःखाइहरूको स्वामित्व ग्रहण गर्नु हो अवथा ती घाउहरूको आत्मा र लेखनको सचेत अङ्ग बनाउनु हो (प–२२१) ।”
पुस्तकमा आइरहने ताप्लेजुङका कति ठाउँहरू म आफैँ पुगेको हुनाले परिचित अनुभव गर्दैछु । राँके बजारको फौदारी शीर्षकमा पनि मलाई त्यस्तै भएको छ । झण्डै एक साल पूर्ण भएछ हाम्रो साहित्यिक टोली— डा. गोविन्दराज भट्टराई, कमल भट्टराई, निर्मला भट्टराई, खगेन्द्र भट्टराई, व्यञ्जना शर्मा, बसन्ती पौडेल (मणिपुर), शशी दिदी, जय दाइ, संयम श्रेष्ठ अनि म यात्रामा थियौँ । झापा, इलाम, पाँचथर हुँदै ताप्लेजुङ पुगेका थियौं । हामीले माथि सुकेटारबाट पाथीभरा देवीलाई दर्शन गर्यौँ टाढैबाट । फर्किएर फुङ्लिङ बजारको पाथीभरा लजमा बास लियौँ । फिर्तीको दिन राँके बजारमा यात्रा बिसाएर चिया खाजा खाएका थियौँ । मौसम हिउँ पार्ने तयारीमा थियो ।
प्रेमप्रीतिका सम्बन्धमा लिम्बू समाज, मङ्गोल समाज कति उदार छ । स्रष्टा वनेमका विचारहरू पनि उस्तै उदार छन् । समाजको विसङ्गत स्थितिप्रति उनको चासो छ । जातीय विभेद, महिला हिंसा एकदमै अप्राकृतिक कुरा हुन् । प्रकृतिले किमार्थ विभाजन चाहँदैन । मानवीय संवेदना कदापि विभाजित हुँदैन । वनेमले यहाँ मानव सभ्यतालाई नै लज्जित गर्ने अनेक घटना दृष्टान्त दिएका छन्, अब त्यसो नहोस् भनेर । उनको विभेद मुक्तिको अपिल छ । त्यस्तै हाम्रा धर्म, संस्कृति, परम्परामा अन्तर्निहित मानवीय भावना बोध गर्न उनको अनुरोध छ । विज्ञान प्रविधिमा अभ्यस्त हामी आधुनिक हुँदै उत्तरआधुनिक युगमा छौँ तथापि हाम्रो चेतना भने अशिष्ट, अपरिष्कृत तथा अमानवीय हुँदैछ । जडताले, क्रूरताले हामीलाई प्राचीनतातिर ठेल्दैछ । पुस्तकमा यस्तै केही तिक्तताहरू छन् ।
सर्जक वनेमका स्मृतिमा प्रायः साधारण जीविका भएका चरित्रहरू रहेका छन् । तिनीहरूले त्यही समय र समाजलाई प्रतिविम्बित गरेका छन् । धेरै धेरै पात्रहरू उनका अक्षरमा टाँसिएका छन् । केही पात्र भने विशेष छन् । पाण्डोरा डायरीको अदैत्य अनुहार आलेखमा ईश्वर बरालका सम्झनाहरू प्रस्तुत गरिएका छन् ।
दुइटा फूल देउरालीमा साथै राख्यौँ जस्तो लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिँड्यौँ जस्तो लाग्छ ।
बाल्यकालको सङ्घारमा सुनेको यही गीतले आज उनको मनमा ईश्वर बराल र नारायण गोपाल ब्यूँझिएका छन् । प्रस्तावनामा महान् पुरुषको स्मृति गरी लेखिएको आलेखपछि कथात्मक ढाँचामा बदलिन्छ । युवा मनको ऊहापोह, माया प्रेम र सम्बन्धमा लेखको अन्त्य हुन्छ । पाब्लो नेरुदाको कविता पैँचो लिएर अन्त्य हुन्छ—
अब उनको माया बन्धनमा छुइनँ पो पक्का भयो
तर सायद अब अझै मन पराउँछु कि उनलाई ?
बालककाल, किशोरकालका स्मृतिहरू—स्वीताउको पाखोमा युद्धको पहिलो पाइला शीर्षकसँगै आखिरी हुन्छन् । आखिरी त होइन नै । बेला बेला वयस्क स्मृतिमा ती समाविष्ट हुन्छन् । लाहुरे जीवन शुरु भएको छ अबका आलेखमा । बेलायती सैन्य तालिमसँगै उनको—जीवनको सङ्घर्षपूर्ण यात्रा प्रारम्भ हुन्छ । हङकङको स्वीताउमा जीवनको नवीन परेड शुरु हुन्छ । ‘जीवन मर्नलाई जन्मेको हो तर किन मर्नुअघि मान्छेले मार्ने कला सिकेर बाँच्नुको भोजन जुटाउनु परेको होला ?’ यस अभिव्यक्तिले मलाई यसरी छुन्छ कि लेखक साँच्ची नै दार्शनिक हुन् लाग्छन् ।
तीन वर्षको लाहुरे जीवनमा हङकङ हुँदै लन्डन, पेरिस, बोन, रोम र ब्रसेल्स जस्ता पश्चिमी देशका समृद्ध नगरी पुगेर लेखक घर फर्किन्छन् । त्यतिखेर उनलाई घरको परिपाटी, रहनसहन एकदमै नमिलेको अस्वाभाविक लाग्छ । प्राचीन युगको जीवन पद्धति लाग्छ । सम्भ्रान्त मुलुकको जीवन शैलीमा अभ्यस्त भएपछि उनलाई घरका पाल्तु पशुपंक्षी झिँजो लाग्न थाल्छ । सुङ्गुरको खोर, कुखुराको खोर मन पर्दैन । माहुरीको घार कर्सा पछाडि सारिदिन्छन् ।
गाउँघरमा समाजसेवीको रूपमा परिचित परिवार । पिताजीको साहसिक व्यक्तित्व, समाजसेवी र न्याय प्रेमी भावनामा सर्जक सानैदेखि प्रभावित थिए । सम्झनामा आइरहन्छन् पिताजी । उनलाई यो कुरा थाहा छ कि जीवनमा आर्जन गरिएको विशेष सम्पत्ति भनेकै स्मृतिहरू हुन् । ‘सिपाहीको अधुरो सपना’ उपन्यास लेखेर बीचैमा छोडेको, त्यसलाई धमिराले खाएको प्रसङ्ग मलाई नमज्जा लागेको छ । सिर्जनालाई बीचमा त्यसरी छोड्न नहुने थियो । मेरो अपेक्षा छ उनले त्यसलाई पूर्णता दिऊन् । एउटा नेपाली युवाले परदेशको लाहुर जीवनमा—भोगेका भोगाइलाई साहित्यिक अभिव्यक्ति दिँदा कति राम्रो हुने थियो । त्यसले नेपाली वाङ्मयमा विविधता ल्याउने थियो ।
‘सुदूर विस्मृतिका बिम्बहरू’मा म केही समालोचकी चेत पाउँछु । लेखकमा विश्लेषणीय क्षमता राम्रो छ । निलो आकाशको सर्वाङ्ग र महाभारको युद्धकथा रचनामा त्यो कुरा अवगत हुन्छ । यस समालोचनात्मक लेखोटमा विदित हुन्छ— उनमा पूर्वका पौराणिक आख्यान विशेष गहिरो ज्ञान रहेछ । महाभारतको घटनामा केन्द्रित भई उनले बौद्धिक विश्वलेषण गरेका छन् । विनिर्माणिक चेतले स्थापित सत्यमाथि अनेक प्रश्न उब्जाएका छन् ।
बाह्य आवरणमा जस्तो दृश्य बन्छ, जस्तो देखिन्छ— वास्तवमा त्यो सत्यको निकट हुन्छ भन्ने छैन । नदेखिएको दृश्य, अमूर्त, अदृश्य कुरा अझ बढी सत्य हुन सक्छ । युद्धको कला सिकाउने मूलवीर राईको कविता प्रेम मलाई त्यस्तै लाग्यो । नित्य युद्धका लागि तत्पर मन लाग्छ कति कठोर होला । तर कठोर छैन त्यो मन । कवि हृदय क्रूर हुन सक्दैन । युद्ध गर्न सिकाउने गुरुजीको कविता मोहले मानिस मनको आन्तरिक वास्तविकतालाई देखाएको छ ।
स्रष्टा वनेमको स्मृतिमा देशको अस्थिर राजनीति र विकटताले उतिकै प्रभाव पारेको छ । २०४६ सालको निर्दलीय र बहुदलीय व्यवस्थाको राजनीतिक महासङ्ग्रामदेखिका राजनैतिक गतिविधिहरू मेटाएर पनि सम्झनामा मेटिने छैनन् । ती कुरा लेखक मनमा सुरक्षित रहेका छन् ।
ब्रिटिस गोर्खाज सैनिकबाट सेवानिवृत्त भएपछि जागिरको सिलसिलामा संस्मरणकार बु्रनाई पुग्छन् । संसारमा पाइने विभिन्न प्रजातिका गुराँस फुल्ने भर्जिनिया पार्क । त्यहीँ बसेर साहित्य गर्ने आदत छ उनको । अठ्ठाइस प्रजातिका गुराँस फुल्ने तीनजुरे र मिल्केडाँडा उनी त्यहीँबाट सम्झिन्छन् । अनि त्यो स्मृतिको दृश्यलाई भर्जिनिया पार्कमा समाहित गर्छन् र अतीतका धाननाच र पालमको नृत्यमा रोमाञ्चित हुन्छन् ।
पुस्तौँदेखि निरन्तर कायम रहेको प्राचीन सभ्यता अचानक क्षीण भएका छन् । प्रविधिले त्यसलाई उच्छेदन गरेको छ । दुई पुस्ताबीचको दरार अकल्पनीय छ । बाबु र छोरा पुस्ताको जीवन पद्धति बेग्लै भएको छ । संस्कार र संस्कृति विच्छिन्न भएको छ । अघिल्लो पुस्ताको मान्यता र पराम्परा पुस्तान्तरण हुन नसक्नु कस्तो डर लाग्दो कुरा छ । उत्तरआधुनिकताले प्राचीनतालाई ध्वस्त पारेको छ । लेखकलाई चिन्ता छ भोलिको पुस्ता कुन गतिले अगाडि बढ्ला ? कुन हदको यान्त्रिकतामा बाँच्ला ? प्रकृति विमुख हुँदै गएपछि सम्भावित भविष्यले कस्तो रूप लेला ? आफ्नो जातीय परम्परा र संस्कृतिबाट उच्छेदित डायास्पोरिक पुस्ता भोलि कस्तो होला ? वनेमलाई तीव्र चिन्ता छ ।
डायास्पोरिकलाई जीवन निर्वाहको, जीवन समृद्धिको भन्दा बढी भार छ—जातीय अस्तित्व र स्वअस्तित्वको भार । त्यसो हुँदा स्वदेशमा बस्नेहरूलाई भन्दा बढ्ता—भाषा साहित्य संस्कृतिको चिन्ता उनीहरूलाई छ । कला साहित्यप्रति उनीहरूको अनुराग र क्रियाशीलता कति घनीभूत छ । त्यसैमा उनीहरूको पहिचान निर्भर रहेको छ । डायास्पोरिक स्रष्टा र तिनको कृति अध्ययनमा यो कुरा थाहा हुन्छ । प्रतिभा प्रतिष्ठानको कार्यक्रम र अस्वीकृत साहित्यमा पनि यही कुरा छ ।
ठाउँ विशेषका अनुभूतिहरू निश्चय नै फरक हुन्छन् । व्यक्ति विशेषका अनुभूति झनै फरक हुन्छन् । पल्टने जीवन र पल्टने घरका अनुभूति कति नौला छन्, कति सुखद—कति दु:खद पनि छन् । अङ्ग्रेजहरूले गोर्खाली पल्टनमा—गोर्खालीहरूलाई हिन्दू मन्दिर निर्माण गर्न लगाउनुको अभिप्राय के होला ? हुन सक्छ आस्था र विश्वासले उनीहरूलाई सत् मार्गमा लगाउन या भनौँ नैतिकवान् बनाउन, कर्तव्यप्रति जिम्मेवार बनाउन त्यसो गरिएको हुनुपर्छ । धर्ममा आस्थावान् भई पाप कर्मप्रति सचेत गराउन पनि त्यसो गरिएको हुनसक्छ । गोर्खा पल्टनमा अहिले त्यसरी मन्दिर बनाउन अङ्ग्रेजले निर्देश गर्छ गर्दैन होला ? धार्मिक स्वतन्त्रतालाई कतिको कदर गर्छ होला ?
पश्चिमाको अभियान छ गरीब निमुखा—राष्ट्रमाथि आफ्नो प्रभुता कायम गर्ने । अनेक ढङ्गले जस्तो भाषा, धर्म, संस्कृति, व्यापारका माध्यबाट । हाम्रा गाउँ बस्तीमा पश्चिमाको प्रभाव तीव्र गतिमा बृद्धि भइरहेको छ । विशेषतः धर्मका माध्यबाट । उनीहरूलाई थाहा छ नेपाल जस्तो अशिक्षित, पिछडिएको, गरीबीले जर्जर मुलुकमा—आफ्नो वर्चश्व कायम गर्न सहजै सकिन्छ भन्ने कुरा ।
सोझै अर्थमा बुझ्ने हो भने पनि पिछडा गाउँ बस्तीका मानिसहरूलाई धर्म परिवर्तन गर्नुको जरुरत नै के छ र ? तर परिवर्तन गरिरहेका छन् । उनीहरूलाई ‘तिमीहरू किन क्रिश्चियन भयौ ?’ प्रश्न गर्ने हो भने यस्तो उत्तर आउँछ ‘यो धर्म मानेपछि बिरामी परिँदैन । बोक्सी भूत प्रेत लाग्दैन । प्रभूले सब रक्षा गर्नु हुनेछ ।’
यसरी अज्ञानता, अशिक्षा अनि गरीबीको मनोवृत्ति बुझेर नै पश्चिमा सफल भइरहेको छ । शक्तिशाली मुलुकहरू चाहन्छन् भाँती भाँतीले धेरै भन्दा धेरै राष्ट्रलाई अधीनमा राख्न । उनीहरूको उपनिवेशित आचरण पहिले भन्दा अहिले झन् डरलाग्दो हुँदै आएको छ । यो सब रणनीति बुझ्ने नेपाली नागरिक तयार गर्न कम्तीमा एक युग पर्खिनु पर्छ होला । जतिखेर पश्चिमाले नेपालीलाई अनेपाली बनाइसकेको हुनेछ निश्चय । नेपालीहरू भाषा धर्म संस्कृति विहीन भइसकेका हुनेछन् अवश्य ।
मेरो जिज्ञासा अझै बाँकी छ— ब्रिगेड अफ गोर्जामा भर्ती लाग्न, ब्रिटिस सैनिक हुन हिन्दू धर्म लेखाउनै पर्ने नियम—अहिले कायम छ कि छैन कुन्नि ? ‘सुदूर विस्मृतिका बिम्बहरू’मा मेरो कुतुहलता छ । हिन्दू धर्म इतरका नेपालीले पल्टने घरमा बडा दशैँको टीका थाप्दा कारबाहीमा परेका घटना अब त प्राचीन भइसकेका छन् ।
डायास्पोरिक जीवन बिताइरहेका एउटा लहुरेको कथा, लाहुरेका अनुभूति, लाहुरेका अवधारणाले म विस्मित छु । लाहुरेको रुचि कति महान् छ । पल्टने घरभित्र साहित्य गरेकै कारण दण्डित भएका वनेमका तिक्त स्मृतिमा— मैले अर्का लाहुरे केदार संकेतलाई सम्झिएँ, गणेश राईलाई सम्झिएँ । ती लाहुरे स्रष्टाका पनि यस्तै अनुभव— मैले कहीँ पढेको थिएँ ।
वनेमका लेखनमा मलाई कस्तो लाग्दैछ भने उनका विशुद्ध संस्मरणभन्दा वैचारिक विमर्श गरिएका आलेख निकै सशक्त छन् । परेवाको मृत्यु र घरबारविहीन अङ्ग्रेज नागरिकहरू आलेख त्यस्तै सशक्त छन । प्रभावकारी छ । इतिहासका अनेक घटनालाई साक्षी राखी—अङ्ग्रेज मनोविज्ञानलाई उनले चित्रात्मक बनाएका छन् । हेर्दा जति इमानदार, संवेदनशील देखिन्छन् वास्तवमा अङ्ग्रेजहरू त्यति संवेदनशील छैनन्— लैनसिंहले पनि ठीक यही कुरा उल्लेख गरेका छन् ‘मुलुक बाहिर म’ मा । माया, दया, करुणा नभए पनि भए जस्ता देखिन्छन् यिनीहरू । व्यवहारिकतामा फेरि त्यस्ता छैनन् ।
सम्भ्रान्त मुलुकमा तीन लाख नागरिक होमलेस भएका प्रसङ्गमा— बरु हाम्रै गरीब मुलुक समृद्ध भएको आभास भयो । होमलेसको सङ्ख्या चुनौती बन्दै गएको कुरा सभ्यताको विपरीत अर्थ होइन त ? एउटा सिगलले परेवा मारेको दृश्यमा संवेदनशील जुलीको सन्दर्भबाट शुरु भएको रचनाले इतिहासका केही घटनाहरू स्मरण गर्न पुगेको छ । सिगलले एउटा परेवा मारेर खाँदा बेलायतीको संवेदना सगरमाथाझैँ चुलिएको थियो । लेखक भन्छन् तिनै बेलायती जनता “इराकमाथि अमेरिका, युरोपियनको सदस्य बेलायती सरकारले खसालेको बमको विरोधमा उत्रेको र लडाइँको विरोधमा नारा जुलुस गरेको पनि देखिँदैनथ्यो । इराकीहरूले भोगेको विध्वंश र अङ्ग्रेज मित्रहरूले परेवा मारिएकोमा देखाएको सहानुभूति र मायाप्रति सोचमग्न भएर म आफ्नो कर्तव्य निर्वाह गरिरहेको थिएँ (पृ–३६६) ।”
कुनै पनि जाति समृद्ध छ छैन या कतिको समृद्ध छ भनी जान्न त्यस जातिको भाषा, साहित्य, संस्कृति, कला, सङ्गीतमा कस्तो प्रभाव छ त्यसमा भर पर्नेरहेछ । भाषा मर्यो भने त त्यस जातिको अस्तित्व नै समाप्त हुन जान्छ । अस्तित्व पहिचानका आधारहरू भाषामै निर्भर रहेका छन् । स्रष्टा वनेममा यही चेतले निर्देशित छन् । उनी लिम्बू भाषा, संस्कृति र मुन्धुमको संरक्षण अभियानमा छन् । उनी पुनः एकपटक विश्व प्रशिद्ध भाषाशास्त्री डेरिलको भनाइ स्मरण गर्छन्, “यदि तिमी बाँच्न चाहन्छौ भने अरूको भाषा सिक तर सधैँ सधैँ बाँच्न चाहन्छौ भने आफ्नो मातृभाषा सिक (पृ–३८२) ।” यही चेतले कति जाति देशद्रोही भएका छन्, शरणार्थी भएका छन् । भुटानी नेपालीहरू त्यसै शरणार्थी भएका होइनन् ।
केही महीनाको बिदामा लेखक देश फर्किएका छन् । २०४५ सालको भूकम्पले आतङ्कित छ समय । भुइँचालो, भ्रष्टाचारी नेता र मृत्युबाट उम्केका एपिसोडहरूमा कति धेरै विडम्बना छ । मन कोक्याउने कुरा छ । मन थोरै पनि सम्झौता गर्न सक्दैन यस्ता घटनामा तर विवश छन् नेपाली “भूकम्प पीडितहरूलाई बाँड्नु पर्ने जस्तापाता अर्थमन्त्री डा. रामशरण महतकै आदेशमा उनका भतिजा रमेश महतमार्फत् बेच्न लैजाँदै गर्दा गाउँलेहरूले समातेको समाचार हिमालचुली बनेर अग्लिँदै थियो । तर शक्तिको आडमा त्यो समाचार भुसको आगो पनि बन्न सकेन (पृ–३८८) ।”
यस्तै हो भने त कहिल्यै नसुध्रिने भयो देश, कहिल्यै नसुध्रिने भए महामहिमहरू ! देश र जनताले भोग्नु परेको विडम्बना— मलाई त किञ्चित नपढौँ लाग्छ तर यस्तै पढिरहनु पर्छ । के गर्नु ?
लक्षित भूमिमा रहेर भाषा साहित्यको सेवा गर्ने सक्रिय स्रष्टा । कुन चेतनाले त्यसरी निर्देशित गरेको होला ? उनलाई एउटा घटना अझ पनि खड्किरहेको छ । एक कार्यक्रममा कोही लाहुरे सर्जकले उपन्यासकार राजन मुकारुङलाई आफ्नो कृति उपहार गर्दा उनी भन्छन्, ‘अलिक हतारमा लेखिएका र स्तर नपुगेका रहेछन् ।’ मुकारुङको यस भनाइले निराश हुन्छन् लाहुरे स्रष्टाहरू । वनेम पनि केही सन्देहशील हुन्छन्, कतै आफ्नो सिर्जनाको स्तर नपुग्ने हो कि ?
अनि त मलाई भन्न मन लाग्छ— तपाईंहरूले परदेशमा रहेर जे जति गर्दै हुनुहुन्छ त्यो एकदमै प्रशंसनीय छ । सन्देह राखेर उत्कृष्ट बनाउन लाग्दा तपाईंले चाहे जस्तो स्तर कायम नहुन सक्छ । बस् साधनारत हुनु ठूलो कुरा हो । तपाईंलाई तपाईंकै साधनाले उठाउने छ । तपाईं आफैँ जानकार हुनुहुन्छ । क्लाउड लेभि–स्त्राउसको मिथक दर्शन र गिर्बोहरूका रहर पढे पश्चात् मेरो यही अनुरोध छ— अरूले के भन्लातिर सशङ्कित हुनु राम्रो कुरा होइन । बरु सचेत हुनु असल कुरा हो ।
इतिहास र अनुसन्धानप्रति लेखकको गहिरो रुचि देखिन्छ । कृतिको अन्तिम रचना खोज विषयको छ । यसमा आफ्नो जातिको वंशावली पुस्तक तयार गर्दाको धावाधपेडी र कठीनाइहरू छन् ।
कहीँ पढेको थिएँ अहिले सम्झना भएन । त्यहाँ एक दार्शनिकले भनेका छन् ‘स्मृति नै साहित्यको भण्डारण हो ।’ लेखक वनेमले पनि यही कुरा भनेका छन् । उनको लेखन सरल छ । स्वाभाविक छ । विचार र शिल्पले जटिल बनाउनु आम पाठकलाई स्वीकार्य हुँदैन उनको सिद्धान्त छ । त्यसो त संस्मरणमा अस्पष्टता भन्ने हुँदैन नै ।
आगामी दिनमा लेखकको कलम अझ सक्रिय तथा सशक्त हुँदै जाओस् । यति भन्दै गर्दा मलाई के पनि भन्न मन लागेको छ भने— ‘सुदूर विस्मृतिका बिम्बहरू’ जसमा वनेमले भएभरको ज्ञान यहीँ खन्याए जस्तो लाग्छ । बरु यसलाई विचार तथा दर्शनको भिन्दै, संस्मरणको भिन्दै, यात्रा संस्मरणको भिन्दै, निबन्धको भिन्दै गरी बेग्ला बेग्लै कृतिमा विभाजन गरेको भए अझ बढी पाठकमैत्री हुने थियो । जेहोस्, मैले थाहा पाएँ उनी एक गम्भीर अध्येता रहेछन् । आफ्नो अध्ययनको सार अभिव्यक्त गरी उनी हलुङ्गो भएका छन् । आफ्नो भावनालाई अक्षरमा मूर्तता दिएर वर्षौंदेखिको भारी बिसाएका छन् ।
मेरो हार्दिक कामना छ आउँदा दिनमा लेखकको सक्रियता अझ तीव्र हुँदै जाओस् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
