गजल परिचय

साहित्यमा अति रूचिका साथ पढिने सुनिने एउटा उपविधा हो गजल। यसमा रहेको संक्षिप्ततामा विविधता, थोरैमा, धेरै, सानोमा ठुलो विचार, स्पष्टता, आह्लादकारिता, महकता, श्रुतिमधुरता हुन्छ। यही कारण नै यो दिनका दिन विस्तार हुनु, लोकप्रिय हुनु, फैलिदै गएको देखिन्छ। यसमा पाइने प्रभावकारिता, मनोहारिता, विविधता आदिले यसलाई लोकप्रिय बनाएको पाइन्छ। यसका सैद्धान्तिक पक्षबारे विभिन्न पुस्तक, पत्रिकातिर अध्ययन प्रस्तुत गरिएका छन्। गजल एउटा लोकप्रिय विधा बन्न गएको छ। मनमा रहेको औडाहा, छट्पटी, असन्तुष्टी आदिलाई गजलले राम्रोसँग सम्बोधन गर्न सक्छ। अझ यसले मनमा अङ्कुरित प्रेमका विभिन्न भावलाई राम्रोसँग अभिव्यक्त गर्न सक्छ। गजल हाम्रो साहित्यको अभिन्न अङ्ग बनिसकेको छ। गजल नयाँ नयाँ कविहरूको समेत आकर्षण बनेको छ।

गजलको प्यासी

नेपाली साहित्यमा जस योञ्जन प्यासी एउटा सम्मानित, विशिष्ट र लब्धप्रतिष्ठित नाम हो। उनलाई एक राम्रा गीतकार, कवि, समालोचक, निबन्धकारका रूपमा चिनिन्छ भने अब गजलकारका रूपमा पनि देखा परेका छन्। उनका समालोचना कविता गीत आदिका पुस्तक प्रकाशित भएका छन् भने गजल लेकनका क्षेत्रमा हालसम्म उनको निर्माया तिमीलाई भन्ने गजलसङ्ग्रह २०१७ मा सिक्किमका श्री के एन राईको प्रकाशत्वमा प्रकाशित भएको छ। यो गजलसङ्ग्रह अन्यभन्दा केही भिन्नता, गजलहरूको विषयवस्तु र प्रस्तुतिगत क्रमिकता जस्तो, नयाँ स्वादको रहेको छ। यसबारेमा रेखाङ्कनस्वरूप अध्ययन गरिएको छ।

भारतमा नेपाली गजल

भारतमा नेपाली गजल लेखन निकै अघि बढेको छ। सन् २००१ देखि हालसम्ममा लभगग तीसवटा गजल संङ्ग्रह जति देखा परेका छन् भने संकलित रूपमा वित्रिन्न पत्र-पत्रिकामा छरिएका पनि पाइन्छन्। दैनिक समाचार पत्रमा पनि गजल स्तम्भका रूपमा धेरै प्रकाशित भएका पाइन्छन्। यीमध्ये सबै गजलको ढाँचामा पाइन्नन् तर पनि गजलको प्रयासस्वरूप सिकारू किसिमका गजल पनि देखा पर्दछन्। यता दार्जीलिङ-सिक्किमतिरबाट लगभग बीसवटा जति गजल-सङ्ग्रह प्रकाशित भएको पाइन्छ। एउटा उल्लेखयोग्य कुरो के छ भने सन् २००१ सालदेखि मात्र यतातिर गजल-सङ्ग्रह प्रकाशित हुनथालेको देखिन्छ। अहिलेसम्मको भारतबाट प्रकाशित नेपाली गजल-दीवान (सङ्ग्रहहरू)- तरल मुटुहरू– संजीव छेत्री र सन्तोष गुप्त (२००१), मेरा एकाउन्न गजल, जिन्दगी ए जिन्दगी- खुसेन्द्र राई (२००५), गजल गान्धार, तिमी चाँदनी हौ– गोविन्द शाण्डिल्य, जून पोखिएको रात, अस्तित्वका आवाजहरू– असीम सागर (२००७), भविलाल लामिछानेका दुई नज्म केही गजल, गजल, जिन्दगी धेरथोर– भविलाल लामिछाने, गजल जल- वीरेन्द्र खँड्का, अनिल छेत्री र सुवास श्रेष्ठ (२००८), गजल दीप– वीरेन्द्र खँड्का र सुवास श्रेष्ठ (२००९), गजल महक– लीलाबहादुर छेत्री, बलराम सापकोटा र बुद्ध राई (२००९), गोविन्देका गजल, गोविन्देका १०८ गजल– गोविन्दे- (२००९), गजल कानन– दीपक ठटाल जलन (२००९), केही घाउ केही मलम– छुदेन काविमु (२००९), समुद्र रोएको साँझ, फूलबारी, तिमी नै भनन, रानी चरी, बदनाम आँखाहरू– सुवास श्रेष्ठ (२०१०), कालो गुलाब- अरूण साङपाङ र सुरज सुब्बा (२०१०), शुरूआत् (बालगजल)- शैलेन्द्र समदर्शी (२०१०), मनोराग– धिरेन संघर्ष (२०१०), मनचरी– मिलन बान्तवा (२०१०), ऋतुगीत, कमलकोठी– कमल रेग्मी (२०११), (२०११), सुनगाभाका स्वरहरू (कवितासंग्रहभित्र २४वटा गजल समावेश), बाँचिदिनु होला- डिल्लीप्रसाद अधिकारी (२००९), स्वर्ग पुग्ने सपनाहरू (गजल वाचन सिडी अल्बम) -असीम सागर र अन्य (२००९), गजल महक– लीलाबहादुर थेत्री, बलराम सापकोटा र बुद्ध राई, भक्कानिएका भावनाहरू- कर्ण विरह (२०११), स्मृतिका सौगातहरू– निर्दोषिका तामाङ (२०१२, पतझडका चित्कारहरू– अर्पण सोङदेन, अनाकृत मर्म – क्षेत्र प्रेम मुखिया, भुलेर आफैलाई- महेश दाहाल (२०१३), मनको दह– कृष्ण पी ठटाल, अनुरागका अक्षरहरू- रूद्र ढुङ्गेल (२००८), गजल अञ्जली- दिलमान राई चोट, अक्षर प्रेम, आकाश मेरो पनि– जीविका अश्रु, गहना– जे बी बराइली, पूर्णिमाको जून- दीपक पन्थ, मनोराग, मनको मझेरीमा, यो व्यथा– धीरेन सङ्घर्ष, तिमा छौ किन जिन्दगी– नोर्जाङ स्याङदेन, केही रङ केही रहर, गजल इरादा– पी लक्की शेर्पा, गजल यात्रा- प्रेम विश्वकर्मा, थोपा थोपा जिन्दगी- वसन्ती देवी पौड्याल, गजल अङ्कुरण- मनोहर शर्मा, भुलेर आफैलाई– महेश दाहाल, असमेली गजल– सम्पा. रामप्रसाद दाहाल, विकास बान्तवा- घाउ, असिनाको फूल– संगम सुधा, अञ्जान शहरमा छु- सन्जोक खवास, पहिलो किरण– स्वर्णिम लिम्बू, मनका हजार रङ्ग, स्पन्दन अतीत- राधा पाण्डे, रङ्गहरू तरङ्गहरू- दिल ठकुरी, पिरतीको लगानी- सिमियोन सुकिता, श्रवण कुमार प्रधान- स्वीकृतिका याम, सीता शर्मा- आँखी झ्याल, दीयो जलिरह्यो।   

नवीन पौड्याल (कालिम्पोङ)

गजल समालोचकका रूपमा प्यासी –

जस योञ्जन पनि गजल समालोचनाको दिशातिर सक्रिय छन्। उनले पनि भूमिकाकै रूपमा भए पनि गजल समालोचना लेखेका छन्। उनले गजलको सैद्धान्तिक र तात्विक पक्षबाट कृतिको केलाइ-कुलाइ गरी पाठकलाई पस्केका हुन्छन्। उनले शैलेन्द्र समदर्शीको बालगजल सङ्ग्रह शुरूआत को भूमिकामा बालमनोविज्ञानलाई अंगीकार गरी समदर्शीले त्यसमुताविक बालसुलभ गजल लेखेका छन् जो अत्यन्त स्तुत्य छ भनी सह्राहना व्यक्त गरेका छन्। उनका अनुसार भारतमा बालगजल लेख्नेहरू संख्या बढ्दै जाँदो छ। शैलेन्द्र समदर्शा, सुवास श्रेष्ठ र दिलकुमारी छेत्री आदि प्रमुख हुन्। योञ्जनका अनुसार गजलमा काफिया महत्वपूर्ण तत्व हो तर यसको प्राण चाँहि होइऩ। काफियाबिना नै उर्दू भाषाका गजल प्रतिष्ठाता वाली महम्मद वाली तथा नेपाली भाषाका गजल प्रतिष्ठाता मोतीराम भट्टकै कुनैकुनै गजलमा काफिया नभए पनि राम्रा गजलको दर्ता पाएका छन्।

प्यासीको गजलकारिता –

भारतीय नेपाली गजलको फूलबारीमा अब जय योञ्जन प्यासीको ‘निर्माया तिमीलाई’ एउटा विलक्षण अस्तित्व लिएर हाम्रो सामु देखा पर्ने लागेको छ । यसमा उनले पहिलेदेखि नै लेख्दै, थुपार्दै राखेका गजलहरूले प्रकाशिनको उज्यालो देख्न पाएका छन् । यसमा एक सयभन्दा बढी गजल समावेस छन्। गजलका रूप बान्की, ढाँचामा नयाँ स्वाद लिएर देखा परेका छन्। पाठकका निम्ति उनका गजल सुस्वाद्य लाग्छन्। प्यासीका निम्ति गजलको विषय यो खुल्ला संसार हो, खुल्ला आकाश हो र मानव मनका विशाल फाँट हो। उनको कल्पनामा कसैबाट छेकथुन छैन। जहाँ चाहे गजलको विषय विबनाउन सकेका छन्। खुला आकासमा जसरी चरा चुरूङ्गी विचरण गर्छन्, समुद्रमा माछाहरू जसरी निर्वाध तैरिन्छन्, बन्य प्राणीहरू धरतीमा खुल्ला चहार्न सकेको जसरी उनका गजलको विषय चयन गरिएको छ। उनका निम्ति कुनै पनि विषयमा लेख्न सकिने हुन्। उन आफ्ना गजललाई घरि प्रेमको विषाक्त घातको कुरा छन् घरि प्रेमका सुममधुर भाव व्यक्त गर्छन्, घरि जीवनको दर्शन छाँटेका छन् घरि आशाका किरण छरेका छन् घरि निराशाको स्वर। आफ्नो गजलमा वैयक्तिकताभन्दा सार्विकता, वैयक्तितक हुँदैहुँदै पनि मूलमा निर्वैयक्तिकता एकल भावमा सामूहिकता पाइन्छ।

गजलका स्वर सन्धान –

जस योञ्जन प्यासीको प्रस्तुत गजल सङ्ग्रहमा विभिन्न राग भावहरूको अभिव्यक्ति पाइन्छ। जीवनका सुख दुःखगत अनुभूति, प्रेमका विभिन्न भाव, उच्छवास, संवेदनालाइ स्वर दिएका छन्। यसमा रहेका अधिकाङ्श गजलमा प्रेमलाई सर्वोपरि राखिएको छ। प्रायः जसो गजलमा प्रेमका विभिन्न रागभाव, उच्छवास, संवेदना रागानुभूति, पाइन्छ। आशीक (प्रेमी) ले आफ्नी आशिकी (प्रेमिका) लाई प्रेमको विभिन्न किसिमका अनुनय विनय- आलाप, अनुभूति दर्शाइएको पाइन्छ। उनका प्रायः गजलका शेरहरू एकार्कमा स्वतञ्त्र भावका छन् भने गजलका मूल सेवर भने एउटै पाइन्छ। गजलका प्रत्येक शेरका भाव का विषय, भिन्नाभिन्नै भए पनि गजलका मूल लक्ष्यित कथ्य एउटै छ। जस्तो प्रेमपीडाको मूल भावले गजललाई छोडेको छैन। उनका गजलहरूलाई विषयवस्तुगत वर्गीकरण यसरी गर्न सकिन्छ- १. आत्मानुनय, र आत्मविलयन, २. प्रेमपीडा ३. जातीय चिन्तन र राजनैतिक व्यङ्ग्य ४. युगीन यथार्थता, ५. नैतिक सन्देश. ७. विरोधाभास।

  • आत्मानुनय र आत्मविलयन

प्रस्तुत निर्माया तिमीलाई गजल संङ्ग्रहमा आफुलाई कुनै प्रेयसी, काल्पनिक षोडसी, सुन्दरी युवतीप्रिति प्रेमाशक्ति दर्शाइएको छ। कुनै पागल प्रेमीलाई कुनै सुन्दरी युवतीलाई प्रेमको अनुनय विनय गरिरहेछ। यो अनुनय विनय गर्दा विभिन्न तवरले फकाउने फुर्काउने, घुर्काउने, वाचा वन्धन गर्ने भाव जनाई प्रेमको याचनगरिएकरो पाइन्छ। यसका सातै प्रेयसीकै रूप, गुण, सौन्दर्यभित्र आफुले समेटेर, विलय गरेर, वशीभूत गरेर, आत्मसात गरेर सन्तुष्टी व्यक्त गरिएको छ। यहाँ आत्मविलयनमा एक प्रकारको आत्मिक उदात्तीकरण, नैसर्गिक आनन्दानुभूति आदि अभिव्यक्त गरिएको छ। कोही निर्माया छ जोप्रति प्रेमीले एकोहोरो मायाको भाव व्यक्ति गरिरहेछ। कल्पनाकी सुन्दरी षोडसी निर्माया र निष्ठुरी छे। प्रेमीले उप्रति प्रेमाशक्ति देखाउँदा पनि उ निष्ठुरी र निर्मोही भई वास्ता गर्दिन। आफ्नो पागल प्रेमीलाई उ घरि घुर्काउँछे, घरि झुक्याउँछे, घरि हँसाउँछे घरि रूवाउँछे, कहिले हात दिन्छे, कहिले घात दिन्छे। पागल प्रेमी प्रेमाशक्त भएर विभिन्न राग-अनुराग व्यक्त गर्छ।

  • प्रेमपीडा

यस गजलसङ्ग्रहको मूल स्वर नै प्रेम हो। प्रेमका विभिन्न राग भाव, अनुभूति, संवेदनालाई विभिन्न विम्ब र प्रतीकका माध्यमबाट झल्काइएको छ। अधिकाङ्श गजल प्रेमपीडामा संरचित छन्। आशिकले आशिकीलबाट प्रेमको घात पाएको छ। छटपटिएको छ, मर्माहत भएको छ। वाणबाट आहत भएको मृगपरह उ पनि पीडित छ। प्रेममा ठुलो धोका खाएको छ, प्रेमको परिणामबाट आहत अनुभूति अभिव्यक्ति गर्छ। उसका त्यस्ता प्रेमका विभिन्न पीडालाई सशक्त भाव दिएर प्रस्तुत गरिएको पाइन्छ।

कोही मायाले वैरागी त कोही मायाले प्यासी

कोही मायाले जिन्दगानी खरानी बन्दो रहेछ।

  • जातीय चिन्तन र राजनैतिक व्यङ्ग्य-

यस सङ्ग्रहमा जातीय समस्याका सालहरूलाई विभिन्न तवर र भावद्वारा उतारिएको छ। एकातिर जातीय अस्मिताको प्रश्नको सवाल छ अर्कातिर यही सवाललाई माध्यम बनाएर गरिने स्वार्थपरक राजनितीको भण्डाफोर गरिएको छ। हाम्रो हृदयमा आफ्नो छुट्टै राज्यरूपी घर बनाउने दीर्घकालीन माग छ तर यसलाई लिएर अर्कै रातनिती चल्दो छ। अनेकता, स्वार्थलोलुपता, धनलोलुपता, व्यक्तिकेन्द्रित स्वार्थका कारण हाम्रो अवस्था डावाडोल भएको छ भन्ने भाव प्रस्ट पारिएको छ।

  • युगीन यथार्थता

प्यासीका यी गजलहरू युगका अभिव्यक्ति हुन्। युगजन्य विकृति, वंसगति, राजनै कुप्रणालीको विस्तार, मानिस-मानिस बीचको बडदो खाडल,र दुरत्व, मानवताको ह्रास, स्वार्थोन्मुख मानसिकताको विकास, हत्या, हिंसा, इत्यादि कुराहरूलाई उनले आफ्नो गजलमय भावमा समेट्न सकेको छन्।

  • प्रस्तुतिगत विशेषता

प्रतीकात्मकता- यसमा मनका विभिन्न राग-भाव जस्तो अमूर्त वस्तुलाई मूर्तता दिन विभिन्न प्रकारका वैयक्तिक प्रतीकको प्रयोग गरिएको छ। मनका अनतरकुन्तमा रहेका भाव र अनुभूति संवेदनालाई सजीव रूपमा प्रतीकातमक वस्तुता दिएर लेखिएका छन्। उदाहरणका निम्ति गजल संख्या ४५ मा रहेको झूटो नाटककी यी दुई पंक्ति-

सासै रोकिए जस्तो भयो बेइमानीले गर्दा

पुछदा पुछदा साउन भदौं गल्यो हात पनि।

यसमा आँखाबाट धेरै आँसु खसे भन्ने सामान्य भावलाई मार्मिकता र संवेदना प्रदान गर्न साउन भदौ बनाइएको छ।

  • शृङ्खलाबद्धता –

प्यासीको कतिपय गजलहरूका सेर एकदेखि अर्कासित गाँसिदै घेको बनाइएको पनि छ। कुनै एउटा शब्द लेख्यो, त्यसको मुनि ठिक अर्को सेरमा पनि त्यही शब्द र अर्थको शृङ्खला गाँस्दै लगिएको पाइन्छ। जस्तौ-

ख्याल ख्यालैमा निर्माया तिम्रो मेरो बात मिल्यो

बातै बातमा निर्माया हाम्रो लगनलाई जात मिल्यो।

जात भात मिलेपछि मिल्यो हिसाब किताब

जोड घट भागफल मिलेपछि मन मिल्यो हात मिल्यो।

हात मिल्दा निर्माया मिल्यो ग्रह जून तारा

अनि शुभ साइतमा सूर्योदयको प्रात मिल्यो।

……… …………

नजानेरै निर्माया पहिले पैले पैले तिम्रै मात्र गीत गुँ मैले

गीतसँगै निर्माया तिम्रो घरको बाटो कति कति धाएँ मैले।

धाउँदा धाउँदा थाके पनि निर्माया धाउन छाडिनँ

धाएकै निर्माया आखिरमा तिम्रो स्वीकृति पाएँ मैले

स्वीकृतिको सुखद् क्षणमा सारा सुखलाई सुमेप्र

जुनी जुनी निर्माया निर्माया तिमीलाई साँचो प्रीत लाएँ मैले।

 यस्तै अन्य केही गजलहरूमा पनि शब्दिक शृङ्खलाले शोभा प्रदान गरिएको छ।

समग्रमा नेपाली साहित्यमा एक विलक्षण प्रतिभा जस योञ्जन प्यासीको गजलसङ्ग्रह पनि देखा परेको छ । यसका विभिन्न पक्षहरूबाट अध्ययन र अनुसन्धान गर्नुपर्ने देखिन्छ । प्रायः सबै गजल उत्कृष्ट छन्, भाव गरिमा, अर्थ गाम्भीर्य, संरचनागत सुपुष्ट छन्, स्तुत्य छन्।