मैथिली भाषा साहित्य समृद्ध भाषा साहित्य हो । यो भारतको उत्तरपूर्वी भाग र नेपालको तराइमा विस्तारित छ । यो कुनै खास मुलुकको भाषा होइन । तर प्राचीन मिथिलाको भाषा हो । नेपालमा मैथिली भाषा साहित्यमा योगदान पुर्यायाउनेहरुमा डा. धीरेश झा “धीरेन्द्र’’ अग्रणी प्रतीभा हुन् । उनी रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका मैथिली विभागका प्रमुख थिए ।

उनको जन्म १४ जुलाई १९३४ मा भारतको मधुवनीको लोहनामा भएको हो । उनले विहार विश्वविद्यालयबाट हिन्दी तथा मैथिलीमा एमए तथा मैथिलीमा डीफिल गरेका थिए । उनका प्रकाशित कृतिहरुमा भरुक वा, कोदाओ कोइला, हुमक बहु कमला उपन्यासहरु, शत्रु वा आमनु, पझाइत गुरक आपग, कुहेसा किरण, नव मन्दिर कथा सङ्ग्रह, हैङ्गरमे टाँगल कोट कविता सङ्ग्रह प्रकाशित छन् । त्यस्तै काव्यशास्त्रको रुपरेखा समालोचना ग्रन्थ प्रकाशित छ । उनको महाकाव्य त्रिपुण्ड मैथिली पत्रिकामा प्रकाशित भएको थियो । उनले “हिमालको छायाँमा” तथा “नेपालक मैथिली गल्प” सम्पादन गरेका थिए ।

डा. धीरेश्वर झा “धीरेन्द्र’’

मैले त्रिभुवन विश्व विद्यालयको आन्तरिक लेखापरीक्षणको कामको सिलसिलामा जनकपुर जाँदा २०४९ साल पुस १४ गते उहाँकै निवासमा भेटेर अन्तर्वार्ता लिने मौका मिलेको थियो । मैले यो अन्तर्वार्ता लिने क्रममा साथमा पूर्णहरि अमात्य पनि हुनुहुन्थ्यो ।

तपाईंले कहिलेदेखि लेखन सुरु गर्नु भयो ?

मैले सन् १९४९ देखि लेखन सुरु गरेको हुँ ।

पहिलो प्रकाशित कुन रचना थियो ?

दरभङ्गाबाट प्रकाशित हुने वैदेही पत्रिकामा सभ्य लोग शीर्षकको कथा थियो ।

कसरी लेख्नु भयो त्यो कथा ?

प्रेमचन्दको कथा पढेर सोही अनुसारको ग्रामीण परिवेशमा लेख्ने धारणाले धनेलेर ।

कस्तो थियो त्यो कथाको विषयवस्तु ?

स्वतन्त्र रुपमा लेखेको हुँ । एउटा आइमाई–युवतीको कथा हो । मालिकको घरमा काम गरेकी हुन्छे । मालिकले इज्जत बिगार्छ अनि उसले आत्महत्या गर्दछे । अनि सबै उसलाई पापिनी भन्छन् । त्यसैको परिणाम आत्महत्या गरेकी भन्छन् । आफूचाहिँ सभ्य ।

त्यो कथा लेखाउने कुनै घटना थियो कि ?

त्यो आफ्नै गाउँमा घटेको घटना थियो । गणानन्द झा थियो सरपञ्च । केवटिन अर्थात् केवट जातिकी युवती थिई पूनियाँ । त्यही घटनालाई मैले कथाको रुप दिएको हुँ ।

कथापछि उपन्यास लेख्न कसरी थाल्नु भयो ?

उपन्यास भनेको जनजीवनका बृहत् रुपमा चित्रण गर्ने विधा हो भन्ने ठानेँ । आफ्नो गाउँको परिवेश लिएँ र लेखेँ,“भुरुक वा ’’ । त्यो उपन्यास १९६४ मा पटनाबाट प्रकाशित भयो । रचनामा धारावाहिक प्रकाशित भएको छ “विहानी तारा’’ शीर्षकमा ।

त्यसको कथावस्तु बताइदिनोस्न ?

त्यसमा मैले गरिब किसानको चित्रण गरेँ । कुन हिसाबले खेती गर्छ । ब्याजमा ऋण लिएर छोरा सहरतिर लाग्छ । रिक्सा चलाउँछ । सेठले अन्याय गरेको छोराले भन्छ र उसले उद्धार गर्छ ।

अनि कवितामा कसरी कलम चलाउनु भयो ?

एउटा हस्तलिखित पत्रिका निस्कन्थ्यो “चिनगी’’ नाउँको । त्यसका सम्पादकले कविता लेख्नका लागि भन्यो र मैले कविता लेखेँ १९४९ मा । त्यो पत्रिका मधुवनीको रैयाम गाउँबाट निस्कन्थ्यो । सम्पादक हुनुहुन्थ्यो भोलानाथ झा । अनि कविताको शीर्षक थियो “नवगीत’’ ।

त्यो कविता प्रकाशित हुँदा कस्तो अनुभव भयो ?

प्रसंसा गरे मानिसहरुले । प्रेरणा पाएँ र अरु कविता पनि लेख्न थालेँ ।

अनि नेपाल कहिले आउनु भयो ?

१ अगस्त १९६९ मा नेपाल आएँ । नेपाली सिकेँ । नेपालीमा पनि लेख्न थालेँ । नेपाली भाषा मन पर्यो र केही गरौँ भन्ने लाग्यो । मेरा नेपाली रचनाहरु अञ्चल सन्देश, धनुषा, सारङ्गी आदिमा प्रकाशित भए ।

नेपालमा लामो बसेपछि यतै स्थायी रुपले बस्ने सोच बनाउनु भएन ?

यो ठाउँ मन पर्यो । तर झूठो किन लेखौँ, मैले यता बस्ने प्रयास नै गरिनँ ।

अनि भविष्यमा यतै बस्न के गर्ने योजना छ त ?

छैन । हुन त म यहाँ मिलेर नै बसेको छु । आफूलाई पृथक गरेर होइन । नेपाली धारणाले काम गरेको छु । एउटा नेपालीले जसरी सोच्छ, त्यसरी सोच्छु । मेरो लेखाईमा त्यसको प्रभाव छ । यहीँको जनजीवनमा नेपाली सरह व्यवहार पाएको छु । व्यथित, सम, विजय मल्ल, खड्गमान मल्ल सबैले चिन्छन् र ईश्वर बराल माया गर्छन् । निकै माया पाएको छु ।

अनि अहिले के लेख्दै हुनुहुन्छ ?

एउटा उपन्यास लेखिरहेको छु ।

तपाईंका १०५ पाण्डुलिपि छन् रे नि ? कहिले प्रकाशित हुन्छन् ती ?

छपाउने प्रयास गरिरहेको छु ।

ती कति पृष्ठका छन् ?

६४ देखि ३२० पृष्ठका छन् ।

कुन कुन विधाका ?

उपन्यास, कथा, महाकाव्य, कविता, ध्वनी, नाट्य इत्यादि ।

कहाँ छन् ती पाण्डुलिपि ?

केही साथमै छन् अरु गाउँमा छ, लोहनामा ।

गाउँमा को को हुनुहुन्छ ?

पिता, माता, श्रीमती र तीन छोरा, तीन छोरी ।

तपाईंको घरमा लाखौँ किताबको सङ्कलन छ रे भन्ने सुनेको थिएँ ?

लाखौँ त होइन , धेरै छ ।

धेरै मतलब कति जति होला ?

पाँच सात हजार जति होलान्, यहाँ र गाउँको सबै मिलाएर ।

तपाईं कुन कुन भाषा जान्नुहुन्छ ?

मैथिली, नेपाली, हिन्दी, बङ्गला, अङ्ग्रेजी ।

बङ्गला पनि जान्नुहुन्छ ? लेख्नु पनि हुन्छ बङ्गलामा ?

बङ्गला पढ्न र बुझ्न सक्छु ।

कसरी सिक्नु भयो बङ्गला ?

मेरो पियुषकान्त विश्वास साथी थियो, उसैबाट सिकेँ ।

तपाईंले केमा विद्यावारिधि गर्नुभएको हो ?

लोक साहित्य ।

कहिले गर्नुभएको हो ?

साल याद छैन ।

मानार्थ हो ?

मानार्थ त पाएको छु नै । तर लोकवार्तामा परिश्रम गरेको छु र मेरो क्षेत्र त्यही हो ।

नेपालका मैथिली साहित्यकारहरुको नाम लिनु पर्दा ककस्को लिनुहुन्छ, योगदानका हिसाबले ?

राम भरोस कापडी “भ्रमर’’, डा.राजेन्द्र विमल, अयोध्यानाथ चौधरी, डा. रेवतीरमणलाला, रामभद्र, राम नारायण सुधाकर थुप्रै छन् ।

यिनमध्ये मुख्य मुख्य छान्नुपर्दा ककस्लाई लिनुहुन्छ ?

म राम भरोस र राजेन्द्र विमलबाट बढी सन्तुष्ट छु ।

यतिका १०५ पाण्डुलिपि हुँदा हुँदै अब के गर्नुहुन्छ त ?

उमेरको त केही ठेगाना छैन । अहिले उत्साहित छु र अझै उपन्यासहरु लेख्न चाहन्छु ।

प्रकाशित भए पनि नभए पनि लेखिरहनुहुन्छ ?

लेख्नु मलाई मन पर्छ । लेखिरहेको हुन्छु । प्रकाशित कहिले हुन्छ हुन्छ । मैथिली अकादमी पटना, मिथिला पुस्तक केन्द्र दरभङ्गामा प्रयास गरेको छु, ठिकै छ ।

के केका लागि प्रयास गरिरहनु भएको छ ?

कथा र उपन्यासका लागि ।

प्राध्यापनबाट अवकाशपछि के गर्नुहुन्छ ?

गाउँमा गएर लेख्छु र खेती गर्छु । अँ, मेरो बा पनि लेख्नुहुन्थ्यो । भुवनेश्वर झा । उहाँले लेख्नुभएको उपन्यास छापिएको छैन । अब हामीहरु छपाइदिने तरखरमा छौँ । हामी पाँच भाइमा म जेठो हुँ, मै पहल गर्दैछु ।

तपाईंलाई कसको कृति असाध्य मन पर्छ ?

जगदीश घिमिरेको ।

उपन्यास ?

हो, उपन्यास । लीलाम र साविती  ।

कविताचाहिँ कसको मन पर्छ ?

वैरागी काईंला र मोहन कोइरालाको ।

नयाँमा चाहिँ मन पर्ने रचना ?

तपाईंको ।

के मन पर्छ ?

कथा । मैले पत्रिकाहरुमा पढेको छु । राम्रो लाग्यो । यथार्थवादी छ । मलाई सामाजिक यथार्थमा आधारित रचना मन पर्छ ।

कुनै पुरस्कार पाउनुभएको छ ?

विहार युनिभर्सिटीबाट मैथिलीमा प्रथम श्रेणीमा प्रथम भएर स्वर्ण पदक पाएको हुँ सन् १९६० मा । तर साहित्यिक कृतिमा कुनै पुरस्कार पाएको छैन ।

मैथिली साहित्यको भविष्य नेपालमा कस्तो देख्नुहुन्छ ?

अरु प्रगति भएको देख्न चाहन्छु ।

अनि नेपालमा हिन्दी भाषाबारे के भन्नुहुन्छ ?

म हिन्दी भाषाको कुरामा सन्तुष्ट छैन । नेपालको राष्ट्रभाषा नेपाली नै हुन्छ । हिन्दुस्तानको हिन्दी, नेपालको नेपाली । यही न्यायसंगत लाग्छ ।

तपाईंप्रति जातिगत विभेद भएको छ ?

म यसमा सहमत छैन । मलाई कहिल्यै कसैले अपमान गरेको छैन । मलाई रोचक घिमिरेले असाध्य माया गर्नुभएको छ ।