अन्तर्वार्ताकारले सोधे नसोधेको भन्दा पनि साकारको अनुभव, विचार, संस्मरण र उनले गरेका अध्ययनका पक्षहरू त्यहाँ झल्किन्छन्, झुल्किन्छन् । सम्भवतः यसो नभएको भए यति प्रश्नको उत्तरले सिङ्गो पुस्तकको आकार लिंदैनथ्यो । 

००००

साहित्यमा अन्तर्वार्ता गद्यको यस्तो विधा हो जसले सम्बन्धित साहित्यकारको इतिवृत्त र विचार बुझ्ने अवसर पाठकले पाउँदछन् । यो रोचक हुन्छ र जानकारीमूलक पनि । तर यो कति महत्त्वपूर्ण बनाउने हो, यसमा अन्तर्वार्ताकारले सम्बन्धित स्रष्टाको विषयमा कति जानकारी राखेको छ, उसका कृतिहरू कति अध्ययन गरेको छ, उसका समकालीन अरू स्रष्टाको बारेमा कति खोजी गरेको छ, तिनमा निर्भर गर्दछ । स्रष्टालाई गरिने प्रश्नको उत्तर अन्तर्वार्ताकारले आफूले जानेको भए पनि सोध्नुपर्छ, किनभने त्यो अन्तर्वार्ता त पाठकका लागि हो, उसको निजी जानकारीका लागि मात्र होइन । त्यस्तै अन्तर्वार्ताकारले हिम्मतका साथ चुनौतीपूर्ण प्रश्न वा प्रतिप्रश्न गर्ने आँट गर्न सक्नु पर्छ ! तब मात्र त्यो अन्तर्वार्ताको खास र ठोस महत्त्व हुन्छ ।

त्यस्तै सम्बन्धित स्रष्टाले प्रश्न अनुसारको कत्तिको सटिक र खुलस्त जवाफ दिन्छ, प्रश्नसँग सम्बन्धित प्रसङ्गहरू कति ल्याउँछ त्यसले पनि अन्तर्वार्ताको महत्त्व र महत्ता निर्धारण हुन्छ ।

विश्व साहित्यमा पहिलो साहित्यिक अन्तर्वार्ता सन् १८५० को दशकमा लिइएको विश्वास गरे पनि सन् १७५६ मा आर्कविसप टिमोथी गावास्भीली (Archbishop Timothy Gabashvili) सँग लिइएको अन्तर्वार्तालाई गणना गर्ने गरिएको पाइन्छ । टिमोथी जोर्जियन धार्मिक व्यक्तित्व, कूटनीतिज्ञ, लेखक तथा यायावर थिए । फ्रान्सेली भाषामा पहिलो साहित्यिक अन्तर्वार्ता ला पेटिट (Le Petit) पत्रिकामा १८८४ मा प्रकाशित भएको थियो भने अंग्रेजीमा पहिलो अन्तर्वार्ता लिइने व्यक्तित्व फ्रान्सेली लेखक जुलेस भर्न (Jules Verne) थिए र उनीसँग अन्तर्वार्ता गर्ने अन्तर्वार्ताकार थिइन् मेरी ए. (Marie A.)।

नेपाली भाषामा पहिलो साहित्यिक अन्तर्वार्ता कसले कुन साहित्यकारसँग लिएको होला, खोजीकै विषय हुनसक्छ तर यो विधालाई मान्यता दिलाउने र स्थापित गराउने व्यक्तित्व भने उत्तम कुँवर हुन् जसको अन्तर्वार्ता संग्रह ‘स्रष्टा र साहित्य’ (२०२३) ले मदन पुरस्कार पाउन सफल भएको थियो ।

साकार समय

नेपाली साहित्यमा फुटकर रूपमा अन्तर्वार्ता लिने अन्तर्वार्ताकारहरू धेरै भए पनि पुस्तकाकारमा भने त्यति धेरै पुस्तकहरू छैनन् । तथापि यस विधामा उल्लेखनीय पुस्तक भने अवश्य छन् । शंकर लामिछानेको ‘बिम्ब प्रतिबिम्ब’, कुमार बहादुर जोशीको ‘कुराकानी मृतात्मासितको र अरूसितको पनि’ तथा ‘एक व्यक्तित्व अनेक दृष्टि’, परशु प्रधानको ‘केही क्षण: केही अनुहार’ र ‘केही अनुहार: केही क्षण’, नेत्र एटमको ‘सीमान्त आकाश’, देवेन्द्र भट्टराईको ‘स्रष्टा र समय’, महेश प्रसाईंको ‘शब्द सारथी’ तथा ‘कमल दीक्षितसँग १०१ प्रश्न’, रमेश तूफानको ‘संवाद र संवाद’, सूर्य सुवेदीको ‘सिर्जना र दृष्टिकोण’, अशोक सिलवालको ‘लेखक दुनियाँ’, गोविन्द गिरी प्रेरणाको ‘कमल दीक्षितसँग इमेल वार्ता’ लगायतका कृतिहरू छन् ।

यी मध्ये महेश प्रसाईंको ‘कमल दीक्षितसँग १०१ प्रश्न’ तथा गोविन्द गिरी प्रेरणाको ‘कमल दीक्षितसँग इमेल वार्ता’ कमल दीक्षितसँग तथा अशोक सिलवालको ‘लेखक दुनियाँ’ डा. ध्रुवचन्द्र गौतमसँग लिइएका पुस्तककार एकल अन्तर्वार्ता कृतिहरू हुन् । कुमार बहादुर जोशीको ‘एक व्यक्तित्व अनेक दृष्टि’ महाकवि देवकोटाका विषयमा विभिन्न व्यक्तित्वसँग लिइएका अन्तर्वार्ताहरू हुन् ।

त्यस्तै डा. ध्रुवचन्द्र गौतम, परशु प्रधान, कमल दीक्षित, कृष्ण प्रसाद पराजुली, गोविन्द गिरी प्रेरणा लगायतका स्रष्टाहरूसँग विभिन्न अन्तर्वार्ताकारहरूले लिएका अन्तर्वार्ताहरूको संकलनहरू पनि प्रकाशित छन् ।

यसै क्रममा उदय अधिकारी पनि अन्तर्वार्ता विधामा ‘प्रश्न’ कृतिका साथ देखा परे । यस कृतिमा उनले केही साहित्यकारहरू सँगका अन्तर्वार्ता छन् । उनले महेश पौड्यालसँग अंग्रेजीमा गरेको एकल पुस्तकाकार अन्तर्वार्ता गरेको दोस्रो कृति ‘फेसिंग अ लिटिल भल्कानो’ लिएर प्रस्तुत भए । र अहिले ‘साकार समय’ लिएर प्रस्तुत भएका छन् । यो शैलेन्द्र साकारसँग एकल पुस्तककार अन्तर्वार्ता पुस्तक हो ।

यो लेख यसै कृतिमाथि केन्द्रित रहेको छ, पृष्ठभूमिमा अन्तर्वार्ता विधाका विषयमा र नेपाली साहित्यका अन्तर्वार्ता पुस्तकहरूको सामान्य संक्षिप्त चर्चाबाट लेखको उठान गरिए पनि ।

यस पुस्तकको महत्त्वपूर्ण भूमिका डा. अशोक थापाले लेखेका छन् ।

भूमिका लेखकले राखेको ‘सिर्जनात्मक मुठभेडको अभिलेखन’ शीर्षकले भूमिकामा उनैले लेखेको तथ्य “अन्तर्वार्ताको क्रममा हुने प्रतिप्रश्नको अभाव यस पुस्तकमा देख्न सकिन्छ जुन यस ग्रन्थको सीमा हो ।” लाई पुष्टि गर्दैन । दोहोरो संवाद नभएर एकोहोरो प्रश्न र तिनको उत्तरलाई ‘मुठभेड’ को संज्ञा दिन मिल्दैन ।

भूमिकामा उनले औंल्याएका दुई बुँदा विशेष विचारणीय छन् ।

१ – ‘नेपाली साहित्यमा अन्तर्वार्ताको बीउ विसं २००० सालमा रोपिएको मानिन्छ ।’

२ – ‘अन्तर्वार्ताको क्रममा हुने प्रतिप्रश्नको अभाव यस पुस्तकमा देख्न सकिन्छ जुन यस ग्रन्थको सीमा हो ।’

यी दुई बुँदामध्ये पहिलो बुँदाले साहित्यिक पाठक, अध्येतालाई पहिलो साहित्यिक अन्तर्वार्ता कसले कोसँग गरेछ भन्ने खुल्दुली जन्माउँछ र खोजीका लागि उत्प्रेरित गर्दछ ।

दोस्रो बुँदाले अन्तर्वार्ताकारको सीमा निर्धारण गर्दछ ।

अन्तर्वार्ताकार उदय अधिकारीले प्रश्न शुरू गर्नुअघि करीब २ पृष्ठ शैलेन्द्र साकारलाई आफ्नो तर्फबाट चिनाउने प्रयास गरेका छन् । तर यो परम्परागत चिनारी नभएर अनौपचारिक चिनारी हुनाले यो भूमिकाले स्रष्टा साकारको साहित्यिक चिनारी दिंदैन, उनका कृतिहरू र जीवनका अरू पक्षलाई चिनाउँदैन । तर अन्तर्वार्ताकारको साकारप्रतिको दृष्टि र दृष्टिकोण भने झल्काउँछ ।

पहिलो प्रश्न साकारले कुनै समय लेख्दै गरेको उपन्यासको सन्दर्भमा छ जुन कहिल्यै पूरा भएर पुस्तकाकारमा आएन । त्यसको जवाफमा उनले सो उपन्यास ‘इतिवृत्त’ का केही च्याप्टर लेखेका । प्रत्येक च्याप्टरको शीर्षक राखिएको । ती फुटकर कथाका रूपमा प्रकाशित भएको र ती ‘रामायण र अरू कथाहरू’ मा संकलित भएको बताएका छन् । तर अन्तर्वार्ताकारले सोधेको प्रश्नको सन्दर्भभन्दा बाहिरका प्रसङ्गहरू पनि उनले व्यक्त गरेका छन् ।

यस सन्दर्भमा उनले यो उपन्यास भोजपुरमा आफू शिक्षक हुँदाको अनुभवलाई सँगालेर लेख्न लागेको जानकारी महत्त्वपूर्ण छ ।

दोस्रो प्रश्न सडक कविता क्रान्तिसँग सम्बन्धित छ । यसलाई अन्तर्वार्ताकार उदयले ‘सडक कविता आन्दोलन’ भनेका छन् । त्यो गलत हो । त्यो सडक कविता क्रान्ति थियो । म आफैं पहिलो दिनदेखि सामेल भएको र काठमाडौं बाहिर तनहुँ र कास्कीसम्म गएको साक्षी र सहभागी भएकोले यथार्थ तथ्य भन्न जरूरी ठान्दछु ।

यसमा साकारले दिएका जवाफमा पनि त्रुटिहरू छन् ।

जस्तो उनले भनेका छन्, ‘एक दिन अनायास राजा वीरेन्द्रबाट जनमत सङ्ग्रहको घोषणा भयो ।’(पेज १५) ।

खासमा २०३६ सालको विद्यार्थी आन्दोलनले उग्र रूप लिंदै गएपछि केही विद्यार्थी नेतालाई ठेलामा राखेर नगर परिक्रमा गराइँदा र त्यसले जन्माएको झडपपछि गोरखापत्र संस्थानमा आगो लगाइएको थियो र त्यसको भोलिपल्ट बिहान ७ बजे राजाले रेडियो नेपालबाट जनमत संग्रहको घोषणा गरेका थिए । ‘अनायास’ होइन ।

त्यस्तै उनले त्यति वेला शंकर लामिछाने नयाँ सडकमा द्वारिका श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, मोहन कोइरालाको साथमा भनेर उल्लेख गरेका छन् । यो पनि गलत हो । शंकर लामिछाने विसं २०३२ सालमै दिवङ्गत भैसकेका हुन्, २०३६ सालमा नयाँ सडकमा आउने कुरै हुँदैन !

त्यस्तै साकारले भनेका छन्, सडक कविता क्रान्तिमा, “म पनि थिएँ भनेर गोविन्द गिरी प्रेरणाले कतै लेखेका छन् । त्यस वेला उनीसँग मेरो परिचय थिएन ।” (पेज १६)

यो जवाफले म अवाक् भएँ । पहिलो त साकारसँग मेरो परिचय त्यसअघि नै भइसकेको थियो र हामीले मोतीमहल रेष्टुराँमा र पीपलबोटमुनि धेरैपल्ट भेटघाट कुराकानी गरिसकेका थियौं । पहिलो दिनको सडक कविता क्रान्तिमा कविता पढ्ने थोरै कविहरूमा म पनि थिएँ । त्यसको सम्पूर्ण अभिलेख भवानी घिमिरेको पत्रिका ‘भानु’को सडक कविता क्रान्ति विशेषाङ्कमा प्रकाशित छ । साथै म सडक कविता क्रान्तिको अन्तिम श्रृंखला जुन पोखरामा टुङ्गिएको थियो, त्यसमा समेत सहभागी थिएँ । काठमाडौं उपत्यका बाहिर तनहुँ र कास्कीमा सम्पन्न सडक कविता क्रान्तिमा मोहन कोइराला भवानी घिमिरेको पछि लागेर जान्न भनेर गएनन् । साकार अफिसमा विदा मिलेन भनेर गएनन् । तर म, किशोर पहाडी, हरिभक्त कटुवाल, दीपक जोशी लगायत चाहिं गएका थियौं भवानी घिमिरेको अगुवाइमा ।

सडक कविता क्रान्तिमा भाग लिए बापत सजाय स्वरूप उनलाई काठमाडौंको मुख्य कार्यालयबाट इनरूबाट सात माइल दक्षिण हरिनगरमा सरुवा भएको तथ्य पूर्णतः सत्य हो र तत्कालीन समयमा चर्चाको विषय भएको थियो ।

तेस्रो प्रश्नमा तत्कालीन बीसको दशकको साहित्यिक माहौलको विषयमा छ जसलाई साकारले विसं २०२० देखि २०३६ सालको समयावधि मान्दै यसको उत्तर दिने क्रममा उनले सो समयावधिमा अस्वीकृत जमातको शुरूवात गरेको र फूल टाइम राइटर भइसकेको यसरी बताएका छन्, “२०२६ सालतिर कविताराम श्रेष्ठ, अन्जीर प्रधान पीडित, रमेश श्रेष्ठ, प्रकाश प्रेमी भएर ‘अस्वीकृत जमात’को घोषणा गर्यौं । नेपाल भूषण न्यौपानेको सम्पादकत्वमा प्रकाशित हुने ‘सञ्जिवनी’को प्रथम अङ्कमा मेरो ‘पुल’ शीर्षकको कथा छापिएको थियो जसलाई वासु शशीले औधी मन पराएका थिए । मैले २४ घण्टामा जागीर आठ घण्टा, आठ घण्टा सिर्जना र आठ घण्टा निन्द्रा हुनुपर्छ भन्ने कुरा समेत झन्डैझन्डै बिर्सिसकेको समय थियो त्यो । २४ घण्टा नै साहित्यकार थिएँ म त्यस बेला, जहाँ अक्षर र शब्दहरू छन् त्यहाँ हुन्थें अनि जोश, जाँगर र सिर्जनशीलता नै मेरा मूल विषयहरू थिए ।” (पेज २१)

यसमा भारतको कलकत्ताबाट आएका ‘हंग्री जेनरेशन’ अर्थात् ‘भूखी पिंढी’ का साहित्यिक अभियन्ताहरू मलय राय चौधरी, सुविमल बसाक, अनिल करंजई, करूणानिधि मुखर्जीहरूसँगको काठमाडौंमा भेटको चर्चा गर्दै “बाँच्नका लागि कविता कर्म नितान्त धोखा हो भन्ने निष्कर्षमा पुग्यौं ।” (पेज २२) भन्ने कुरा लेखेका जुन नितान्त उदेक लाग्दो छ ।

चौथो प्रश्न डा. ध्रुवचन्द्र गौतम बारेको गसिपसँग सम्बन्धित छ र यसको जे उत्तर छ, त्यो उनको यसै पुस्तकको प्रकाशनको हाराहारी समयमा प्रकाशित ‘मनको कुनै कुना’ मा उनले लेखी नै सकेका थिए ।

डा. ध्रुवचन्द्र गौतम विसङ्गत क्लिस्ट लेखनमा नाम चलेका साहित्यकार हुन् । उनका ‘अन्त्यपछि’, ‘बालुवामाथि’ र ‘डापी’ यही कोटीका उपन्यास मानिन्छन् र सबभन्दा कठिन ‘बालुवामाथि’ मानिन्छ । तर गसिपमा ‘डापी’ उपन्यास लिइएको छ ।

उनले भनेका छन्, “त्यही बेला डा. ध्रुवचन्द्र गौतमले डापी नामक उपन्यास लेखेका थिए र त्यसलाई प्रकाशित गर्नका लागि भनेर प्रकाशकको खोजीमा थिए । उनको त्यो उपन्यास चर्चित फ्रान्सेली उपन्यासकार रोब्बे ग्रिले प्रिलेतबाट प्रभावित छ भन्थे उनी । प्रिलेतको उपन्यासमा तिनका विषयवस्तु पनि स्पष्ट हुँदैन र त्यसमा के लेखिएको छ भन्ने कुराको भेउ पाउन समेत मुश्किल हुने गर्दछ । आधुनिकता र उत्तरआधुनिकताको शुरूवात गरेको छु भन्ने उनको श्लाघा थियो । उनी डापीको अर्थ पीडा हो भन्थे । पीडालाई उल्टोबाट पढ्दा ‘डापी’ हुन्छ नै । ध्रुवचन्द्र यस्तै-यस्तै विसङ्गत कुराहरूमा उभिएका थिए । त्यस बेला मेरो विचारमा पनि त्यो उपन्यासको १०/१५ पेज मात्र पढ्न पनि गाह्रो हुन्थ्यो ।’(पेज२४)

डा. ध्रुवचन्द्र गौतम र उनको उपन्यास ‘डापी’ माथि गरिएको गसिप यस्तो थियो, “एउटा युवक, जो अनिद्राको रोगी थियो, – एक दिन एउटा आधुनिक डाक्टरकाहाँ आफ्नो रोगको उपचारार्थ जान्छ । डाक्टरसाब साहित्यमा उत्ति सारो रुचि नराख्ने भए तापनि उनलाई थोरबहुत जानकारी भने रहेछ । संयोगले डाक्टरले केही उपन्यास समेत पढेको छ र त्यसमध्ये डापी पढ्न खोज्दा ऊ पनि धेरैपल्ट मस्त निदाएको छ । उसले त्यो उपन्यास चार पेजभन्दा बढी कहिल्यै पढ्नै सक्दैन । ५०० पेजको ढड्डा छिचोल्न त उसको पूरै जिन्दगी बित्ने देख्छ । अनिद्राले ग्रस्त युवकमा डिमेन्सियाको लक्षण पनि देख्छ उसले । त्यसैले झट्ट उसको उचित उपचार गर्ने विचार डाक्टरको मनमा आउँछ । डिमेन्सियाको रोगीलाई त सुत्न असाध्य गाह्रो हुन्छ । डापीको एक पृष्ठ पढ्नासाथ आफू फ्वाँ-फ्वाँ निदाएको सम्झन्छ र प्रेस्क्रिप्सनमा लेख्छ, ‘दिनको एक पृष्ठ डापी उपन्यास र एउटा चक्की मनतातो पानीसँग ।’ त्यो युवक पनि केही पढेलेखेको युवक हो । नेपालका केही चर्चित उपन्यासहरूका बारेमा उसलाई पनि धेरथोर जानकारी छ । उसले युधीर थापाका केही उपन्यासहरू र दार्जीलिङको सुवास घिसिङको प्रसिद्ध उपन्यास नीलो चोली पढ्नुपर्यो भनेर जाँदा रत्न पुस्तक भण्डारमा डापी देखेको हुन्छ । त्यसलाई पढ्नुपर्ने कल्पना मात्रले पनि ऊ थर्रर्रर्र काम्छ । त्यसैले विनित भावमा उसले डाक्टरलाई भन्छ – डाक्टरसाहेब म जुनसुकै औषधी पनि खान तयार छु तर यो डापी चाहिं मेरो लागि असह्य हुन्छ । युवकको कुरा सुनेर डाक्टर हतप्रभ हुन पुग्दछ । जेजसरी हुन्छ एकप्रति मात्र भए पनि नेपाली उपन्यासको बिक्री गराउने उसको उद्देश्य असफल हुन्छ ।” ( पेज२४-२५)

यो प्रश्न र उत्तर दुवै रोचक मनोरञ्जनात्मक त छन् नै, तर कति बौद्धिक हो, त्यो चाहिं विचारणीय पक्ष हो ।

पाँचौं प्रश्नमा अन्तर्वार्ताकार पुनः साकारको बाल्यकाल र लेखक हुनु अघिको समयमा पुग्छन् । साकार यस प्रश्नको उत्तरमा आफ्नो बाल्यकाल र भोजपुरमा बिताएका दिनहरू यसरी काव्यात्मक रूपले स्मरण गर्दछन्, “भोजपुरमा बिहानै जताततै भेटिने, घरभित्र कोठामै आइरहने भुँइकुहिरोको सम्झना मलाई भैरहन्छ । भुँइकुहिरोले मनलाई अनायास उठाएर स्वप्न प्रदेशमा लैजान्छ । संसारका सम्पूर्ण सम्मान, बिल्ला, झण्डा र शक्तिहरू तुच्छ र निरीह लाग्न थाल्छन् । त्यही भुँइकुहिरोले भोजपुरको जाँड र निगार यति तिक्खर, यति कडा र झम्म लाग्ने बनाएको होला । कोदोको तीन पाने बल्दो रक्सीले भुँइकुहिरोको साथ पाएर हामीलाई जागरूक, चञ्चल, कल्पनाशील र सशक्त बनाएको हो कि ? म भ्रममा छु ।”( पेज२८)

साकारले यस पाँचौं प्रश्नको जवाफ दिने क्रममा एउटा रोचक र महत्त्वपूर्ण जानकारी पस्केका छन् । उनको जन्म भोजपुरमा भएको भए पनि उनकी आमी असन बालकुमारीमा छँदै गर्भवती भएकी रहिछन् । उनको गर्भाधानस्थल काठमाडौंको असन वाल कुमारी रहेछ । यसलाई साकारले आश्चर्यजनक संयोग भनेका छन् ।

छैठौं प्रश्नमा अन्तर्वार्ताकारले प्रथम पटक आउँदा काठमाडौं कस्तो थियो भन्ने जिज्ञासा राख्दै तत्कालीन काठमाडौंको अवस्था, काठमाडौंको उनलाई साहित्यिक बनाउन योगदान र उनको साहित्यिक समूह बारे जिज्ञासा राखेका छन् ।

जवाफमा काठमाडौं आउँदा आउँदै ठगिएको कथा भन्दै उनले आफ्नो शब्दचित्र यसरी कोरेका छन्, “पिताजीले कुनै स्थायी पेशा नगरेकाले सानोतिनो व्यापार गर्न लाग्नुभएकी आमाको आँखामा भविष्यको कल्पना हेर्दै त्यसलाई साकार रूप दिन काठमाडौं आउनु नै थियो । अरू कुनै उपाय नै थिएन । त्यसैले २०२४/२५ सालतिर कुम्लो-कुटुरो बाँधेर त्यसलाई कुनै एक जना दलितलाई बोकाएर हुलाकी जेठाको माइलो नाति अर्थात् म काठमाडौंतिर हान्निएँ, अनिश्चित भविष्यको लागि कविता सोच्दै र काठमाडौंमा ठूला कविहरूलाई भेट्ने कल्पनामा रमाउँदै ।”( पेज ३२)

साकारले यस जिज्ञासाको जवाफको साथै आफ्नो दोस्रो र चर्चित कथा ‘पुल’ को रचनागर्भ समेत उल्लेख गरेका छन्, “त्यो पार गरेपछि मात्र आइपुगिन्छ वराहक्षेत्र । अलि पर चतरा बजारमा थोत्रा ट्रक र म्यूजियममा राख्न लायक पुराना जीपहरू तैयार अवस्थामा खडा हुन्छन् यात्रुलाई धरानसम्म पुऱ्याउन । २२ जंघार र सुनबालुवाबारे सङ्गीतकार बुलुले निकै राम्रो संस्मरण लेखेका छन् । भोजपुरमा जन्मेका थुप्रै लेखकहरूले २२ जँघार र सुनबालुवाका बारेमा लेख्न बिर्सेका छैनन् । भोजपुर बजारबाट हिंडेको पहिलो दिनको बास सुनबालुवामा नबसी धरै छैन । रातभर अरुणको गर्जनले विविध कल्पनामा उडाउँदा-उडाउँदै बिहानले सूर्यको दर्शन गराउँछ । यिनै गर्जन-तर्जन र पुलको कल्पनाको मैले आफ्नो दोस्रो कथा ‘पुल’ लेख्न सकें । जसको परिवेश र यन्त्रणा नै सुनबालुवा अनि त्यसले छिचोलेको जमीन हो । राति बास बस्दा सुनेका कथा र उपकथाहरूको सारसंक्षेप हो ‘पुल’ कथा ।”(पेज ३३)

त्यति वेला पूर्वपश्चिम महेन्द्र राजमार्ग बनिसकेको थिएन । काठमाडौं आउन विराटनगरबाट जोगवनी, कटिहार, नरकटियागंज, भागलपुर, समस्तिपुर, रक्सौल आएर नेपाल प्रवेश गरेर अमलेखगंज, हेटौंडा, भैंसे हुंदै उनी काठमाडौं धरहरा आइपुगेको असाध्य यात्रालाई समेत उनले बयान गरेको छन् ।

यसै प्रश्नको उत्तर दिने क्रममा रमेश विकलले बाँसुरी बजाउँदै चनमायाको होटलमा राती ९/१० बजेसम्म बस्ने गरेको उल्लेख गरेका छन् । साथै रमेश विकलले भैरव अर्यालसँग चिनाजानी गराइदिएको र ‘रचना’ पत्रिकाका सम्पादकले ‘साकार’ उपनामको अगाडि शैलेन्द्र थपिदिएर आफ्नो नामकरण गरिदिएको तथ्य पनि उजागर गरेका छन् ।

त्यस्तै साकारले पहिलेपल्ट काठमाडौं जाने क्रममा भोजपुरबाट पैदल आएर चतरामा आइपुगेपछि जीवनमा पहिलोपल्ट मोटरगाडी देखेको सत्यको उद्घाटन गरेका छन् ।

सातौं प्रश्न साकारको कविता लेखनसँग सम्बन्धित छ । यसको जवाफ दिने क्रममा मोहन कोइरालासँग पुष्कर लोहनीले घरमै लगेर चिनारी गराइदिएको तथ्य सँगसँगै उनी कसरी पहिलोपल्ट प्रज्ञा प्रतिष्ठान पुगे, त्यसको समेत खुलासा गरेका छन्, “उनको दुर्बल आर्थिक अवस्था देखेर मदन रेग्मीले आफ्ना परिचित मन्त्री कृष्णराज अर्याललाई भनसुन गरेर नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका सदस्य नियुक्त गराएका थिए । मदन रेग्मी आफू कतै जागीर नखाए पनि कवि-साहित्यकारहरूलाई सहयोग गर्न सदा तत्पर र सक्रिय देखिन्थे ।”(पेज ४८)

साकारले सातौं प्रश्नको उत्तर दिने क्रममा भूपी शेरचनको शब्द चित्र यसरी प्रस्तुत गरेका छन् –

“भूपी शेरचन आफूलाई धनी बाबुको छोरा भन्ने गर्थे । मुस्ताङका धनी सुब्बा हितमान शेरचनको छोरा भनेर सबैलाई भन्ने गर्थे र उनलाई त्यही रूपमा मानिसहरू, पाठकहरू र हामीजस्ता प्रशंसकहरू पनि चिन्थ्यौं । सधैं सुट र टाईमा ठाँटिएर नयाँसडकमा चुरोट तान्दै उभिइरहेका भूपीलाई इन्दिरा रेष्टुराँको भर्‍याङ चढ्दा र उत्रँदै गर्दा हामी बारम्बार भेट्ने गर्थ्यौं । बोलचालमा या भेटघाटमा अलि अभिजातीयपन पनि झल्कन्थ्यो उनीमा । त्यो त पछि उनले पोखराकै कुनै राणाकी छोरीलाई दोस्रो विवाह गर्दा पनि अझ बढी प्रष्ट हुन गयो । यद्यपि उनले स्नातकसम्म बनारसमै पढेको भए पनि एज्रा पाउण्ड, एलिअट अथवा कामू, काफ्का वा सार्त्र बुझ्ने क्षमता उनको थिएन भन्ने मलाई लाग्छ ।” (पेज ५२-५३)

भूपी शेरचनको व्यक्तित्व र उनका रचनाको चर्चा गर्दै उनलाई जनवादी कविको कित्तामा गए पनि सामन्ती सोच र आभिजात्य स्वभावको भएको उल्लेख गर्दै प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राजा वीरेन्द्रको समेत उपस्थितिमा भएको मदिरा सहितको भोजमा आफूले लाममा बसेर भात नखाएको भन्दै बहालवाला मन्त्री हर्कबहादुर गुरुङलाई, “ए हर्के ! यहाँ आइज ! …जा, लाइनमा बसेर मेरो लागि थोरै भूजा र मासु लिएर आइज ।”(पेज -५४) भनेर अह्राएको र मन्त्रीले ‘आज्ञाकारी सेवक’ जसरी भूपीको आज्ञा शिरोपर गरेको उल्लेख गरेका छन् ।

यो घटना धेरैका लागि आश्चर्यजनक, अपत्यारिलो तथा अतिशयोक्तिपूर्ण लाग्न सक्दछ ।

आठौं प्रश्न आख्यानमा किन आउनुभयो भन्ने विषयमा छ जसमा साकारले त्यसको सिधा उत्तर त दिएका छैनन्, तर प्रकारान्तरले उनी कथामा संलग्न भएका कुरा, दाजु परशु प्रधानले आफूले ‘कथा’ विधा लिएर साकारलाई ‘कविता’ विधा जिम्मा लगाएर विधाको अंशबन्डा गरेको रोचक कुरा समेत उल्लेख गरेका छन् जसलाई परशु प्रधानले सार्वजनिक रूपमै पनि भन्ने गर्थे ।

यसै सिलसिलामा साकारले परशु प्रधानका ‘मृत्युको गन्धभित्र चियाको पानी’ लगायतका कथाको शीर्षक दाइको आग्रहमा उनले नै जुराइदिएको तथा एक मात्र उपन्यास ‘सबै बिर्सिएका अनुहारहरू’ शीर्षक उनैले नै राखिदिएको तथ्य समेत उजागर गरेका छन् ।

नवौं प्रश्न २० र ३० को दशकको समकालीन साहित्यको पठन संस्कृति सम्बन्धी छ । यस प्रश्नको उत्तर दिने क्रममा साकारले नेपाली साहित्यको पहिलो सहयोगी उपन्यासको जन्म सन्दर्भ उल्लेख गर्ने क्रममा भारतमा हिन्दी भाषामा प्रकाशित सहयोगी उपन्यास ‘ग्यारह सपनोंका देश’ को प्रेरणा रहेको उल्लेख गर्ने क्रममा “ मन्नु भण्डारीको सम्पादनमा प्रकाशित यो कृतिलाई पहिलो भारतीय सामूहिक उपन्यास मानिन्छ’ (पेज – ६०) भनेका छन्, जसमा तथ्यगत त्रुटि छ । यो उपन्यासको सम्पादक मन्नु भण्डारी होइनन् ।

यो उपन्यासको सम्पादक नेमिचन्द जैन हुन् । त्यति मात्र नभएर यो सामूहिक उपन्यासमा मन्नु भण्डारीको कुनै सहभागिता थिएन । यो उपन्यासका लेखकहरू धर्मवीर भारती, राजेन्द्र यादव, उदयशंकर भट्ट, मुद्राराक्षस, रांगेय राघव, लक्ष्मीचंद जैन, अमृतलाल नागर, प्रभाकर माचवे, ईलाचन्द्र जोशी र कृष्णा सोवती थिए ।

यो बेग्लै कुरा हो पछि मन्नु भण्डारी र राजेन्द्र यादवको संयुक्त उपन्यास ‘एक ईंच मुस्कान’  प्रकाशित भएको थियो । तर साकारले उल्लेख गरेको ‘ग्यारह सपनोंका देश’ मा मन्नुको कुनै सहभागिता नै थिएन ।

यो प्रश्नको जवाफ दिने क्रममा साकारले आफूले पढेका विश्वका विख्यात लेखकहरू कामू, मार्खेज, सार्त्र, वर्डस्वर्थ, काफ्का आदि लेखक र तिनका कृतिको चर्चा गरेका छन् ।

साथै यस प्रश्नको जवाफमा निकै गहिरो, उल्लेखनीय र उदाहरणीय विचार पस्केका छन्, “अधिनायकवादको विरोध नै लेखनको प्राथमिक कुरा हो, अरू सब बेकार र फाल्तु हुन् । इतिहासले देखाएको छ – जो शासक जति बढी सर्वहारा हुन्छ, त्यो त्यति नै बढी भ्रष्ट हुन्छ ।”(पेज ६०-६१)

यो बढो गहन विचार हो ।

त्यस्तै जसले पनि काफ्काको मेटामोर्फोसिस, कामूको द स्ट्रेन्जर र सार्त्रको द वाल पढ्दैन उसले आजको विश्वको साहित्य बुझ्नै सक्दैन भनेर ठोकुवा गरेका छन् जुन नयाँ पुस्ताका लेखक वा पाठकलाई एक खुल्ला चुनौती हो ।

दशौं प्रश्न साकारको अमेरिका बसाइँसँग र अमेरिकाको नेपाली साहित्यिक गतिविधिसँग सम्बन्धित छ । उनी अमेरिका जाँदा म आफैं पनि त्यहाँ थिएँ । उनले नेपाली राजदूतावासमा कार्यरत साहित्यिक मित्र जय छांग्छाको आतिथ्य ग्रहण गरेको सम्बन्ध उल्लेख गर्दै मेरो समेत उल्लेख गरेका छन् । मलाई उनले “…रातको एक बजेसम्म म्याक डोनाल्डमा काम गरेर फर्केर खाना खाएर सुत्ने गर्दथे…”(पेज ६९) भनेका रहेछन् तर अमेरिकामा मैले म्याकडोनाल्डमा आजसम्म कहिल्यै काम गरेको छैन । उनी आएको बेला मैले ९ बजेसम्म काम गरेर उनलाई भेट्न र जयजीको आतिथ्य ग्रहण गर्न पुगेको थिएँ । म पुग्दा उनी मदिरामय भैसकेका रहेछन् र उनले कविता पढ्न नसकेपछि उनको कविता मैले सुनाइदिएको थिएँ र जय र उनले सुनेका थिए ।

अमेरिकाको अनुभव बाँड्ने क्रममा उनले भनेका छन्, “भुटानी शरणार्थीहरूले काम नपाउञ्जेल महिनाको ७०० डलर सरकारबाट पाउने नियम रहेछ । तिनीहरू निस्फिक्री यताउति दौडिरहेका भेटिन थाले । नेपाली वृद्धहरूले ६५ वर्ष पुगेपछि पाउने पेन्सन पनि काटेर उनीहरूलाई दिइने भएकोले ‘मेरो त पेन्सन नै हट्यो, त्यस्तै श्रीमतीले पाइरहेको पेन्सन पनि हट्यो, अब म यहाँ काम गर्न सक्तिनँ नेपाल नै फर्कन्छु’ भनेर मनु ब्राजाकी मलाई भनिरहन्थे । यस्तो काम गर्ने बराक ओबामा हुन् भनेर ओबामाको निकै विरोध गरिरहन्थे उनी ।” (पेज-७१)

तर यो गफ हो यथार्थ होइन । भूटानी शरणार्थीहरूलाई भत्ता दिने उद्देश्यले वृद्ध भत्ता बन्द भएको होइन ।

उनले अमेरिकाका ‘सानो पुरस्कार पनि १० लाख डलरको, जस्तो कि पुलित्जर पुरस्कार’ (पेज-७३) भनेका छन् तर यो पनि सत्य होइन । पुलित्जर पुरस्कारको रकम १५ हजार डलर छ ।

तर अमेरिका बारे उनको आकलन ‘अमेरिका एउटा सानो संसार नै हो’ भन्ने कथन चाहिं सोह्रै आना सही हो ।

एघारौं प्रश्न ‘सर्पहरू गीत सुन्दैनन्’ कविताको चर्चा गर्दै उनको लेखनमा कमी आएको हो कि भन्ने छ ।

यस जिज्ञासाको जवाफमा साकारले ‘सर्पहरू गीत सुन्दैनन्’ कविताको रचना गर्भ नै प्रस्तुत गरेका छन् । उनले लेखनकर्म आफ्नो लागि धर्म हो, दायित्व हो र स्वतःस्फूर्त रूपमा अगाडि बढिरहने गति भएको मानेका छन् । त्यस्तै उनले लेखनलाई ‘नाङ्गो तार समात्नु सरह हो’ भनेका छन् । खासमा उनको लामो कविताको सिङ्गो पुस्तकको नाम हो ‘नाङ्गो तार’ र यस कृतिको बारेमा अन्तर्वार्ताकारले ‘नाङ्गो तार’ को चर्चा नगरेको गुनासो सम्म गरेका छन् ।

बाह्रौं प्रश्नमा अन्तर्वार्ताकारले उनको ‘सर्पहरू गीत सुन्दैनन्’ शीर्षकको कवितासहित केही कविताहरूको अंग्रेजी भाषामा अनूदित कविताहरूको संग्रहको चर्चा गर्दै आख्यान लेखन छायामा परेको हो कि भन्ने जिज्ञासा राखेका छन् । तर साकारले यो अघि नै उल्लेख भैसकेको जनाउँदै कविता र आख्यान दुवैमा उनको रुचि भएका स्पष्ट पारेका छन् ।

बाह्रौं प्रश्नमा अन्तर्वार्ताकारले साकारको अंग्रेजी भाषामा नव प्रकाशित कृति द सर्पेन्टस् वन्ट लिसन टू योर संग्सको सन्दर्भ उठान गर्दै कविताले आख्यान लेखन छायामा परेको हो कि भन्ने जिज्ञासा राखेका छन् ।

साकारले कविता र आख्यान दुवै विधा उनको रुचिको क्षेत्र भएको र आत्मकथ्य, नियात्रा आदिमा समेत रुचि रहेको बताएका छन् र नियात्रा र आत्मकथा उनको पठनको रुचिमा भएको बताएका छन् ।

तेह्रौं प्रश्न नेपाली साहित्यको अनुवाद सम्बन्धी छ । यस सन्दर्भमा उनले अनुवाद कर्मलाई “स्रस्टाको कथ्य, बिम्ब र अभिव्यक्तिलाई अर्को भाषामा रूपान्तरण गर्नु अत्यन्त इमान्दार र उत्कृष्ट कर्म”( पेज ८६) मानेका छन् । साथै उनले आफूले गरेका अनुवाद रचनाहरूको फेहरिस्त प्रस्तुत गरेका छन् तथा तिनलाई पुस्तककै रूपमा प्रकाशन गर्ने ईच्छा भएको जताएका छन् । उनले “जे-जस्ता अनुवाद कर्महरू भएका छन् ती सबै लेखक स्वयम्‌को जिजीविषा, आकाङ्क्षा र सत्कर्म र सम्पर्कले भएका छन्, सरकार वा कुनै सङ्घसंस्थाको सत्प्रयासले भएका छैनन् ।” (पेज ८८) भन्ने कटुसत्यलाई अगाडि ल्याएका छन् ।

चौधौं प्रश्नमा अन्तर्वार्ताकारले ‘मनको कुनै कुनामा’ संस्मरणात्मक कृतिको सन्दर्भसहित गद्य र पद्य लेखनमा अन्तरको प्रश्न गरेका छन् ।

साकारले जवाफमा सोही कृतिमा उल्लिखित प्रसङ्गहरू पुनरावृत्ति गरेका छन् । त्यो कृति नपढेकालाई भने यी विषय र प्रसङ्गहरू नयाँ नै लाग्न सक्छ । उनले ‘कसैले अनुरोध गरेमा कुनै पनि विषयमा लेख्न उद्यत रहने मेरो बानी छ’ (पेज ९२) भन्ने उद्घोष समेत गरेका छन् ।

पन्ध्रौं प्रश्न उनको ‘अस्तित्ववादी व्यक्तित्व र धर्मभीरूपन’ सँग सम्बन्धित छ । जवाफमा उनले मूर्तिपूजालाई प्रशंसनीय मानेका छन् र “विविध आकारका मूर्तिहरूमा म त छेनु लिएर त्यसलाई आकार दिने कलाकारहरूलाई सम्झन पुग्छु र अनायास श्रद्धापूर्वक मेरा हातहरू जोडिन्छन् ।” (पेज ९७) भन्ने अभिमत राखेका छन् ।

सोह्रौं प्रश्न साकारको प्रयोगवादी लेखन र उनले शुरू गरेको कथ्य कायाकल्प अनि उनको लामो कविता लेखनसँग सम्बन्धित छन् । साकारले जवाफमा कथ्य कायाकल्प लेखन अभियानको पृष्ठभूमि, त्यसप्रति उनको लगाव र निष्ठाको चर्चा गरेका छन् ।

यसै क्रममा उनले ‘आयुषाको देशमा’ आजसम्म नेपाली साहित्यमा प्रकाशित भएका सम्पूर्ण लामा कविताहरूमा रेकर्ड तोड्ने खालको छ भन्ने दाबी समेत गरेका छन् ।

सत्रौं प्रश्न साकारका समकालीन साहित्यकारहरूको बारेमा छ । उनले मञ्जुल, कविताराम, कुन्ता शर्मा, जगदीश घिमिरे, भाउपन्थी, कुमुद देवकोटा, जनार्दन जोशी, मनु ब्राजाकी, विश्वनाथ न्यौपाने, बेञ्जु शर्मा, सनत रेग्मी, शिव अधिकारी, अन्जिर प्रधान, ध्रुब सापकोटा, अभि सुवेदी, रामेश श्रेष्ठ, हरि अधिकारी, हिरण्य भोजपुरे, भुवन ढुङ्गानालाई समकालीन मानेका छन् र पारिजात, प्रेमा शाह, भाउपन्थी, मनु ब्राजाकी, कुमुद देवकोटा, हिरण्य भोजपुरे ध्रुबचन्द्र गौतमहरू समकालीन जस्ता देखिए पनि अग्रज मानेका छन् ।

यस प्रश्नको उत्तर दिने क्रममा साकारले भोजपुरकालीन प्रसङ्गहरूलाई पनि उल्लेख गरेका छन् र “‘काठमाडौं काठमाडौं’ जस्ता महान कृतिकी जननी वानीराबाट म निकै प्रभावित छु ।” (पेज ११४) भन्ने आत्मस्वीकृति समेत अभिव्यक्त गरेका छन् ।

अठारौं प्रश्नमा भविष्यको लेखन सम्बन्धी योजनालाई लक्षित छ । उनले छिटै गर्ने अमेरिका भ्रमणको बेला लामो कविता लेख्ने जवाफ दिएका छन् र यो उनको अभीष्ट पूरा पनि लगभग भैसकेको छ । उनले अमेरिका भ्रमण सकिने वेलासम्म सो योजना अनुसार लामो कविता लेखिसकेका छन् ।

उन्नाइसौं प्रश्नमा अन्तर्वार्ताकारले उनलाई साहित्यकार नारायण ढकालले भूपी स्कूलिंगलाई अघि बढाउने कविको रूपमा उल्लेख गरेको जनाउँदै साकारको पाँच दशकको लेखन यात्रालाई स्वमूल्याङ्कनका लागि आग्रह गरेका छन् ।

साकारले समालोचकहरूले उनलाई मोहन कोइरालाको स्कूलिंगको मानेको तर आफू मोहन कोइराला र भूपी दुवै कविहरूको बीचबाट ‘आफ्नो अनुकूलको बाटो बनाउँदै हिंडेको कवि’ (पेज ११६) मानेका छन् । र ‘कथ्य कायाकल्पका आविष्कारक, जनक र स्रष्टा पनि मान्छु’ (पेज ११६-११७) भनेर दावी गरेका छन् ।

बीसौं प्रश्न मुद्रण दोषले प्रश्न जस्तो देखिएको छैन तर बीसौं प्रश्न अन्तर्वार्ताकारले यो पुस्तकमा गरेको सबैभन्दा बढी शब्दको प्रश्न हो । यो प्रश्न साकारको मदिरा प्रेम र धूम्रपानसँग सम्बन्धित छ तर यो प्रश्नलाई रोचक बनाउन रोचक बुँदाहरू जोडेका छन् ।

साकारले यो प्रश्नको जवाफमा मदिरा नेवारी संस्कृतिको अभिभाज्य पक्ष भएको विश्लेषण गर्दै भोजपुर रहँदाको पारिवारिक पृष्ठभूमि समेत बताउँदै ‘देउराली र डाँडागाउँका तामाङ ठिटीहरूसँग जाँड नखाई बोलचाल हुन्छ भनेर कल्पना पनि गर्न नसकिने वेला थियो त्यो ।’( पेज १२२) भनेका छन् । उनले काठमाडौंमा पारिजातकहाँ निगार पिएको, जीवनमा पहिलोपल्ट शंकर लामिछानेकहाँ रक्सीमा सोडा या आइस क्यूब हालेर खान सिकेको, बागबजारको रामदाइको भट्टीमा ३४ पैसामा आधा गिलास र ६० पैसामा एक ग्लास रक्सी पाइने जमानाको समेत सम्झना गरेका छन् । उनले ध्रुवचन्द्र गौतम, भवानी घिमिरे, कुमुद देवकोटा, मनु ब्राजाकी आदि मदीराप्रेमीहरूसँग मदिरापान गरेको समेत खुलाएका छन् । त्यस्तै उनले ‘वासुशशी जत्तिको दिलदार रक्सीप्रेमी आजसम्म भेटेको थाहा छैन ।’(पेज १२३ ) भन्ने बताएका छन् ।

अन्तिम एक्काइसौं प्रश्न अन्तर्वार्ताकारले कुनै प्रश्न सोध्न छुटाएको छ कि भन्ने छ जसको प्रत्युत्तरमा अन्तर्वार्ताकारको बारेमा आफ्नो प्रशंसामूलक अभिव्यक्ति दिंदै “नेपाली साहित्यमा चर्चित बुटपालिस अभियानबारे र त्यसमा रहेको मेरो संलग्नता बारे तपाईंले कुनै प्रश्न नराख्नुभएकोले मलाई आश्चर्य लागेको छ ।”(पेज १२४) भन्दै प्रश्नोत्तरको बीट मारेका छन् ।

समग्रमा यो पुस्तक साकारले बाँचेको साहित्यिक जीवन हेर्ने आँखीझ्याल हो । सयौं लेखकका सन्दर्भ र तिनीहरूको आनीबानीदेखि तिनीहरूप्रतिको उनको धारणा पुस्तकमा देख्न सकिन्छ । यो एक प्रकारको नेपाली साहित्यको अनौपचारिक इतिहासको पूरक अंश हो ।

तर यस कृतिको भूमिकामा लेखिए झैं अन्तर्वार्ताको क्रममा हुने प्रतिप्रश्नको अभाव यस पुस्तकमा स्पष्ट देख्न सकिन्छ ।

कतिपय उत्तर अघिल्लो प्रश्नमै आइसकेपछि त्यो प्रश्न पछि आएको छ । त्यो अर्को खट्किने पक्ष हो । त्यस्तै यो अन्तर्वार्ता कुन मितिमा वा समयावधिमा लिइएको हो, त्यो अत्यन्त महत्त्वपूर्ण कुरा हो, जुन यस कृतिमा उल्लेख छैन । साकारले दिएका कतिपय उत्तरमा त्रुटिहरू छन्, जसको यथार्थ परीक्षण (Fact Check) गर्न अन्तर्वार्ताकार चुकेका छन् । अन्तर्वार्ताकारले उनको रचनागत प्रश्न गर्न सकेका छैनन्, उनले साकारसँग अन्तर्वार्ता गर्नुअघि उनको विषयमा र उनका समग्र कृतिहरूको विषयमा जानकारी लिन सकेको देखिंदैन । उनले पठाएको प्रश्नको जस्तो उत्तर आयो यथावत् प्रकाशन गरिएको छ, सम्पादन गरिएको देखिंदैन ।

साकारले पनि अन्तर्वार्ताकारले जे प्रश्न गरेका छन्, त्यसमा केन्द्रित नभएर त्यो प्रश्नलाई टेकेर प्रश्नको सन्दर्भ र प्रसङ्ग बाहिर बहकिएर उत्तर दिएका छन् । उनले तत्समयमा अभिव्यक्त गर्न चाहेको कुरा अभिव्यक्त गरेका छन्, न कि अन्तर्वार्ताकारले सोधेको प्रश्नको जवाफ मात्र । तर पाठकलाई भने यसले फाइदा नै पुगेको छ । अन्तर्वार्ताकारले सोधे नसोधेको भन्दा पनि साकारको अनुभव, विचार, संस्मरण र उनले गरेका अध्ययनका पक्षहरू त्यहाँ झल्किन्छन्, झुल्किन्छन् । सम्भवतः यसो नभएको भए यति प्रश्नको उत्तरले सिङ्गो पुस्तकको आकार लिंदैनथ्यो ।

समग्रमा भन्नुपर्दा जे जस्ता कमजोरी देखिए पनि यो अन्तर्वार्ता पुस्तकले साकारको साहित्य लेखन, उनका चरणबद्ध साहित्य यात्रा, त्यस यात्राका उनका समकालीन साहित्यकारहरू, तिनका आनीबानी र चरित्र, उनी संलग्न साहित्यिक आन्दोलनहरू एवम् उनका अनुभव र विचारहरू बुझ्ने अवसर मिल्दछ । यो यस पुस्तकको उपलब्धि हो । यसका त्रुटिहरू मनन गरेर अर्को संस्करणमा तिनलाई अद्यावधिक गर्ने अवसर छँदैछ ।

लस भेगास, अमेरिका ।