
टिकु क्षेत्री नेपाली गीत-संगीत क्षेत्रका एक प्रतिभाशाली गीतकार हुनुहुन्छ । विसं १९७९, मंसीर भूटानमा जन्मिनुभएको उनी हाल अमेरिकाको आयोहा राज्यको डिमोइन शहरमा बसोबास गर्नुहुन्छ । उहाँका गीतहरू लाखौं नेपालीको मन छुने प्रवृत्तिका छन् ।
क्षेत्रीको बाल्यकाल निकै चुनौतीपूर्ण रह्यो । भूटान सरकारले विसं १९९० मा करीब एक लाख नेपाली भाषीलाई देशनिकाला गरेपछि उनी परिवारसहित नेपाल आउन बाध्य हुनुभयो । आफ्नै भूमि र सम्पत्ति त्यत्तिकै छोडेर ज्यान जोगाउन नेपाल छिर्नु परेको त्यो दिन अझै उहाँलाई झलझली याद आउँछ।
नेपाल आएपछि उहाँले अधिकांश समय झापाको बेलडाँगी–२ शरणार्थी शिविरमा बिताउनुभयो । त्यहाँको कठिन जीवनबारे उनी भनुहुन्छ, “नेपालीमा एउटा उखान छ, कुरूप भए पनि आफ्नी आमा सधैं सुन्दर हुन्छिन् । हामीले नचाहँदा नचाहँदै जन्मभूमि छोड्नुपर्यो, तर ती यादहरू चलचित्रका दृश्य झैं अझै आँखामा झलझली आउँछन् ।”
सन् २००९ मा संयुक्त राष्ट्रसंघको शरणार्थी पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका पुनर्स्थापित हुनुभएका उहाँ प्रवासमा रहेर पनि नेपाली गीत-संगीतको सेवा गरिरहनु भएको छ ।
साहित्यपोस्टका लागि अर्जुन प्रधानले गीतकार टिकु क्षेत्रीसँग लिनुभएको संक्षिप्त अन्तर्वार्ता :
तपाईंको लेखन यात्रा कसरी शुरू भयो ? के कारणले गीत लेख्न प्रेरित गर्यो?
– मेरो लेखन यात्रा शरणार्थी शिविरमा बिताएको कठिन जीवनबाट शुरू भयो । त्यही भोगाइ र अनुभवले मलाई धेरै कुरा सिकायो । विद्यार्थी जीवनदेखि नै म नाटक लेख्न थालिसकेको थिएँ । पछि, किरण गजमेर, गीतकार दीपक दशनामी, र नेपाली गीत-संगीत क्षेत्रका अब्बल गायक-गायिकासँग मेरो पहिलो एल्बम ‘समृद्ध’ मा सहकार्य गर्ने अवसर मिल्यो । परिवारको साथ र सहयोगबिना यो सांगीतिक यात्रा सम्भव हुने थिएन । आज उनीहरूको सहयोगले म केही शब्दहरू लेख्न सक्षम भएको छु ।
म्युजिक भिडियोको निर्माण प्रक्रियामा तपाईंको संलग्नता कस्तो हुन्छ ?
– जुनसुकै काम वा निर्माण प्रक्रियामा प्रत्यक्ष रूपमा संलग्न हुन पाउनु महत्त्वपूर्ण हुन्छ । तर, अमेरिकामा बसेर नेपालमा म्युजिक भिडियो निर्माण गर्दा फोनकै भरमा काम गर्नुपर्ने भएकाले चुनौतीहरू आउँछन् । अमेरिकामा रात हुँदा नेपालमा दिन हुन्छ, जसले गर्दा कहिलेकाहीँ मीठो निद्रासमेत त्याग्नुपर्छ । यदि प्रत्यक्ष रूपमा उपस्थित भएर काम गर्न पाएको भए अझ राम्रो निर्माण गर्न सकिन्थ्यो कि भन्ने लाग्छ ।
आगामी योजनाहरू के छन् ? तपाईंले अब के कस्ता नयाँ कृति पस्कने योजना बनाइरहनुभएको छ ?
– गीत लेखन निरन्तर जारी छ । हालै ‘समृद्धि’ एल्बमबाट ‘I Don’t Care’ बोलको गीत दर्शकमाझ ल्याउने तयारीमा जुटेका छौं । यो गीतलाई पनि मेरा अन्य गीतहरूझैं दर्शक-श्रोताले माया गर्नेछन् भन्ने आशा छ ।
वरिष्ठ गायक-गायिकासँगको सहकार्य गरिरहनु भएको छ, उनीहरूसँग काम गर्दाको अनुभवलाई कसरी वर्णन गर्नुहुन्छ ?
– नेपाली गीत-संगीतका धरोहर वरिष्ठ गायक-गायिकासँग काम गर्ने अवसर पाउनु नै ठूलो भाग्यको कुरा हो । नेपाली संगीतमा भर्खर सिक्दै गरेको व्यक्तिको शब्द-रचनामा यस्ता महान् कलाकारहरूले स्वर दिनु मेरा लागि अमूल्य उपहार हो । मेरो शब्दलाई न्याय गर्दै उहाँहरूले स्वर दिनुभएको छ । म यही अन्तरवार्तामार्फत उहाँहरू सबैलाई अन्तरहृदयबाट धन्यवाद दिन चाहन्छु ।
तपाईंले रचना गर्नुभएको गीतहरूमा कुन-कुन गीत तपाईंलाई सबैभन्दा प्रिय छन्, र किन ?
– आफ्ना सिर्जना सबैलाई प्रिय लाग्छन् । एउटा सन्तान जन्माउनु र एउटा कृति निकाल्नु उस्तै हो भन्ने भनाइ सत्य लाग्छ । तर, मेरा सबै गीतहरूमध्ये ‘समृद्ध’ एल्बमका ‘एउटै मुटु’ र ‘पल-पल’ बोलका गीतहरू मलाई सबैभन्दा प्रिय छन् । सम्भवतः यो मेरो पहिलो एल्बम भएकाले होला, यी गीतहरू मेरो मात्र होइन, सम्पूर्ण नेपाली गीत-संगीतप्रेमीका मन-मुटुमा बस्न सफल भएका छन् ।
टिकु क्षेत्री सानैदेखि गीत-लेखन र नाटकमा रुचि राख्थे। हालसम्म उनका २६ भन्दा बढी गीत रेकर्ड भइसकेका छन् । उनका चर्चित गीतहरूमा ‘एनी प्रब्लम’, ‘एण्ट्री हुँदैन’, ‘एउटै मुटु’ र ‘सान नानी’ रहेका छन् ।
उनका गीतहरू समृद्ध, समृद्धि, शीर्ष जस्ता एल्बममार्फत बजारमा आइसकेका छन् । उनका गीतहरूमा स्वरूपराज आचार्य, आञ्जु पन्त, शिव परियार, कमल रसाइली, प्रताप दास जस्ता चर्चित गायक-गायिकाले आवाज दिएका छन् ।
टिकु क्षेत्री नेपाली संगीतको श्रीवृद्धिमा अझ बढी योगदान पुर्याउने योजनामा छन् । उनी भन्छन्, “जबसम्म एक मुठी सास रहन्छ, तबसम्म नेपाली गीत-लेखनमा समर्पित रहनेछु ।” उनले भविष्यमा अझ उत्कृष्ट गीतहरू सिर्जना गर्ने लक्ष्य राखेका छन् ।
नेपाल र प्रवासमा रहेका नेपालीहरूका लागि टिकु क्षेत्रीका गीतहरूले सधैं विशेष स्थान ओगट्नेछन् । उहाँका गीतहरू युट्युबमा उपलब्ध छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

