प्रिय पाठक ! आजभन्दा करिब १६ वर्ष अगाडि वि.सं. २०६० मा नेपाली साहित्य समालोचनाको क्षेत्रमा विद्यमान सुत्रपरक प्राध्यापकीय शैली, प्रभावपरक शैली, विवरणात्मक शैली र जीवनीपरक शैलीको विपक्षमा सृजनशील सिद्धान्तपरक पठनमार्फत सैद्धान्तिक एकाइहरूबाट पाठ्यकृतिको विश्लेषण गर्नुपर्ने मान्यतासहित सैद्धान्तिक र प्रायोगिक समालोचनाको प्रस्ताव लिएर चक्रव्यूह सञ्चेतना (Labyrinth Conscience) आन्दोलनको प्रारम्भ भएको हो । हामीले यो शैलीको प्रायोगिक समालोचना अभ्यास गर्दै आइरहेका छौँ ।

वि.सं. २०५९ सालमा यो पंक्तिकारले त्रिभुवन विश्वविद्यालय अङ्ग्रेजी केन्द्रीय विभागबाट स्नातकोत्तर तहमा डायस्पोरिक चेतनाकै सेरोफेरोमा आफ्नो शोधपत्र तयार गरेको थियो । श्रृलङ्काली मूलका क्यानेडेली लेखक माइकल ओन्दाजेको सन् १९९२ मा प्रकाशित उपन्यास द इङ्लिस पेसेन्ट (बिरामी अङ्ग्रेज) माथि विश्लेषण गर्दै कसरी त्यस उपन्यासभित्रका पात्रहरू अल्म्यासी (हङ्गेरियन), हाना (क्यानेडेली), काराभागियो (क्यानेडेली) र किर्पाल सिंह (भारतीय) संस्कृतिहरूको सिमानामा अल्झिएका छन् भनेर उनीहरूको आप्रवासी जीवनका उभयमुखिता, सांस्कृतिक नक्कलवाजी, राष्ट्रियता विशेष माथिको दाबी त्यागजस्ता कुराको उद्वोधन गरिएको थियो । यसरी नै वि.सं. २०५९÷२०६० सालमा एच.वि.भण्डारी र सुरेश हाचेकालीले डायस्पोरिक साहित्यको विषयलाई त्यो समयमा रेडियो नेपाल, रेडियो सगरमाथा, एच.वि.सी एफ.एम.जस्ता रेडियोका साहित्यिक कार्यक्रममार्फत चर्चामा ल्याएका थिए । यस बाहेक साहित्यकारहरूको परिधिमा व्यक्तिगत रुपमा पनि हामीले यस बारे चर्चा र बहस गरेका थियौँ ।

सुरेश हाचेकाली

साझा प्रकाशनबाट प्रकाशित हुने गरिमा पत्रिकाका तत्कालीन सम्पादक गोपाल पराजुलीसँगको एच.बि. र मेरो नियमित भेटघाट र अनौपचारिक छलफलमार्फत हामीले उहाँलाई डायस्पोरिक साहित्यका बारेमा सुसूचित गराउन थालेपछि उहाँकै चासो, अगुवाइ र सम्पादनमा वि.सं. २०६१ कार्तिक महिनामा गरिमाको बेलायत विशेषाङ्क निस्कियो । यो विशेषाङ्कमा प्रकाशित लेख रचनाहरूमा नेपाली डायस्पोराका विभिन्न अनुभूतिहरू समेटिएका छन् । तर सबै लेखरचनामा डायस्पोरिक चेतना भने पाइदैन ।

हाल आएर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाली साहित्य विकास परिषद, नेपाली प्रतिभा प्रतिष्ठान लगायत अनेक डायस्पोरामा रहेका संस्थाहरू नेपाली डायस्पोरिक साहित्यको विकासमा लागेका छन् ।

हाम्रो समालोचना परियोजना अन्तर्गत हामीले २०६१ सालमा आन्तरिक डायस्पोरा र बाह्य डायस्पोरा भनेर वर्गीकरण समेत गरेका थियौँ । जस अनुसार कवि तथा गीतकार भूपाल राईका कवितामा आन्तरिक आप्रवासी चेतनाको अन्वेषण गरेका थियौँ । सो लेख साझा प्रकाशनको साहित्यिक मासिक गरिमाको २६१ औं पूर्णाङ्क २०६१ भदौमा प्रकाशित भयो । यसैगरी वि.सं. २०७० मा प्रकाशित हाम्रो आफ्नै लामो कविता चक्रव्यूह नगरमा अभिमन्यूमा आन्तरिक आप्रवासी चेतनाको सृजनात्मक प्रयोग गरिएको छ । यसैगरी अमेरिकी डायस्पोराका लेखकहरू होमनाथ सुवेदीको उपन्यास यमपुरीको महल र गोविन्द गिरी प्रेरणाको कथासङ्ग्रह गुडबाइ अमेरिकाभित्र कसरी बसैँयारी चेतना (Migrant Consciousness) निर्वाह भएको छ भनेर गरिएको विश्लेषण साहित्यिक अर्धवार्षिक मोलुङ मञ्जरीको पहिलो अङ्कमा बि.सं. २०६७ मा प्रकाशित छ ।

डायस्पोरा विषयलाई नेपाली साहित्यमा स्थापित गर्नका लागि यो क्षेत्रमा महत्वपूर्ण अभियानमार्फत योगदान गर्ने व्यक्तित्वहरू छन् । अग्रज साहित्यकार तथा समालोचक गोविन्दराज भट्टराईले नेपाल भित्र र नेपाल बाहिरका डायस्पोरामा यसको उन्नयनका लागि गरेको योगदान सदा स्मरणीय छ । अमेरिकी डायस्पोराका साहित्यकार होमनाथ सुवेदी तथा बेलायती डायस्पोराका लेखक तथा साहित्यिक अभियन्ता रक्ष राई तथा मिजास तेम्बेको प्रयत्न पनि सराहनीय रहेको छ । यी साहित्यिक पात्रहरूले डायस्पोराको सैद्धान्तीकरणमै योगदान पुर्याएका हुन् । उनीहरूका यस विषयसँग सम्बन्धित पुस्तकहरू नेपाली साहित्यको डायस्पोरा खण्डका प्रारम्भिक दस्तावेजको रुपमा भविष्यमा झन् बढी प्रेरक, सूचनामूलक र आदरपूर्ण भएर रहनेछन् ।

यो समालोचकीय लेखमा हामीले विश्लेषण गर्न लागेका कविताहरूमध्ये कतिपय पुस्तकभित्र, कतिपय प्रिन्ट पत्रपत्रिकाभित्र र कतिपय अनलाइन पत्रिकाभित्र रहेका होलान् । अझ कतिपय कविताहरू त अप्रकाशित रुपमा पनि हामीसम्म आइपुगेका छन् । कोभिड १९ को विश्वव्यापी महामारीकाबीच तयार गरिएको यो लेखमा समाविष्ट सबै कविताहरूको सफ्टकपी हामीसँग सुरक्षित रहेको छ र रहनेछ । यो लेख निश्चय पनि नेपाली डायस्पोराका सबै कविहरूका कविताको अध्ययन होइन । हाम्रो सम्पर्कसुत्रमार्फत पहुँचभित्र भएका २३ जना कविहरूका ३/३ वटाका दरले कविताहरू लिने सैद्धान्तिक निक्र्यौल भए पनि यो सम्पूर्ण रुपले लागू हुन सकेको छैन । यसको प्रमुख कारण डायस्पोरिक विषयसँग मात्र जोडिएका कविता हुनुपर्ने भएकोेले हामीलाई उपलब्ध कतिपय कविका कतिपय कवितामा यो विषयवस्तु निर्वाह नभएको पाइयो । डायस्पोरा शब्द निश्चय पनि हाम्रो सन्दर्भमा नयाँ विषयक्षेत्र भएकोले यसको सैद्धान्तिक ज्ञान विस्तारित हुन समय लाग्नु अस्वभाविक होइन । ‘रिइभ्यालुएटिङ डायस्पोरा’ भन्ने लेखमा रोजा सागारौसिआनौले बेर्तोबेकको भनाइलाई लिएको पाइन्छ, “डायस्पोरा शब्द अति प्रयुक्त तर न्यून सैद्धान्तिक भएको छ” (१०३, सोसियोलोजी…) ।

यो विश्लेषण परियोजनामा लिइएका २३ जना कविहरूमध्ये १७ जना पुरुष कवि र ६ जना महिला कवि परेका छन् । लैङ्गिक हिसाबको यो असन्तुलन आगामी दिनमा महिलाहरूकै सशक्त उपस्थितिले घट्दै जानेछ भन्ने आशा गरौँ । जे होस् महिला कविहरूको उपस्थिति शक्तिशाली भएर आइरहेको कारण आशाको नयाँ किरण झुल्किएको छ । त्यसैगरी २३ मध्ये बेलायती डायस्पोेराबाट १६ र अमेरिकी डायस्पोराबाट सात जना कवि परेका छन् । यो चयन एकातिर भौगोलिक रुपले सन्तुलित नभएका कारण अन्य कैयौँ डायस्पोराहरू यहाँ आउन सकेनन् । आगामी दिनमा हामी सामाजिक सञ्जालमार्पmत अन्य डायस्पोरासम्म सम्पर्क स्थापित गरी विश्लेषणको दायरा बढाउने छौँ । अहिलेको यो सीमितताका लागि हामी प्रिय पाठक र डायस्पोरिक विषयवस्तुमा लेख्ने अन्य कविहरूसँग हार्दिक क्षमायाचना गर्दछौँ ।

पाठक महोदय ! अब हामी डायस्पोरिक चेतनाको सैद्धान्तिक एकाइबाट कविताहरूको विश्लेषण गर्दछौँ । यो लेखमा ‘डायस्पोरा’ शब्दलाई जनाउने नेपाली शब्द ‘आप्रवासी’ पनि विभिन्न ठाउँमा वैकल्पिक रुपमा समानार्थी हिसाबमा प्रयोग हुनेछ । विश्लेषणका लागि हामीले होमनाथ सुवेदी, रक्ष राई, हरिसिंह थापा, सुरेशजङ्ग शाह, घन बहादुर थापा, गणेश राई, कृष्ण बजगाईँ, दयाकृष्ण राई, कोमल मल्ल, दिपा लिम्बु राई, टङ्क वनेम, सुधा श्रेष्ठ, मिजास तेम्बे, गोवद्र्धन पूजा, दुर्गाप्रसाद पोखरेल, नरेश काङमाङ राई, ऋषि बस्ताकोटी, नम्रता गुरागाईँ, जगत नवोदित, निरा शर्मा, देवेन्द्र खेरेस, नदिया लिवाङ र ईश्वरी कार्की वर्षाका कविताहरू लिएका छौँ । यो डायस्पोरिक समालोचना अनुष्ठानमा तपाईँ पाठकलाई हार्दिक स्वागत छ ।

सर्वप्रथम होमनाथ सुवेदीको कविता ‘मौसम डायस्पोराको’ ले कविताभित्र ‘डायस्पोरा’ शब्दको मुद्धालाई उठाएको छ । आख्यानात्मक शैलीमा लेखिएको सुवेदीको यो कविताले केही वर्ष अघिसम्म नेपाली साहित्यमा ‘डायस्पोरा’ शब्दलाई लिएर हुने गरेको विवाद र झगडालाई उत्तर दिने गरी विषय उठान गरेको छ । ‘डायस्पोरा’ शब्दलाई करिब २००० वर्ष अघि यहुदीहरूको सन्दर्भमा प्रयोग गरिने प्राचीन अर्थलाई समातेर नेपालका केही अनुदारवादी लेखकहरू यसको विरुद्धमा विषवमन गर्दै हिँडेका थिए । हामीले अन्तर्राष्ट्रिय साहित्यको थोरै मात्र अध्ययन गर्ने हो भने पनि त्यस्तो गलतफहमीबाट मुक्ति मिल्छ । हामीले ध्यान दिनुपर्ने अर्को कुरो के छ भने समयक्रममा एउटा शब्दले बहन गर्ने अर्थ पनि बदलिन्छ । प्राचीन कालमा यो शब्दले दिने अर्थ निश्चय पनि वर्तमानमा आएर बिस्तारित भएको छ । ‘डायस्पोरा’ शब्दलाई नेपालीमा अनुवाद गर्ने विषयमा उठेको बहसलाई पनि यो कवितामा उठाइएको छ । हामीले पनि बि.सं. २०६० देखि लेख्न सुरु गरेका समीक्षा÷समालोचनामा आप्रबासीे भन्ने शब्द प्रयोग गरेको कुरो माथि नै उल्लेख गरि सकियो । जे होस्, यो बहसको विषय हुन सक्छ ।

कवि सुवेदीको ‘बाँस’ शीर्षकको अर्को कवितामा बाँसलाई बकन्ते (Speaker) बनाइएको छ । नेपाली भूमिबाट उखेलेर अमेरिकाको पराई भूमिमा लगिएको बाँसको बोटको विम्बमार्पmत आप्रबासी जीवनको कहानी प्रस्तुत गरिएको छ । उनी भन्छन्, ‘पहिचानबिना बाँच्दा आगो लाग्छ पनातिमा ।’ अर्को प्रसङ्गमा सोही कवितामा उनी लेख्छन्–

भाषा बोल्न नजानेरै सुसेलेर कराउँछु
रोए पनि कहाँ सुन्नु शुन्यतामा हराउँछु ।

घरदेशबाट विच्छेदित भएर परदेशमा पुगेपछि आप्रबासीका हैसियतहरू प्रारम्भिक चरणमा प्रायः जसो सुखदबाट दुखदमा परिणत हुन्छन् । सोही कविताको एक हरफ यस्तो छ– ‘ती लिङ्गा बाँसका पुज्थे यहाँ कुचो समान छु ।’ डायस्पोराका नेपाली कविहरूमध्ये कतिपय डायस्पोराको सरकार र राज्यव्यवस्थाप्रति कृतज्ञतापूर्वक नरम देखिन्छन् भने कतिपयले चुनौतीपूर्ण भविष्य इङ्गित गरेका छन् । कवि होमनाथ सुवेदीभित्र कृतज्ञताको भाव बढी देखिन्छ । स्मरणीय कुरा के छ भने एउटै कविभित्र पनि प्रेम र घृणाको उभयमुखी स्वर समवेत रुपमा पाइन्छ । उनी ‘अनेक डायस्पोरा’ कवितामा लेख्छन्–

हाेमनाथ सुवेदी

पसेका जतिले पाए, पाउँदैछन्
प्राकृतिक अधिकार बराबर
स्वतन्त्रता मूर्तिको देश ।

यो कविताामा उनले देवकी–यशोधरा–कृष्णको महाभारतीय मिथकलाई सान्दर्भिकिरण गर्दै आफ्नो डायस्पोरा अस्तित्वलाई कृष्ण, आश्रयभूमि अमेरिकालाई यशोधरा र गृहभूमि नेपाललाई देवकीको रुपमा उभ्याएका छन्–

द्वैध चिन्ता यही हो –
देवकी र यशोधरामा
विभाजित किन भइयो होला ?

उनको द्वैधताको प्रकटिकरण यो हरफमा झन् तीब्र रुपमा भएको छ– ‘नयाँ पुरानो दुवैतिर ममता हुन्छ यो छाती छातीमा ।’
‘डायस्पोरा’ शीर्षकको कवितामा उनी आप्रवासी उनी आप्रवासी अस्तित्वको सीमान्तकृत हैसियतका बारेमा यसो भन्छन्–

अर्काको राष्ट्रमा कष्ट नर्कभन्दा सयौँ गुना
जातीय भिन्नता चर्को सीमान्तीकृत कल्पना ।

एकातिर भिन्नता र भेदभादको कुरो उठाउने कवि अर्कोतिर आश्रयभूमिको एक अर्थमा देवत्वकरण गर्छन् । यसले के देखाउँछ भने आप्रबासी मनोवैज्ञानिक रुपले दोहोरो भूमिको आकर्षणमा बाँचेका हुन्छन् । यो आप्रबासी चरित्र हो । उनी लेख्छन्–

पयास्विनी वासिङ्गटन डिसीले
अनेक डायस्पोरालाई दुध पिलाएकी छिन् ।

यसपछि हामी बेलायती डायस्पोराको कवि तथा डायस्पोरा सिद्धान्तका एक चिन्तक रक्ष राईको कविता विश्लेषण गर्ने क्रममा छौँ । विलियम स्याफ्रोनले ‘द जेविस डायस्पोरा इन अ कम्पेयरिटिभ एण्ड थेयरिटिकल परस्पेक्टिभ’ भन्ने निबन्धमा यसो भनेका छन्, “आप्रबासीहरूको निम्ति गृहभूमि पवित्र ठाउँको रुपमा आदर्शीकृत स्थल हो र जहाँ मात्र उनीहरू भिन्न सांस्कृतिक र÷अथवा धार्मिक समुदायको रुपमा बाँच्न सक्छन्” (३४१, सोसियोलोजी…) । यो भनाइको आलोकमा ‘नयाँ देशबाट’ भन्ने कवि रक्षको कविता हेर्दा बकन्तेले आफ्नो मूलभूमिमा रहेकी आमालाई बेलायत र नेपालबीचको तादात्म्यता देखाउँदै मूलभूमिको आदर्शीकरण गरेको देखिन्छ । उनी लेख्छन्–

आमा !
हजुरको माया नै मेरो देश हो
हजुरको आशिर्वाद नै मेरो नेपाल हो
कहिले त्यो
गुन्द्रुकको कोसेलीमा
मधेश र पहाड उचालिएर आउँछ
कहिले त्यो
किनेमाको पार्सलमा
हिमाल र नेपाल बोकेर आउँछ ।

सोही कवितामा कविभित्रको डायस्पोरा मनले गृहभूमि र आश्रयभूमिबीचका विम्बहरूमा समानता र भिन्नताको स्वरुप खोजी गर्दछ । बेलायतमा विशेष गरी आयरल्याण्डमा आलु प्रसिद्ध खाना हो तर यसलाई नेपालमा कोदोको ढिँडोजस्तै हेयात्मक रुपमा गरीबको खाना मानिन्छ । उनी लेख्छन्–

रक्ष राई

तीनले पनि ढिँडो खाँदोरहेछन्
तर कोदोको होइन आलुको ।

अल्पविकसित देशबाट जब युवाशक्ति आप्रबासीको रुपमा विकसित मुलुकतिर पलायन हुन्छ, त्यसबेला प्रतिभा पलायनको समस्याले सताउँछ । यस्तै भावको कवि रक्षको ‘छोरालाई चिठी’ शीर्षकको कवितामा एउटा बूढो बाबुले सम्भवत आर्थिक रुपमा जर्जर राष्ट्रको प्रतिनिधित्व गर्दैछ । ऊ आफ्नो आप्रबासी छोरोप्रति लालायित भएर उसको आगमन कुरिरहेको हुन्छ । एउटा आप्रबासीलाई उसको घरदेशले पनि कतिपय अवस्थामा दाबी गर्दछ । यो कवितामा पनि गृहदेशको प्रतिनिधित्व गर्ने बूढो बाबु आफ्नो राष्ट्र र संस्कृतिलाई आदर्शीकरण गर्दछ । यो उदाहरण हेरौँ–

के छ त्यहाँ
तेरा सबथोक यतै छन्
तैले ओछ्यान लगाएर मुतेको आमाको गुन्युँ
यतै छ
यता गाईको गहुँत थुकेर गएको थिइस्उता मान्छेको मुत पिउन सिकिस् कि ।

स्वभाविक रुपमा आप्रबासी दोहोरो तानातानको चपेटामा परेको हुन्छ । एकातिर उसलाई घरदेश र परदेशले एकै पटक तानातान गरिरहेका हुन्छन् भने अर्कोतिर ऊ आफैँ विभक्त वफादारी (Divided Loyalty) बोकेर बाँचेको हुन्छ । त्यसैले आप्रबासीलाई खण्डित स्व लिएर बाँचेको व्यक्तित्वको रुपमा परिभाषित गर्ने प्रचलन रही आएको छ । पितारुपी घरदेशले आफ्नो आप्रवासी छोरोमाथि यसरी खबरदारीयुक्त दावी प्रस्तुत गर्दछ–

यता मेरो माटोले तेरो नामको चिहान खनिसक्यो
तेरो देशले तँलाइ विदेशी भनिसक्यो
तेरो नागरिकताले तँलाई अनागरिक बनाइसक्यो
उता पो लड्दैछस् रे नागरिकताको युद्ध ।

आप्रवासीहरू परादेशीय पहिचान (Transnational Identity) बोकेर बाँचेको हुन्छन् । जरोको रुपमा उनीहरू गृहदेशको माटोमा जोडिएको हुन्छन् भने लहरोको रुपमा उनीहरू परदेशमा झाँगिएका हुन्छन् । गृहदेशले दावी गर्नासाथ उनीहरू फर्किहाल्दैनन् । आफ्नै परदेशी तानावानामा अल्झिएको आप्रवासी छोरोलाई पिताको भूमिकामा रहेको गृहदेशले कवि रक्ष राईमार्फत यसरी भावुकतापूर्ण सम्वाेधन गर्दछ–

थाहा छ ? पोहोर साल
तेरी आमालाई त्यही चुवाको फेदमा राखेँ
र तेरी आमालाई चुवाको रुख बनाएर फर्किएँ
अब हरेक साल
तेरी आमा त्यही चुवाको रुखसँगै फुल्छे
त्यही चुवाको फूलको सुवाससँगै गाउँ डुल्छे
कथम्कदाचित् फर्किहालिस् भने तैँले
त्यही चुवाको रुखलाई ढोग्नू
त्यही चुवाको रुखलाई आमा भन्नू ।

कवि हरिसिंह थापाका कवितामाथि चर्चा गर्ने क्रममा यसो भन्न सकिन्छ– पहिलो पुस्ताको आप्रवासी र दोस्रो पुस्ताको आप्रवासीबीच रुची र जीवनशैलीमा ठूलो पार्थक्य देखिन्छ । पहिलो पुस्तालाई आफ्नो मूलभूमिप्रति नमेटिने लगाव हुन्छ । भूगोलबाट र समयबाट टाढिँदै गएपछि यसको स्मृति झनै अभिघातपूर्ण हुँदै जान्छ । ‘लण्डन घुमी हेर्दा’ शीर्षकको कवितामा उनी लेख्छन्–

नेपालजस्तो सुन्दर देश कहीँ लाग्दैन मलाई
कोही गोराले सोधी हाले भन्छु बढाइचढाई
थेम्स देख्दा बागमतीको झल्को लाग्छ मलाई
मजबुरीले बस्नु पर्याे मनै कल्पाइकल्पाई

हरी सिंह थापा

नवभूमिमा पुगेपछि पहिलो पुस्ताका आप्रवासीहरू आफ्ना सांस्कृतिक धङ्धङतीहरूप्रति बढी नै सचेत हुन पुग्छन् । उनीहरूलाई नौलो संसारको प्रथा, प्रचलन, व्यवहार पद्धति र युवा पुस्तामा विकास भइरहेको सामाजिक व्यवहारले संस्कृति क्षोभ (Culture Shock) हुन्छ । पहिलो पुस्ता र दोस्रो पुस्ताका आप्रबासीबीच जीवनशैलीका बारेमा घरपरिवारदेखि नै द्वन्द सृजना हुन्छ । यो कुरा हरिसिंह थापाको ‘बेलायती पुत्ला’ शीर्षकको

कवितामा यसरी प्रकट भएको छ–
बाबुआमाले गाली गरे घरै छोड्ने धम्की
पश्चिमाको स्वतन्त्रताले छोराछोरी सन्की
अठारका मुनि सानै विदेशको कानून
यी अल्लारे टिनेजमा जिन्दगी के जानुन् ।

कवि सुरेशजङ्ग शाहका कवितामा गृहभूमितिरको निरन्तर अभिमुखिकरण पाइन्छ । जेनस कविताको जस्तो आप्रवासीको मुख मूलभूमि र आप्रबासीभूमितिर द्विविधामा अभिमुख हुन्छ भन्ने मान्यता रहेको पाइन्छ । उनी मूलभूमि र आश्रयभूमिबीचका संस्कृति र सांस्कृतिक चिन्हहरूको मझधारमा रहेर आफ्नो गृहभूमि संस्कृतिमाथि पटकपटक अनुराग प्रक्षेपण गरिरहेको पाइन्छन् । ‘माटोको प्रश्न’ कवितामा केही हरफहरू हेरौँ–

क्रिसमसको रमझममा
बेलायतका सहरहरू
जति नै सजिए पनि
मेरा आँखाहरूले
रातो सेतो माटोले पोतिएका
मेरै गाउँघर खोजिरहे ।

डायस्पोरिक सरकारले आप्रवासीहरूलाई प्रशस्त अधिकारहरू प्रदान गरे पनि आप्रबासीहरूको सांस्कृतिक राष्ट्रवाद आफ्नै मूलभूमितिर फर्किएको हुन्छ । दोस्रो पुस्ता र तेस्रो पुस्तामा यसको घनत्व अवश्य पनि पातलिएर जान्छ तर पहिलो पुस्ताले भने प्रथम विश्वको राजनैतिक र आर्थिक अधिकारहरू उपभोग गरे पनि आफ्नो ममता मूलभूमितिरै पठाउँछन् । ‘एउटा आविष्कार खोजिरहेछु’ शीर्षकको कवितामा कवि सुरेशजङ्ग लेख्छन्–

सुरेशजंग शाह

म मेरो देश
रुसजस्तो होइन
युरोप अमेरिकाजस्तो होइन
धर्म, संस्कृति र सभ्यता बचाएर
विकासको शिखरमा
नेपालजस्तै
रुस भएको
बेलायत वा अमेरिका भएको
उदाहरण म
युरोप पुर्याउन चाहन्छु ।

एक ब्रिटिस डायस्पोरा नेपालीले आफ्नो गृहभूमिमाथि एक छिमेकी राष्ट्रले गरेको भूगोलमाथिको अतिक्रमणलाई वैचारिक रुपले अन्तर्राष्ट्रिय गर्दै परायाभूमिको सरकारसँग हार–गुहार मागेको छ । एउटा परादेशीय नागरिक आफ्नो जराभूमिको रक्षाका लागि व्यग्र रहेको एक उदाहरण कवि सुरेशजङ्गको ‘मलाई दुखेको बेला’ शीर्षकको कविताको तलका पङ्क्तिहरूमा हेर्न सकिन्छ–

फेरि पनि किन
लिपुलेक दुखिरहेछ
लिम्पियाधुरा दुखिरहेछ
कालापानी सुस्ता दुखिरहेछ
मलाई वेस्ट मिनिस्टर अगाडि
थेम्स नदीको पुलमाथि उभिएर
क्विन एलिजावेथको देशलाई
पृथ्वीनारायण शाहको देशबाट
प्रश्न गर्न मन लाग्छ
तिमी किन चुप छौ ?

घन बहादुर थापा

यसै क्रममा आफ्नो गृहदेशको सांस्कृतिक स्पन्दनलाई समातेर आफ्नो नेपाली पहिरन र चिनारीलाई अक्षुण्ण राख्ने चाहना बोकेको कवि घन बहादुर थापाको कविता ‘मेरो चिनो मेरो देश’ भित्रका तलका हरफहरूले सरल भाषामा एृृृउटा मिठो सङ्गति सृजना गरेका छन्–

म मेरो देशको सापेक्ष छु
कुनै पहिरनले मेरो
परिचय मेटाउन सक्दैन
कुनै नियम कानूनले
मेरो चिनारी छिनाउन सक्दैन ।

युद्ध साहित्यका एक अभियन्ता कवि गणेश राईका कविताभित्र प्रवेश गर्नु पूर्व मार्टिन बौम्यानले उनको ‘डायस्पोरा’ शीर्षकको लेखमा उधृत गरेको स्टुआर्ट हलको यो भनाइ उल्लेख गर्नु सान्दर्भिक होला– ‘आप्रबासी पहिचानले आँफूलाई परिवर्तन र भिन्नताद्वारा निरन्तर रुपमा उत्पादन र पुनरुत्पादन गरिरहेको हुन्छ’ (७१, सोसियोलोजी…..) । आप्रबासी पहिचान सधैँभरि सीमान्त अवस्थामै रहिरहँदैन । यो शक्ति सम्बन्धमा कुनै बेला माथि पनि पर्न सक्छ भन्ने आशय हो । गणेश राईका कविताले साम्राज्यवादी परियोजनाको परिणामस्वरुप उसैको भूमिमा विकास भएको बहुसांस्कृतिक जनसङ्ख्या ( Multicultural Demography)र त्यसभित्र स्वाभाविक तवरबाट उत्पन्न भएको रैथाने र आप्रवासी बीचको मिहिन स्वरुपको द्वन्द र त्यसले पूर्व उपनिवेशवादी बेलायती मनोविज्ञानमा सृजना गरेको गोप्य तर गम्भीर भयलाई उठाएका छन् । ‘बदलिएको लण्डन र ज्याकी स्मिथहरू’ कवितामा कवि गणेश लेख्छन्–

गणेश राई

लण्डनको रात्री सडकमा
झलमल्ल प्रकाशले नुहाउँदै
ज्याकी स्मिथ एक्लै
निर्धक्क एक्लै हिँड्न डराइरहेको यो समय
म कुनै अफ्रिकी राष्ट्रमा छु
या भारतीय उपमहाद्वीपमा छु ?

आप्रवासीहरूको पहिलो पुस्ता आँफूलाई नवभूमिमा स्थापित गर्नकै निम्ति अधिकांश समय सङ्घर्षरत हुन्छ भने क्रमशः पछिल्ला पुस्ताहरूले नवभूमिमा आर्थिक, सामाजिक, नागरिक र राजनैतिक अधिकारमाथि आफ्नो दावी प्रस्तुत गर्न थाल्छन् । यो अनिवार्य प्रक्रिया हो, जसलाई समयले निम्त्याउँछ । दिनहरू बित्दै गएपछि आप्रवासीहरूका कारण बेलायती सत्ताको प्रतिनिधित्व गर्ने ज्याकी स्मिथहरूलाई अन्तर्राष्ट्रियवादको नारासँगै बेलायतमा ओइरिएको मानव सागर अबको चुनौती हो । कवि भन्छन्–

अनुहार बदलिएको छ लण्डनको
थपिएको छ अनगिन्ति रङ्गहरूको बहुलता
तन्किएको छ साँघुरो आयतनको सप्तरङ्गी वृत
र फेरिएको छ समाजशास्त्रको पुरानो मान्यता ।

अर्को कविता ‘रिभर अफ ब्लड’मा कविले इनोच पावेल भन्ने एक प्रभावशाली सांसदको मनोविज्ञान टिपेका छन् । पावेल कन्जरभेटिभ पार्टीसँग सम्वन्धित छन् । उनको दिमागको भित्री भाागमा कविका अनुसार ‘शिशिरजस्तै पहेंलिदै गएको उपनिवेशवादी विचार’ छ । उनी रङ्गभेदी विचार बोकेको बेलायती गोरे नेता हुन् । उनी पुरानो उपनिवेशवादी बेलायती खान्दानलाई प्रतिनिधित्व गर्दछन् । आाफ्नै घरको बहुरङ्गी फूलबारी हेरेर पनि उनी रङ्गभेदी विचारका बाहक हुन् । यहाँनिर ठूलो व्यङ्ग्य छ । उनी आप्रवासीहरूको आसन्न सम्भावित शक्तिबाट त्रसित छन् । गोराहरूको श्वेत भूमिमा अश्वेत आप्रवासीहरूले शासन सत्ताको बागडोर सम्हाल्नेछन् भन्ने गोप्य भयले यी सांसद अत्तालिएका छन् । एक उदाहरण हेरौं–

आफ्नै घरको
बहुरंङ्गी फूलबारी हेर्दाहेर्दै
उमारेको रङ्गभेद विचार
रोप्नुछ श्वेत राष्ट्रको
सुर्यस्त हुँदै गरेको सभाहलमा
कि कमनवेल्थ राष्ट्रका हजारौं आप्रवासीहरू
केवल समस्या गर्भाधान गर्ने आमाशय हुन्
जहाँबाट जन्मिने छ
श्वेत माटोको आँगनको
एउटा कुनामा बेनाम अश्वेत मान्छे ।

लाखौंको संख्यामा रहेका आप्रवासीहरूको श्रम, पसिना र त्यागले प्रथम विश्व बनेको हो । लामो समयसम्म आप्रवासीहरूले नवभूमिमा नागरिकोचित व्यवहार पाएका हुँदैनन् । यिनीहरू त्यो देशका नागरिक भन्दा पनि अनागरिक महानागरिक हुन् भन्दै कविले ती आप्रवासीहरूको स्वरुप भोलिका दिनमा पुनरुत्पादित हुने आशय व्यक्त गरेका छन्–

रङ्गीचङ्गी रैथाने फूलवारी स्याहार सम्भार गर्न
यो ज्यानको नशाजस्तै जताततै नहर खन्न
अथवा रेलको यात्रा जहीँतहीँ पुर्याउन
कानुनसम्मत ल्याइएका ती परिश्रमी मान्छेले
के मात्र गरेनन् इनोच पावेलको देशलाई उकास्न ।

श्रद्धेय पाठक ! कविता विश्लेषणमा अबको पालो कवि कृष्ण बजगाईंको परेको छ । आश्रय भूमिमा आप्रवासीहरूलाई पूर्ण दर्जाको नागरिकको रुपमा व्यवहार नगरेर दोश्रो दर्जाको नागरिकको रुपमा अथवा अनागरिकको रुपमा व्यवहार हुन्छ भन्ने कुराको अनुभूति स्वयं आप्रवासीहरूले गर्दछन् । उनीहरूको श्रम प्रिय हुन्छ तर उनीहरूको उपस्थिति प्रिय नहुने विडम्बनालाई कवि बजगाईंले ‘विदेश र पसिना’ भन्ने कवितामा यसरी व्यक्त गरेका छन्–

कृष्ण बजगाईं

मग्मगाउँछ पसिनाको गन्ध
तिमीले रोपेको फसलबाट
किन ठस्स गन्हाउछ हँ
विदेशीलाई तिम्रो पसिना ?

अनेक डायस्पोरामा रहेका नेपालीहरूको सबैको कथा एकनासको हुन सक्दैन । एउटै डायस्पोराभित्र पनि आ–आफ्नो स्थिति, कार्यक्षमता र कार्यशालाको वातावरणअनुसार कामदारले फरक फरक प्रकारको अनुभूति सँगालेका हुन्छन् । तेस्रो विश्वबाट विकसित देशमा श्रम बेचेर आर्थिक उपार्जनको लागि पुगेका कामदारहरू यन्त्र सरह घडीको सुइसँगै घुम्न बाध्य हुन्छन् । उनीहरूको व्यस्त र प्राविधिक जीबनशैलीभित्र गृहभूमि फर्कने उत्कट अभिलाषा रहेको हुन्छ । ‘समय र घडी’ शीर्षकको कविताको एक अंश हेरौँ–

ती शिविरमा मान्छेहरूको
कसैसँग प्रेम छैन
मात्र छिनछिनमा हेरिरहन्छन्
आफ्ना प्रिय घडीमा
कैद भुक्तानको समय
र घरदेश फर्कने दिन ।

पुँजीवादी आधुनिकीकरणको माहोलसँगै परादेशीय बसाइँसराइँ (Transnational Migratioon) गुणात्मक गतिमा बढेर गयो । फलतः दिनानुदिन डायस्पोराहरूको सङ्ख्या बढिरहेको छ । भावनात्मक संलग्नताको विषयलाई लिएर हेर्ने हो भने डायस्पोराहरूमा एक प्रकारको अनिर्णित द्वुविधा प्रायः सधैं कायम रहन्छ । कवि बजगाईँँको माथि चर्चा गरिएका हरफमा गृह–अनुराग छचल्किएको छ भने ‘ग्लोवल भिलेज’ शीर्षकको कवितामा राष्ट्रिय सिमानाहरू पार गरेर वैश्विक नागरिकताको चेतनाको उदय भएको पाइन्छ । आफैंभित्रको विरोधाभाष व्यक्तिको रूपमा आप्रवासीको दोष होइन, यो आम आप्रवासी चरित्र हो । तलको उदाहरण हेरौं–

म वैश्विक नागरिक
मेरो देश – विश्व
मेरो धर्म– मानवता
वसुधैव कुटुम्बकम् ।

कवि दयाकृष्ण राईको हामीले यहाँ विश्लेषणका निम्ति लिएका कवितामा बेलायतले दिएको आश्रयभूमिप्रति कृतज्ञता जाहेर गरिएको छैन बरु भूतपूर्व साम्राज्यवादी शासनलाई दुत्कार्दै उसको निरन्तररुपमा खस्कँदो शक्ति र सौर्यको ब्याख्या गरिएको छ । यो विषयमा हामीले अलि पहिले चर्चा गरेका गणेश राई र अहिले चर्चा गरेका कवि दयाकृष्ण राईको ‘स्ट्याण्ड’ समान देखिन्छ तर यी दुवै कविले आफ्ना छुट्टै कवितात्मक शैलीको प्रयोग गरेका छन् । बेलायती होष्टल्याण्डलाई चुनौती दिने कवि दयाकृष्णले उनीहरूको कहिल्यै सूर्य अस्त नहुने भनिएको देशले सोह्रौं÷सत्रौं शताब्दीतिर हत्केलामा सूर्य खेलाए पनि अव एक्काइसौँ शताव्दीमा सूर्य उनीहरूको बशमा नभएको बताउँदै पाश्चात्य सभ्यतासँग मानवता उद्धार गर्ने क्षमता नभएको आशयसहित कवि ‘के दिन सक्छौं नयाँ कुरा’ शीर्षकको कवितामा यसो भन्छन्–

दयाकृष्ण राई

तिम्रो साम्राज्य गुमेको मानसिक तनावले
नपुङ्सक भएको महसुस भएर
उर्जा चाहिएमा
हिमाली भियाग्रा
यार्चागुम्बु दिन सक्छौं ।

आधुनिक बेलायती कवि तथा समाालोचक टि.एस. इलियटले आफ्नो द वेष्टल्याण्ड भन्ने लामो कवितामा अव मानवता र प्रकृतिको रक्षाका निम्ति हिमालय क्षेत्रको प्राचीन सभ्यतातिर फर्कनु पर्ने भनेर व्यक्त गरेको प्रष्ट आशयको झल्को कवि दयाकृष्ण राईको यो कविताले पनि दिन्छ । उनको अर्को कविता ‘फलानो गाउँ जाने बाटो सोधिरहेका गोर्खालीहरू’ मा नेपाललाई आमा र बेलायतलाई सानीआमा भनिएको छ । आफ्नी आमाभूमि नेपाललाई अलपत्र अवस्थामा छोडेर सानीआमा भूमि बेलायतमा समानता खोज्दै आए पनि आफ्नो खोजले साकार रुप धारण गर्न नसकेको आप्रवासी पीडालाई कविले व्यक्त गरेका छन् । उनी नेपाल आमालाई सम्बोधन गर्दै यसो भन्छन्–

तिम्रै काखमा फर्किएर ढिँडो रोटे खाएर
सन्तोषकै स्वास फेरिरहेका थियौं
बेलायती सानिआमाले फेरि
सुकिसकेको लाम्टा चुसाउछु भनिन्
र हामी बुर्कुसी मार्दै
लाम्टा चुस्न यहाँसम्म आइपुग्यौं
अहिले हामीले सुकेको लाम्टाको त के कुरा
घुँडा सम्म चुस्न पाएका छैनौं ।

कवि कोमल मल्लका कवितामा समेत गृहभूमि र आश्रयभूमिको बीचमा आकर्षण र विकर्षणको चाकाचुली ताल फेला पर्दछ । यो चाकाचुली ताललाई कतिपय अवस्थामा एउटै कविताभित्र त अन्य अवस्थामा विभिन्न कविताको सापेक्षमा पनि हेर्न सकिन्छ । उनको ‘मातृभूमिको आराधना गर्छु’ शीर्षकको कविताको यो अंश हेरौँ–

कोमल मल्ल

शान्ति छैन मलाई यहाँ
हरेक दिन पसिनासँग पौण्ड साट्छु
म दिनमा अङ्ग्रेजी बोले पनि
रातमा म नेपाली बोलेर बाँच्छु ।

यसैगरी उनको अर्को कविता ‘म देश लेख्छु’ ले समेत परदेशमा आप्रवासी जीवन बिताए पनि घरदेशकै स्मृतिमा डुबेको देखाउँछ । एक उदाहरण तल प्रस्तुत छ–

मातृभूमि बोकेर
आफ्नै भेषभुषामा
आफ्नो निधार आँफै रङ्ग्याउदै
चन्द्र सूर्य
फरफर गर्छु नेपाली चाडपर्वहरूमा ।

‘नटिङ्घम, बेलायतको यात्रा’ कवितामा कविले घरदेशको बेथितिमाथि घृणा गर्दै परदेशको थितिमाथि आकर्षण जनाएका छन् । मोटर यात्रामा बेलायत घुम्न निस्केको एक यात्रुलाई बकन्ते बनाएर लेखिएको यो एउटै कविताभित्र माथि भनिएझैं आकर्षण र विकर्षणको चाकाचुली ताल पाइन्छ । उदाहरण हेरौं–

नटिङ्घम, बेलायतको यात्रामा
चक्काजाममा परेंछु
हर्न बजाउन्न कसैले
कोटेश्वर, कलङ्की, चावहिल चोकमा जस्तो यहाँ
यही हो कि विकसित देशको पहिचान ।

यात्राकै क्रममा अलि अगाडि बढेपछि अघिको त्यो झुकाव पुनः हट्छ । पराई भूमिमाथिको आकर्षण विच्छेद हुन्छ र गृहभूमिको पूर्वस्मृतिमा डुब्न सुरु हुन्छ । यात्रा गरिरहँदा ढिंडो र गुन्द्रुक खान पाए हुन्थ्यो भन्ने चाहना प्रकट हुन्छ । प्रमाणको लागि तलको उदाहरण प्रस्तुत छ–

यात्रामा बोतलको पानी पिउनु पर्दा
म जन्मिएको नेपालको डोटी सिलगढीमा
मेरी ममतामयी आमाले
शिर र कम्मरमा
दुई गाग्री अमृत बोकी ल्याउने गरेको
सम्झँदै आँखा भर्न पुग्छु ।

कवि दीपा लिम्बू राईका कवितामा गृहदेश छोडी कहिल्यै नफर्कने गरी धोखेवाजपूर्ण तरिकाले डास्पोरामा रमाइरहेका मान्छेको कथा एकातिर पाइन्छ भने शरणार्थी जीवनका विरक्तलाग्दा दिनहरू बिताइरहेका आप्रबासीहरूको कथा अर्कोतिर पाइन्छ । ‘समुद्र, ध्वस्त छाति र साँझहरू’ शीर्षकको कवितामा दीपाको पात्र साँझको समयमा समुद्रका छालहरूले भिज्दै एक्लै टोल्हाइरहेको छ । सम्भवतः ऊ आफ्नो मातृथलो गुमाएर शरणार्थी जीवन बिताइरहेको एक अन्तर्राष्ट्रिय आप्रवासी हो । उनी लेख्छिन्–

 

दीपा लिम्बु राई

जीवन भोगाइको
अनेकन गुनासोहरू
माटो गुमाउदाको कथा
ग्रिनेट लञ्चरले ध्वस्त भएको
छातिको आँसु
यी यस्तै साँझहरूमा
समुद्रलाई सुनाउदै धुन्छ ।

‘धोखा’ शीर्षकको अर्काे कवितामा सम्भवतः राष्ट्रिय सिमाना नाघेर धेरै टाढा विदेशीभूमीमा पुगेको एउटा मान्छेको कथा छ । जन्मभूमिले सधैंको लागि नफर्किनेहरूबाट आफू धोखामा परेको महसुस गरेको हुनसक्छ । जन्मभूमिको यही गुनासोलाई कविताको बकन्तेले यसरी व्यक्त गर्दछ–

नरोऊ डोल्मा !
अब ऊ फर्कदैन
तिम्रो सुकेटारलाई छोडेर
महत्वकांक्षाको पखेंटा फिँजाउदै
काबेली र तमोर खोला उसले अब त नाघिसक्यो
हो तिम्रो ताप्लेजुङको अभिमानलाई
जरैदेखि हल्लाएर
तिमीलाई धोखा दिएर
उसले नौडाँडा काटी सक्यो ।

कवि टङ्क बनेमका कविताले परदेशको दुःख र चिमोटिरहेको घरदेशको स्मृतिलाई समेटेका छन् । ‘परदेशी यात्रा’ शीर्षकको कवितामा बकन्तेले कोभिड १९ को सङ्कटग्रस्त घडीमा आफ्नो घरदेशको साल्दाइसँग परदेशबाट कुराकानी गर्ने क्रममा आफ्नो मनोवैज्ञानिक भयलाई व्यक्त गरिरहेको छ । उसको मानसले सुरक्षित आश्रयस्थल खोजेको देखिन्छ । उसले अपेक्षा गरेको सुरक्षा भलै घरदेशले पनि दिन नसकोस् तर पनि मनोवैज्ञानिक शान्तिका लागि घरदेश सम्झिरहेको छ । तलको उदाहरण हेरौं–

कवि टङ्क बनेम

ठ्याक्कै यतिखेर
भन्नु हुन्छ भने साल्दाइ
बेलायतमा बसेर
जीवन र मृत्युको एउटा मोर्चा रुँगिरहेको छु
भन्नै सकिन्न
कोभिड १९ का दुश्मनहरूले
कतिखेर आक्रमण गर्ने हुन् ।

‘मरुद्यान मोतिहरू’ शीर्षकको कवितामा बनेमले मजदुरी पेशामा प्रयोग हुने निर्माण सामग्रीहरूको अरबी भाषामा नाम उल्लेख गर्दै मरुभूमिमा जरा गाडेर ठिङ्ग उभिरहेको खजुरको गाछी र छेउको मस्जिदले पनि प्रवासी हुनुको पीडा नबुझिदिएको गुनासो गर्छन् । माथि उल्लेखित खजुरको प्रतीकद्वारा कवि बनेमले यो कवितालाई एउटा छुट्टै आयाम दिन खोजेका छन् । अरबको मरुभूमिमा श्रम गरिरहेको आप्रबासी कामदारको नियतिबारे उनी भन्छन्–

अरु कसैको फाउण्डेसन खन्दै
आफ्नै भाग्यको जग भत्काइरहेका हुन्छौं
अरुलाई खुसी पर्ने निहुँमा
आफ्नै मन रुवाइरहेका हुन्छौं
पसिनाको तेल चुहाएर
मैनबत्ती झैँ बलिरहेका हुन्छौँ ।

कवि सुधा श्रेष्ठ परायाभूमिमा उभिएर आफ्नो गृहभूमिमा भइरहेको राजनैतिक र सामाजिक मूल्यहरूको क्षयीकरणलाई बताउँछिन् । ‘धरती आमाका छोराहरू’ शीर्षकको कवितामा उनी देशभक्ति र स्वाभिमान मर्दै गएको यथार्थप्रति चिन्तित प्रतित हुन्छिन् । एवम् प्रकारले ‘साधारण बस्ती’ शीर्षकको कवितामा प्रतिभा पलायनको बिकराल समस्याले घरदेश पिछडिएको यथार्थ कवि सुधाले प्रस्तुत गरेकी छिन् । उनी लेख्छिन्–
बिदेशका कलकारखाना चलाउने

कवि सुधा श्रेष्ठ

रेष्टुराँ र गोदाममा अनवरत चल्ने यी हातहरू
अरबको तातो रापमा तरतरी पसिना बगाएर
सडक चम्काउने यी पाखुराहरू
अफगानिस्तानको विध्वङ्सकारी क्षेत्रहरूमा खटिएका
यी शाहसी मनहरू
आफ्नै देशका लागि
उपयोग हुन चाहदा पनि विदेशिन बाध्य छन् ।

दार्शनिक शैली र लिम्बू संस्कृतिसँग आफ्ना आप्रवासी अनुभूतिहरू जोडेर कविता लेख्न रुचाउने कवि मिजास तेम्बे युद्ध साहित्य सिद्धान्त र डायस्पोरा सिद्धान्तका अभ्यासकर्ता पनि हुन् । उनको ‘बाजे को हो त्यो नाभो मान्छे’ शीर्षकको कविताले एउटा नयाँ आयामबाट विषय उठान गरेको छ । बाजे (हजुरबा) ले नातिलाई सम्बोधन गरेको नाटकीयताभित्र रहेर लेखिएको यो कवितामा घरदेशभित्रै बसेका बाजेले आफ्ना कर्महरूको ब्याख्या गरेका छन् । यो ब्याख्याले पूर्वी पहाडको लिम्बू बस्तीभित्रको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय पहेलीलाई समेटेको छ । हजुरबा मूलभूमिमै जीवन बिताएका रैथाने हुन् भने नाति डायस्पोराबाट पितृभूमि÷आदिमभूमि (Atavistic Land) खोज्दै आएको एउटा नाभो अस्तित्व हो । एउटा लोपोन्मुख तर साह्रै सुन्दर शब्द नाभोलाई मिजासले सम्भवतः नेपाली कवितामा पहिलो पटक प्रयोग गरेका छन् । ‘नाभो’ शब्द अन्नका सन्दर्भमा प्रयोग हुन्छ । योजनाबद्ध तरिकाले अथवा योजनामुताबिक रोपेको वा छरेको नभई कतै टाढा एक्लै उम्रेको फसलको बिरुवालाई नाभो भनिन्छ । यो विशुद्ध गाउँले कृषि बिम्ब हो । नाभो शव्दको यो सुन्दर प्रयोगले कविताभित्र परिचर्चाको एउटा विशेष ‘स्पेस’ उपलब्ध गराएको छ । कविताको अन्ततिर बाजे यसो भन्छन्–

मिजास तेम्बे

त्यस्तो संसार
सारा मुलुक
देश बिदेश डुलेर पनि
यही बिन्दुमा
यही साँघुरो आँगनमा
भत्कनै लागेको घरमा
खिरिखिरि घुम्दै घुम्दै आइछस् फेरि
मूल खोज्दै खोज्दै
बंशावलीको लहरोमा झुण्डिदै झुण्डिदै
आखिर मैले त चिनिन हाउ तँलाइ,
तँ नाभो होलास्
कुनै बंशको,
नाति !

बाजेको शरीर यही माटोबाट उत्सर्जित भएको हो । उनको ‘अटोच्थोनस’ कायालाई यहाँको प्रकृति र यसका अवयवहरूले भित्रै बाहिरै चिनेका छन् । आफ्नै रैथाने भूगोलमा उनलाई न समाजसँग न प्रकृत्तिसँग पहिचानको संकट छ । कविताका बाजे यसो भन्छन्–

ऊ माथिको पाथिभरा माङ्थानले जोगाएको छ अनिष्ट हुनबाट हामीलाई
घरभित्र मूल खम्बा छ
युमा छन् बिराजमान
मेरा पिता पुर्खा यहीँ नै बस्तै आएका हुन् उहिल्यै उहिल्यैदेखि
अनि कस्ले भन्छ मलाई, तँ को होस् भनेर
मैले त यी पाखा पखेराका
माटो, ढुङ्गगा, पानी र हावालाई
मेरो हो भन्नै पर्दैन
यिनले त बरु यो मान्छे मेरो हो भन्छन् ।

कवि तेम्बेले मूलभूमिभित्र पनि लिम्बू समुदायका पाथिभरा माङ्थान, मूलखम्बा, युमाजस्ता सांस्कृतिक प्रतीकहरू प्रयोग गरेर आफ्नो गृहभूमि र गृह–संस्कृतिप्रतिको लगावलाई प्रष्ट्याएका छन् ।

प्रशान्त महासागरको एक छेउमा उभिएर नुनिलो पानी छोइरहेको एक व्यक्ति (सम्भवतः आप्रवासी) का अनुभूतिहरूलाई त्यो विरानो मुलुकमा कसले बुझिदिने भन्ने आशय व्यक्त गर्ने मिजासको अर्को कविता ‘बर्को ओढेर छालहरू’ले आप्रवासीहरूको अभिव्यक्ति सङ्कथनलाई बुनेको छ–

ए शब्द
के तिमी उसको भावना बोक्न सक्छौ ?
ए वाक्य
के तिमी अनुभव प्रसारण गर्न सक्छौ ?
ए भाषा
उसको अनुभूति अभिब्यक्त गर्ने सामाथ्र्य छ तिमीसँग ?

‘सलाम गजबहादुर’ शीर्षकको कवितामा कवि तेम्बेले साम्राज्यवादी परियोजनालाई बिस्तार गर्न र बलियो बनाउन खडा गरिएको ब्रिटिस गोर्खा सेनाले पराई भूमिमा आतङ्कवादलाई चुनौती दिदै लड्ने क्रममा सहिद भएको प्रसङ्ग उठाएका छन् । गजबहादुर नामको ब्रिटिस गोर्खा सैनिक एउटा प्रतिनिधि पात्र हो । गजबहादुरजस्ता हजारौँ गोरखा सैनिक सहिदहरूको बलिदानले नै आज नेपालीहरूको बेलायती डायस्पोरा बिस्तार भइरहेको छ । त्यो आदर्श लडाकु पात्र वर्तमानमा गोली थापेर ढलेपछि इतिहास भए पनि उसले अरु धेरैको लागि भविष्य बनाइदिएको भन्दै कवि यसो भन्छन्–

शिर उठाएर
छाति फुकाएर
आफ्नो पसिना र खुनसँग
बेलायतको नुन साट्यो उसले
फौजी बर्दीसँग
बाबाआमाको घामजुन साट्यो उसले ।

कवि गोवर्धन पूजाका कविताभित्र प्रवेश गर्नुपूर्व जुडिथ टि. सुबालले आफ्नो लेख ‘डायस्पोरा मााइग्रेसन  डिफिनिसनल एम्बिग्युटिज एण्ड थियोरिटिकल प्याराडाइम’मा “सञ्चारमाध्यमको नाटकीय विस्तारले बढ्दो अन्तरसम्बन्धित संसारको सिर्जना गरेको छ” (३१, सोसियोलोजी…) । यो कथनको पृष्ठभूमिमा रहेर कवि गोवर्धन पूजाका कविताको विश्लेषण गर्नु पर्दा आप्रबासी मनस्थितिमा दुई फरक भू–सांस्कृतिक स्पेसका विम्बहरूले परेड खेल्छन् । ती विम्बहरू कहिले संयोजित भएर आउँछन् भने कहिले परस्पर विरोधी भएर आउछन् । गृहदेशका विम्बको पूर्वस्मृतिमा डुब्नु तथा गृहदेश र परदेशका विम्बबीच तुलना गर्दै रमाउनु अथवा दुःखी हुनु आप्रबासी मनोविज्ञानकै एक एकाइ हो । यही सैद्धान्तिक प्रारुपको परिधिमा कवि गोवर्धन पूजाका कविताहरूलाई हेर्न सकिन्छ । उनको ‘जीवन गीत’ शीर्षकको कवितामा दुई पृथक भूगोलका दुई पृथक प्रकृतिका बिम्बहरूको निर्वाह देखिन्छ । एक उदाहरण यस्तो छ–

गोवर्धन पूजा

किन उठ्दैन रक्की पर्वतको टुप्पो
सागरमाथा छुनलाई ?
किन घट्दैन समुद्रको आयतन
गण्डकी–कर्णाली हुनलाई ?
शोकधुन सुसेली बसेका म्याप्पलका पातहरू
किन सालका पातझैं हास्न सक्दैनन ?
धुरिमा चढेर कौड़े भालेहरू
किन बिहान बोलाउदै वास्न सक्दैनन ?

‘बोस्टन’ शीर्षकको कवितामा पनि कवि पूजाले अमेरिकाको बोस्टन शहरलाई “सबैमा हतारको हुरी भर्ने” भन्दै त्यसको चरित्रलाई ‘दलदल’ भनेका छन्, जहाँ अगाडि नबढी अडिएर बस्न सकिन्न । बोस्टनबाट हेर्दा समुद्रमाथिको जुनले किन हिमालमाथिको मुस्कान हास्न सकेन भन्दै कवि यी द्वैध भूसांस्कृतिक स्पेसका बिम्बसँग खेल्दछन् । गृहदेशसँग जोडिएका मन्दिरको घण्टीका टिङटिङ आबाज, गुम्बाको मानेको घुमाइको रन्को, बहिनीले गाँसेको मखमली मालाजस्ता मौलिक नेपाली सांस्कृतिक प्रतिकको स्मरण सहित उनी भन्दछन्—

थाहा छ
यहाँको माटोमा मैले अपनत्व पाउँदिन
गाउँदैनन् यहाँका कोइलीले
मेरो राष्ट्रियताको गीत ।

यसरी अन्तरसम्बन्धित तथा खण्डित व्यक्तित्वमा बाँच्नु आप्रवासीहरूको स्वाभाविक मनोदशा हो । गोवद्र्धन पूजाका यी दुई कविताका सन्दर्भमा कुरो गर्दा उनका मातृदेश र परदेशलाई प्रतिनिधित्व गर्ने बिम्बहरू परस्पर विरोधीजस्तो भएर उनको मनोदशामा अल्झिएका छन् ।

कवि दुर्गा प्रसाद पोखरेलका कवितामा एकातिर सुबालले भनेजस्तै सांस्कृतिक बिम्बहरूको बीचमा ‘अन्तरसम्बन्ध’ देखिन्छ भने अर्कोतिर नयाँ भूमिमा आफूलाई ‘लोकेट’ गर्न जटिल भएपछि एउटा बौद्धिक डायस्पोराको ‘फ्रस्टेड’ चेतना अभिव्यञ्जित छ । ‘म बुझ्दिनँ’ शीर्षकको उनको कवितामा लण्डनको एक रेष्टुराँमा चियाको चुस्कीसँगै सोचमग्न एक डायस्पोरा आफूलाई कमजोर महसुस गर्दै भन्छ– “म कपासको डल्लोले बेलौती झारेर खान सक्दिनँ ।” सम्भवतः तेस्रो विश्वको अदक्ष डायस्पोरा प्रथम बिश्वको प्राबिधिक संसारमा आफूसँग भएको कपासको डल्लोले बेलौती झारेर खान सक्दैन । ‘कपासकोे डल्लो’ र ‘बेलौती’ शक्तिशाली बिम्बहरू हुन् । तिनीहरूको अर्थ आयतन व्यापक छ । कविताको बकन्ते अझ अगाडि आफ्नो दयनीयतालाई यसरी प्रस्ट्याउँछ–

दुर्गा प्रसाद पोखरेल

आफ्नो रिक्त भाग्य छामेर
बाटोमा बस्छु र बाँड्छु
मेरा अवसरहरू लिफ्लेट बाँडेझैं ।

एक आप्रवासीको रुपमा कवि दुर्गा पनि आफ्नो कवितामा सचेत अथवा असचेत अथवा दुवै रूपमा बिभक्त स्वर मार्फत आफ्नो बसोबास–भूमि लण्डनमाथि अपनत्व लिन्छन् । फलतः उत्पत्ति भूमि(Land of Origin) र बसोबास भूमि  (Land of Settlement)

दुवैतिरका सांस्कृतिक विम्बले उनको दिमागमा बास गर्छन् र उनी एउटा वर्णशङ्कर चेतना निर्माण गर्न पुग्छन् । ‘थेम्सको किनारामा एकछिन’ शीर्षकको कवितामा उनी यसरी व्यक्त हुन्छन्–

अचेल कता कता लण्डन मलाई
मेरै परिचित गाउँघरजस्तो लाग्छ
बस्दै जाँदा शायद धर्तीले भित्र छुन्छ होला ।

सोही कवितामा उनी अलि अगाडि बढेर पृथक स्थान र पृथक समयको संयोजन गरी यसरी आप्रबासी एकत्व स्थापित गर्दछन्–

थेम्सको किनारमा भ्वाइलिन अझै बजिरहेछ
म इन्द्रचोकको डबलीमा गन्धर्वको सारङ्गी सुनिरहेको हुन्छु ।

‘पिज्जासँग लण्डनमा’ भन्ने अर्को कवितामा उनी अघिल्लो कवितामा जस्तो द्वैध मनस्थितिमा छैनन् । पिज्जा र भात तथा बेलिण्डा र दिलसराबीचको विपर्यास खडा गर्दै पूर्वसंस्कृतिप्रति झुकाव राख्छन् । समग्रमा उही आप्रबासी द्विविधात्मक अभिमुखीकरणले बनेको मनोवैज्ञानिक प्रणाली कवि दुर्गाप्रसाद पोखरेलका प्रसङ्गमा पनि लागू हुन्छ । उत्पत्तिभूमिको जीवनशैली र सौन्दर्य अभिरुचिको यो घतलाग्दो उदाहरण हेरौं–

पिज्जा खाए पनि
म घरमा एकथाल भात खान्छु
नीला आँखा भएका गोरा बेलिण्डाहरूको बीचमा पनि
गहुँगोरी दिलसरा खोजिरहन्छु ।

कवि काङमाङ नरेश राईका कवितामाथि चर्चा गर्नुपूर्व आप्रबासी फिर्ती (Diaspora Return) मिथकका बारेमा केही कुरा गरौं । जुडिथ टि. सुबालले ‘डायस्पोरा माइग्रेसन’ भन्ने निबन्धमा पुरानो यहुदी जोडीको मिथकको बारेमा उल्लेख गरेका छन् । पूर्वी युरोपेली गाउँमा श्रीमानले श्रीमतीलाई सोध्छ,“यदि मसिहाको आगमन भयो र हामी आफ्नो उत्पत्तिभूमि जेरुसेलम फर्कियौं भनेँ मैले व्यवसायमा लगानी गरेको यो करोडौं मुद्राको हालत के हुन्छ होला?” प्रत्युत्तरमा श्रीमती भन्छिन्, “परमेश्वरको कृपाले यति चाँडै अवश्य पनि मसिहा आउनु हुने छैन” (२८, सोसियोलोजी…) । यो मिथकको साङ्केतिक अर्थ खोतल्ने हो भने आप्रबासीहरू बसोबास भूमिबाट उत्पत्ति भूमिमा त्यति सजिलै फर्कन सक्दैेनन् । फर्काइका कैयौ सङ्कथनहरू सैद्धान्तिक कुरा हुन् । व्यवहारिक रुपमा फर्काइ धेरै जटिल कुरा हो । यो मिथकसँग मिल्दोजुल्दो अनुभूति कवि नरेशको ‘सम्झनामै सकिनेछ’ कवितामा पनि पाइन्छ । उत्पति भूमि फर्कने योजना बनाउँदा बनाउँदै कैयौं वर्षसम्म एउटा आप्रबासीलाई जागिर, घरपरिवार, सन्तानप्रतिको जिम्मेवारी जस्ता कुराले रोक्छन् । सरकारले दिने सेवा, सुविधा र सामाजिक सुरक्षा उपभोग गर्न छोडेर आप्रबासी आफ्नो अव्यवस्थित उत्पत्ति भूमिमा फर्कदैन । समयक्रममा रोगले च्याप्न थालेपछि स्तरीय र सुलभ स्वास्थ्य सेवाका लागि ऊ बसोवास भूमिमै रहन बाध्य हुन्छ र अन्ततोगत्वा उसको चोला उठ्छ । उसको स्थायी रुपको फिर्ती चाहना र योजना बुनाइ एउटा स्यालको कथा जस्तो अधुरो रहन्छ । यस्तो योजना बनाएर त्यसको कार्यान्वयन विहिनताको मार्मिक चित्रण यो कवितामा छ ।

काङमाङ नरेश राई

‘देश फर्किदा’ कवितामा कवि नरेशले भविष्यको एउटा यस्तो समयको कल्पना गरेका छन्, जहाँ एउटा आप्रबासी आफ्नो घरदेश फर्कदा उसको र उसको छोराछोरीको ‘स्ट्याटस’ नै फरक पर्ने छ । उसका छिमेकी दौतरीहरू मरिसकेका अथवा अन्यत्र नै गइसकेका हुनेछन् । यो कविताको सुरुमै उनले नेपाली पाठकलाई झस्काउने किसिमको हरफ प्रयोग गरेका छन् । “राष्ट्र रहेमा÷म फर्किनेछु” भन्ने यो अभिव्यक्तिले भविष्यमाा भूमण्डलीकरणको प्रभावस्वरूप राष्ट्र रहन्छ कि रहदैन भन्ने प्रश्न उठाए पनि यस बारेमा बहस हुन सक्छ । उसको यो देश फर्काइमा यथार्थभन्दा बढी स्मृतिहरू हुनेछन् । आफै जन्मे हुर्केको देशी माटो बिरानो भूमि हुनेछ ।

संसारको युद्ध इतिहासमा गार्खालीहरूले आफ्नो बहादुरीको छुट्टै गौरवमय इतिहास बनाएका छन् । बेलायती डायस्पोरामा थुप्रै गोर्खा सैनिकहरू सेवा निबृत्त भएपछि पनि बसोबास गरेका छन् । उनीहरूकाो यो शौर्य र वीरताको गाथा संसारलाई थाहा छ । यसैबाट प्रभावित भएर ब्रिटिश सरकारले किस्ताबन्दीमै भएपनि ब्रिटिस गोर्खालाई अधिकार थप्दै गएको छ । युद्ध साहित्यका एक अभियन्तासमेत रहेका नरेश यही वीरताको कथालाई डायस्पोराबाट यसो भन्छन्–

विश्व सुन्दरी भन्दा धेरै सुन्दर छन् बन्दुकहरू
तर किन धेरै कुरुप छन् युद्धहरू ?

कवि ऋषि बस्ताकोटीको कविाहरूको विषयमा कुरो गर्नु अगाडि पेग्गी लेभित र निनन ग्लिक सिलरले आफ्नो निबन्ध ‘कन्सेप्च्युअलाइजिङ साइमुल्ट्यानिटी’मा स्याक्सेनियनको धारणालाई उद्यृत गरेका छन्, “प्रतिभा पलायन(Brain Drain) प्रतिभा सञ्चार (Brain Circulation) वा प्रतिभा प्राप्ति (Brain Gain) पनि हुन सक्छ” (१७५, सोसियोलोजी…) । आप्रबासीहरूको सम्वन्धमा कुरो गर्दा प्रतिभा पलायन, प्रतिभा आर्जनजस्ता पदावली बारम्बार प्रयोगमा आउछन् । कवि बस्ताकोटीको कविता ‘तिमी गएपछि’ले थुप्रै बालबालिकाहरूलाई ज्ञानको उज्यालो बाँड्ने सचेत शिक्षकको बिदेश पलायनको विषय समातेको छ । ‘तिमी’ पात्र गए पनि उसका पदचिन्हरू यत्रततत्र सर्वत्र भेटिन्छन् । कविताको बकन्तेले एक समयमा छुट्टिए पनि समयक्रममा नागबेली बाटोहरू एकापसमा पुनः भेटिए जस्तै ‘तिमी’ पात्रलाई मिलेर मूलबाटो खन्न र त्यही मूलबाटोबाट यात्रा गर्न आग्रह गरेको पाइन्छ । यो आग्रह सैद्धान्तिक हिसाबले भन्दा प्रतिभा आर्जन (Brain Circulation) को निम्ति हो । विदेशमा बस्ने आप्रवासीहरूका ज्ञान, सीप र क्षमताको प्रयोगबाट संसारका थुप्रै गृहदेशहरूले प्रगति गरेका उदाहरण पनि नभएका होइनन् । कवि बस्ताकोटी लेख्छन्–

ऋषि बस्ताकोटी

भेटिंदै छुट्टिदै
छुट्टिदै भेटिंदै गर्ने यी नाबेली बााटाहरू
भोलि फेरि कहीं कतै भेट्टिनेछन्
त्यतिबेला
आऊ मिलेर एउटा मूल बाटो बनाऊँ
र त्यही मूल बाटोमा हिडौं ।

यसैगरी उनको अर्को कविता ‘आमा घर हो’ ले आफ्नो घर र थरको महिमागान गरेको छ । बिस्तारित अर्थमा घर भनेको मातृदेश र थर भनेको सांस्कृतिक पहिचान हो । उनले आमालाई घर र बाबालाई थर भनेका छन् । यो अवधारणामर्फत उनले बहुअर्थको निष्पत्ति खोजेका छन् । यो अवधारणालाई यसरी पनि हेर्न सकिन्छ–

घर . आमा . मातृदेश
थर . बाबा . सांस्कृतिक पहिचान

आफ्नो सम्पूर्ण अस्तित्व नै घर र थरको संयोजनबाट बनेको तर्क कविले अगाडि सारेका छन् । आतिथ्यभूमिमा बसे पनि गृहभूमिको चिन्तामा आाप्रबासीहरू हुन्छन् भन्ने भावना यो कवितामा भेटिन्छ ।

पाठकवृन्द ! तपाइँको समालोचक हाचेकालीले सिद्धान्त र कविवतात्मकताको कुरो समानान्तर रुपमा गरिरहेकोले तपाइँलाई झन्झटिलो लागिरहेको हुन सक्छ । माफ गर्नुहोला । हाम्रो सिद्धान्तपरक समाालोचनाको पद्दतिले यस्तो भन्छ– “सैद्धान्तिक चेत र काव्यिक सम्वेदना दुवै कुरा समालोचकका लागि आवश्यक छन्” (१७६, ऐकिक…) । जे होस्, यो विषयलाई यही छोडेर अब हामी कवि नम्रता गुरागाइँका कवितासँग साक्षात्कार गरौँ । पहिलो पुस्ताका आप्रबासीहरूका निम्ति आतिथ्यभूमि चुनौतिपूर्ण हुन्छ भन्ने विषय अब नौलो रहेन । एकातिर सांस्कृतिक रुपमाा उनीहरू बिच्छेदको भावमा बाँच्दछन् भने अर्कोतिर आर्थिक व्यवस्थापनको कठिन चक्रव्यूहमा फस्दछन् । यो स्वाभाविक पनि हो । पसलमा उधारो र छिमेकमाा पैंचो नचल्ने भन्दै लक्ष्यभूमिको जीवनका प्रारम्भिक अप्ठ्याराहरूको कवि नम्रताले ‘बा…जागिर भै हाल्थ्यो कि’ कवितामा यसरी काव्यिकृत गरेकी छिन्–

नम्रता गुरागाइँ

न धानको भकारी छ
न त तरकारी रोप्ने कोठेबाारी नै छ
गोजी बलियो हुञ्जेल पलको भर
गोजी खुकुलो भएपछि पसलकै डर ।

उत्पत्तिभूमि र आतिथ्यभूमिको चर्चा गर्दै ‘प्लेस, जिओग्राफी एण्ड द कन्सेप्ट अफ डायस्पोरा’ भन्ने लेखमा नुट हिडलले मानव भूगोलको अभौतिकीकरणको विषय उठाएको पाइन्छ (८५, सोसिओलोजी…) । कवि गुरागाईंको ‘अनलाइन माया’ शीर्षकको कवितामा पनि हिडलको शब्द सापटी लिएर भन्दा सिमाना र भूगोलका छेकबार अभौतिकृत भएर मायाप्रेमको लागि अनलाइन चौतारी उपलब्ध भएको छ ।

जगत नवाेदित

यतिबेला हामी कवि जगत नवाेदितका कविताको चर्चा डायस्पोरिक दृष्टिकोणबाट गर्ने क्रममा छौँ । स्वाभिमानको सङ्कथन नेपाली समाजमा निकै लोकप्रिय भए पनि यथार्थमा हाम्रो स्वाभिमान व्यवहारतः च्यातिएको छ । आर्थिक रुपमा हामी स्वाभिमानी बन्न नसकेकै कारणले लाखौँ नेपालीहरू वर्षेनी विदेशी भूमिमा डायस्पोरा जिन्दगी बाँच्न विवश भएका छन् । अर्काको भूमिमा हाम्रो राष्ट्रिय स्वाभिमानले कदम कदममा ठेस खान्छ । पराया माटोमा त्यहाँका मौलिक नागरिक सरह समकक्षी हैसियत प्राप्त गर्न नसक्दा निश्चय पनि हाम्रो घरदेशको राष्ट्रिय स्वाभिमानमा चोट पर्दछ । त्यसपछि डायस्पोराका कवि जगत नवोदित नेपाली स्वाभिमानको कथालाई नक्कली देख्छन् । ‘मुनालाई मनपत्र’ कवितामा उनी लेख्छन्–

बुद्ध हाम्रो रहर
युद्ध हाम्रो जिन्दगी
अरुलाई दुःखको औषधि खोज्दै हिडेको
आपैmँ दुःखको रोगी बनेको छु ।
सपनामा झर्छु भीरबाट
ऐठन पर्दै ब्युँझन्छु
विपनामा आङभरि

च्यातिएको स्वाभिमान काँडासरि बिझ्छ ।
‘सपना’ शीर्षकको कवितामाा कवि नवोदित परदेशको बारेमा घरदेशबाट गरिने मधुर कल्पना र यथार्थबीचको बिपर्यासात्मक अवस्थालाई चित्रण गर्दछन् । डायस्पोरिक जीवनका बेचैनी र दर्दहरू बिसाउन भनेर आफ्नो मूलथलो फर्किदै गर्दा देखिएका÷भेटिएका अनपेक्षित घटना र दृष्यावलीबाट झन आहत हुनु परेको कहिरन बोकेको ‘घरदेश’ शीर्षकको कवितामा कवि जगत यसो भन्छन्–

माटोभरि
दाजुभाइको रगत
दिदीबहिनीका सिन्दुर
र आमाको आँसु बगिरहेको थियो ।

प्रिय पाठक ! हामी यो लेखमा आप्रवासकै भोक्ताहरूद्वारा लेखिएका र उनीहरूका ‘फस्ट ह्याण्ड’ अनुभव सजिएका कविताहरूको सिद्धान्तपरक विश्लेषण गरिरहेका छौं । यस क्रममा अमेरिकी डायस्पोराकी एक कवि निरा शर्माका भावनासँग साक्षात्कार गर्न लाग्दैछौँ । सर्वप्रथम हामी उनको ‘यन्त्र मानव’ शीर्षकको कविता हेरौँ । पहिलो पुस्ताको नवप्रवेशीका निम्ति आतिथ्यभूमि निकै कष्टकर अनुभूत हुन्छ, जतिबेला परिवेश सामाजिक, सांस्कृतिक र भाषिक रुपमा आँफूले कल्पना गरेको भन्दा बिल्कुल पृृथक हुन्छ । प्रत्येक व्यक्ति रहरले नै स्वदेश छोडेर बिदेश गएको हुदैन ।

परिबन्दका आयामहरू अनेक हुन्छन् । ऋणैऋणको बोझले थला परेपछि विदेशिएकी एउटी महिलाको व्यक्रित्व चित्रण गर्दै कवि शर्माले ती महिलाको ‘मुस्कानको एउटा पाखोमा पहिरो गएको’, ‘भीरमा हालेको मलजस्तो उसको जवानी भएको’ जस्ता विम्ब प्रयोग गरेकी छिन् । डायस्पोरामा आप्रबासी दुःखको कुरो गर्दा हामी प्रायःजसो पुरुषलाई केन्द्रमा राख्दछौँ । महिला आप्रबासीका कुरा तुलनात्मक रुपले न्यूनतम तहमा मात्र बाहिरिन्छन् । प्रथम विश्वका युरोप अमेरिकामा नेपाली आप्रबासी महिलाहरूको विषयमा बिस्तृत अध्ययन हुन बाँकी नै रहेको हुनुपर्छ । कवि निरा शर्माले भर्जिनिया र वासिङ्टन डिसीका ब्यस्त सडकमा एक्लै गुड्ने महिलाको कथा टिपेकी छिन् । कविताकै शव्दमा भन्नुपर्दा ती आप्रबासी महिला कामदारका सन्दर्भमा उनी ‘मानव निर्मित यन्त्र’द्वारा परिचालित ‘यन्त्र निर्मित मानव’ हुन् ।

प्रथम विश्वको डायस्पोरिक जीवनका बारेमा गृहदेश नेपालमा थुप्रै स्वप्नील कथाहहरू हुन्छन् । त्यहाँ गर्नुपर्ने दुःख र सङ्घर्षका कहिरनमा भन्दा पनि कमाइ हुने डलरका बारेमा मानिसहरू मनमोहक विम्ब बनाउछन् । यस परिप्रेक्ष्यमा सपना र यथार्थबीचको भिन्नतालाई कवि निराको ‘पैसाको ओच्छ्यानबाट’ कविताले छर्लङ्ग्याएको छ ।

त्यसै अनुरुप निराको अर्को कविता ‘लहरो’ले आर्थिक अभावको आगोबाट मुक्तिको सपना देख्दै गाउँबाट सहर भएर अर्कै देशको डायस्पोरा पुगेकी एक महिला पात्रको चित्रण गरेकी छिन् । त्यो जुनेली नामकी महिला पात्र आफ्ना श्रीमानसँगै बिदेशिए पनि समयक्रममा उसको जवानी लहरो भएको कथानकद्वारा निराले आजको व्यक्तिगत स्वतन्त्रताप्रेमी पाश्चात्य संस्कृतिभित्र विकास भइरहेको जटिल दाम्पत्य सम्वन्धलाई उजागर गरेकी छिन् । जुनेलीको अवस्था यो कवितामा यसरी मुखरित भएको छ–

निरा शर्मा

मलखादमा हलक्क बढेको सागजस्तो
कल्कलाउदो उसको जवानी
लहलहाउदो लहरो भयो
तर उसलाई के थाहा
जवानी लहरो हो रुख हैन

लहरोको एउटा मात्र मुख हुदैन ।
समयसँग जुनेलीको लहरो अवतारमाा कैयौँ मुन्टाहरू पलाए । यी बहुल मुन्टाहरू पलाउन भनेको लहरोको बाटो जता पनि हुन सक्नु हो । श्रीमानसँग जुनेलीको सम्वन्ध बिग्रदै गएर कविकै शव्दमा एकदिन यस्तो हुन्छ–
काँक्रोले थाँक्रो खोजेझैँ
लहरोले थाक्रो खोज्यो
र उक्ल्यो पल्लो घरको पर्खालतिर
ठीक एक वर्ष अघि
आजै हो
जुनेलीले छोडपत्रमा हस्ताक्षर गरिरहदा
म साक्षी बसेको दिन ।

कवि देबेन्द्र खेरेसका कविताहरू चिरफार गर्ने क्रममा हामी सर्वप्रथम ‘एक निर्बासित बकपत्र’ हेरौँ । आप्रबासीहरूको हकमा आफ्नो मूलभूमिबाट उनीहरूको बिस्थापनका विभिन्न कारण हुन सक्छन् । उनीहरूमध्ये कतिपय अवसरको खोजीमाा हुन्छन् भने कतिपय चाहिँ क्षतिग्रस्त आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले बिदेशिन्छन् कतिपयले आँफू राज्यको मूलधारबाट किनारीकृत भएको गुनासो गर्छन् । खेरेसको यो कवितामा बहिष्करणको पीडा छ । उनी लेख्छन्–

राष्ट्रिय गीत गाउँदा गाउँदै
देशले मलाई अराष्ट्रिय बनायो
देशको कविता लेख्दालेख्दै
देशले मलाई देशविहीन बनायो ।

देबेन्द्र खेरेस

आञ्चलिक शीर्षक दिएर लेखिएको ‘मेरो खोटाङ’ शीषकको कवितामा खेरेसले बैदेशिक भूमिमा बेचेको श्रमले स्वदेशी घरमा आर्थिक परिवर्तन ल्याउन सके नसकेको विषयमा प्रश्न उठाएका छन् । परादेशीय पहिचान, दोहोरो बफादारी र बसैंयारी कामदारद्वारा आर्जित विप्रेषणले लुजर प्राइजले ‘ट्रान्सन्यास्नल मााइग्रेसन’ नामक निबन्धमा भने अनुसार “समाजहरूलाई जोड्ने सिमेन्टकोे रुपमा काम गर्छन्” (३०७, सोसियोलोजी…) । विप्रेषणले आर्थिक जीवनमा सिमेन्टको भूमिका खेल्न सक्यो सकेन भन्ने आशयको कवि खेरेसको यो प्रश्न हेरौँ–

पराइ भूमिमा
तिमीले बगाएको पसिनाले
तिम्री आमाको सिंगाने बुलाकी
फेर्न सक्यो कि सकेनौ
बाबाको जाँड पिउने डबका
बदल्न सक्यौ कि सकेनौ ?

यसैगरी खेरेसको अर्को कविता ‘अनुभूतिका रङ्गहरू’ले आतिथ्य भूमिमा हुने मौलिक बासिन्दा र आप्रवासीहरूबीचको पदसोपानलाई देखाएको छ । गोरो छाला हुने मन्त्री र उच्च पदस्थहरूको पारिबारिक जीवनका बारेमा पत्रकारिता जगतले धेरै कुरा खोज्दैन तर श्वेत इतर रङ्गको छाला हुने आप्रबासीहरूको बारेमा मिडियाले अनावश्यक रुपमा कन्सुत्ले (Nosey Parker) को भूमिका खेल्छ भन्ने विषयले प्रकारान्तरमा बेलायती समाजको रङ्गभेदी चरित्रलाई देखाएको छ । पाकिस्तानको दुर्गम गाउँबाट आएर मजदुरको रुपमा काम गरेको आप्रबासीको दोस्रो पुस्ता भएकोले गृहमन्त्रीमाथि मिडियाको पूर्वाग्रह हुनसक्छ । यसरी यो कविताले पनि हामीले माथि चर्चा गरेको कवि गणेश राईको कविताले जस्तै मूल बासिन्दा र आप्रवासीबीचको अव्यक्त द्वन्द्वको एउटा सानो रुप प्रस्तुत गरेको छ ।

कवि नदिया लिबाङका कविताका बारेमा बहस चलाउने क्रममा ‘पीडा परदेशीको’ शीर्षकको कवितामा उनले एकआपसमा दूरवर्ती भूमिमा रहेका प्रेमीप्रेमिकाको अत्यासपूर्ण अनुभूतिलाई समातेकी छिन् । हालको विश्व अर्थव्यवस्थाको स्वरुपका कारण अवसरको खोजीमा मानिसहरू घरपरिवार र प्रेम सम्वन्धबाट विच्छेदित छन् । उनी लेख्छिन्–

कसरी सम्झाऊँ तिमीलाई
फरक भूगोलमा तिमी बिना बाच्नुको पीडा
निराश लाग्छन् तिमी बिनाको सुखसयल
उराठ लाग्छ कङ्क्रिटको न्यूयोर्क सहर पनि ।

नदिया लिबाङ

विश्व पूँजीवादी अर्थव्यवस्थाले संसारमा विकास र समृद्धिको वितरण असमानुपातिक ढङ्गले गरेका कारण मानिसहरू डुलन्ते अस्तित्वमा बाँचेका छन् । ज्ञान आर्जन र धन आर्जनको अनिवार्य आवश्यकताले बाँधिएर मानिसहरू घरपरिवार र प्रेमको बन्धनबाट चुँडिएका छन् । यस्तो अवस्थामाा कवि नदियाको नजरबाट हेर्दा एउटा प्रेमी हृदयले अर्को प्रेमी हृदयलाई यसो भन्छ—

त्यो पलको अधिर पर्खाइमा छु
जतिबेला हामी कोशीको बगरमा रमाउदै
एउटै सूर्य सँगै हेर्नेछौँ
ताराहरू सँगै गन्नेछौँ ।

खाडी क्षेत्रका थुप्रै मुलुकहरूमा धेरै नेपाली युवाहरूको उपस्थिति श्रमिकका रुपमा छ । यो श्रमिक डायस्पोरा अन्तर्राष्ट्रिय श्रम ऐनले निर्धारित गरेका कैयौँ अनिवार्य प्रावधानबाट बञ्चित छ । सस्तो मूल्यमाा जोखिमपूर्ण तरिकाले काम गर्न बाध्य छ । यो परिस्थितिले जन्मिएको ‘व्यर्थको पसिना’ शीर्षकको कवितामा नदियाले मनभरि बूढी आमा र निरमाया बोकेर मरुभूमिको प्रचण्ड गर्मीमा आँसु र पसिना बगाइरहेको एक निम्न मध्यम वर्गीय नेपाली कामदारको मनोभाव टिपेकी छिन् । उसका सपनाहरू धेरै महत्वाकांक्षी छैनन् । बूढी आमा, उसकी निरमाया, र केही सन्तानसहितको एउटा सानो तर शान्त र सुखी परिवार उसको सपनाको दायरामा समेटिएका छन् । अँगेनाको छेउमा बसेर कुरो गर्दागर्दै एउटा मङ्गलसूत्र लगाउने चाहना व्यक्त गरेकी यो आप्रवासी कामदारकी निरमायाको सपनालाई फुलाउनको लागि ऊ खाडीको मरुभूमि डायस्पोरामा यसो भन्दै काम गरिरहेको छ—

डर लाग्छ भवितव्यसँग

कतै यो शरीर निश्वास नफर्कियोस्
मातृभूमि
मैले त फर्कनु छ मेरो बस्तीमा
जहाँ छोडेर आएको थिएँ
बैंसलाई मुठीमा कसेर बसेकी मेरी निरमााया
र भेट्न आातुर बूढी आमा ।

प्रिय पाठक ! यो समालोचना लेखको लागि लिइएका २३ जना कविहरूमध्ये अन्तिम कविको रुपमा हामी ईश्वरी कार्की वर्षालाई लिदैछौँ । आफ्नो अनुहार धुमिल देख्न थालेपछि मान्छेहरू देशको सिमानाभन्दा पर अर्कै भूमितिर हानिन्छन् । त्यो अनुहार सांस्कृतिक रुपले मात्र हैन आर्थिक रुपले पनि धुमिल देखिन सक्छ । हराएको अनुहार खोज्न मानव महासागर भएको दुनियाँमा पुगेपछि पनि अनुहार हराएको अवस्थालाइृ कवि ईश्वरी कार्कीले लेखेकी छिन् । अनुहारको यो दोहोरो हराइले आप्रवासीहरूलाई दिने पीडा अवश्य पनि तिक्ष्ण हुँदो हो । ‘हराएको अनुहार’ शीर्षकको कवितामा उनी लेख्छिन्–

यहाँ आफ्नै अनुहार हराइरहेछ
अनि कसरी खोजुँ तिम्रो अनुहार ?
यसरी नै हराउदै गए अनुहारहरू
बिरानो मुलुकमा
कसले खोजेर फर्काइदिन्छ
ती युवा अनुहारलाई आएकै बाटो ?

ईश्वरी कार्की वर्षा

डायस्पोरा भूमिमा विशेष गरी युरो–अमेरिकी देशहरूमा वर्णको हिसावले व्यवहार हुन्छ । गैर–श्वेतहरूप्रति श्वेत समाज र श्वेत सरकार अलि पूर्वाग्रही हुन्छन् । अन्यायोचित र अमानवीय किसिमको भेदभावले आप्रबासी मनमा कस्तो हुन्छ भन्ने कुरो ईश्वरीको ‘रङ्ग’ कविताले देखाउँछ–

झुक्ने छैन कदापी
पासपोर्टको रङ्गले
सगरमाथाको उचाइ
व्यर्थै तिमी अपराधीलाई झैँ
किन गर्छौ मूलगेटमै केरकार ?

संस्कृतिको सिङ्गो विरासत मनमा बोकेर परायाभूमिमा पुगेपछि बसैंयारीहरू राजनैतिक रुपले नवभूमिका नागरिक बन्छन् तर उनीहरूको सांस्कृतिक राष्ट्रवाद मातृभूमितिरै सम्वन्धित हुन्छ । बाल्यकालमा बिताएका क्षण, पर्व, संस्कार र प्रचलनहरू उनीहरूका मनमा बल्झिरहने स्मृति बन्दछन् । आफ्ना सांस्कृतिक पर्वहरू डायस्पोरा भूमिमा जति नै भव्यता र तामझामका साथ मनाउछु भने पनि आनन्दको उत्कर्ष खोज्दै उनीहरू मनमनै उत्पत्तिभूमिकै यात्री बन्दछन् । ‘मनको इन्द्रेणी’ कवितामा कवि ईश्वरीले नेपाली संस्कृतिभित्रको एक सुन्दर पर्व तिहारलाई परदेशी भूमिबाट सम्झिएकी छिन्–

पाक्न त यतापनि पाक्छ सेलरोटी
स्वाद उतै छुटेजस्तो
नफुल्ने त होइन गोदाबरी, सयपत्री
बास्ना उतै छुटेजस्तो
गोरो यो महादेशबाट
सगरमाथाको फेदमा रहेको
गहुँगोरो भाइलाई
भावबिह्वल हुँदै सम्झिरहेछ चेलीको मन ।

आदरणीय पाठक ! समालोचनाको बौद्धिक अनुष्ठानलाई सकेसम्म सम्पे्रष्य र आल्हादकारी बनाउने प्रयत्न हामीले गरे पनि यो आँफैमा जटिल र नेपाली साहित्यको सन्दर्भमा अलि बेवास्ता गरिएको विधा पनि हो । अर्थ अन्वेषण आँफैमा अनवरत प्रक्रिया हो । हामीले एउटा एकाइबाट अर्थ खोज्ने प्रयास गर्यौँ । अर्थ खोजी हरेक पटक आँफैमा एक अपूर्ण अभ्यास भएकैले यो पूर्णविराम नलाग्ने गतिशील प्रयत्न हो । यो डायस्पोरा समालोचना अनुष्ठानमा छुटेका थुप्रै कवि र थुप्रै विषयबस्तुलाई हाम्रा आगामी समालोचना यत्नहरूमा समेट्दै जाने कुरो निवेदन गर्दछौँ । पाठकहरूको सचेतना र धैर्यतायुक्त पठनबाट मात्र समालोचना विधाको विकास हुने सत्यलाई सिङ्गो नेपाली साहित्य जगतले मनन गरोस् । समालोचनाको सवलीकरणले मात्र साहित्यिक कृति र विचारहरूलाई गत्यात्मकता प्रदान गर्न सकिन्छ भन्ने मान्यता चक्रव्यूह सञ्चेतनाले राख्दै आएको छ ।

सन्दर्भसूची
साहु, अजय कुमार र ब्रिज महाराज (सम्पा.), सोसियोलोजी अफ डायस्पोरा (भो. १), रावत पब्लिकेसन्स, न्यु देल्ही, २००७ ।
हाचेकाली, सुरेश, ऐकिक चक्रव्यूह समालोचना, ललितपुर ,साझा प्रकाशन, २०७४ ।