गैर आवसीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्धन समितिद्वारा संचालित अनलाइन कार्यक्रम “प्रवासी प्रवाह”को छैटौँ शृंखला असार ७ गते (जुन २१) मा सम्पन्न भयो।
विश्वमा छरिएर रहेका सम्पूर्ण नेपाली भाषीहरुलाई प्रवासी प्रवाह कार्यक्रममा सहभागी गराएर उनीहरुका सिर्जनाका प्रवाहहरुलाई प्रवाहित गर्न यस कार्यक्रमको उद्देश्य रहेको छ। एक घण्टा भन्दा बढी चलेको यस कार्यक्रममा अतिथि साहित्यकारका रुपमा नेपालबाट वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीको उपस्थिति थियो।
गीतकार अधिकारीले गैर आवासीय नेपाली संघ भाषा साहित्य संस्कृति तथा सम्पदा प्रवर्धन समितिले विगतदेखि अनुवाद शुरु गरेको र त्यसलाई नेपाल प्रज्ञा प्रतिष्ठान र अन्य संघसंस्था मिलेर निरन्तरता दिनुपर्ने साथै उत्कृष्ट कृतिहरुलाई अनुवाद गरी विश्वभर पुर्याउनुपर्ने सुझाव दिएका थिए।
समितिका युरोप उपसंयोजक हरि पौड्यालले चार दशकदेखि युरोपमा रहेको र भइरहेका साहित्यिक गतिविधिबारे जानकारी गराए। उनले आफ्ना केही कवितासमेत प्रस्तुत गरेका थिए। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको अभिलेख राख्न पौड्याललाई संयोजकसमेत तोकिएको छ। उनले धेरै डाटा सङ्कलन भएको बताउँदै सर्जकहरुलाई आफ्नो परिचय पठाउन आग्रहसमेत गरे।
अमेरिकाबाट कवि पदम विश्वकर्मा सहभागी भएका थिए। उनले एउटै उद्देश्य बोकेर हिँडेका साहित्यिक संघसंस्थाहरुबीच समन्वय गरी अघि बढे साहित्यको विकास गर्न सकिने धारणा व्यक्त गर्दै ‘रुकुम’ शीर्षकको कवितासँगै अन्य कविता पनि प्रस्तुत गरेका थिए।
कतारबाट तीर्थ सङ्गम राईले त्यहाँका साहित्यिक गतिविधि बारे बताउँदै १० वर्षदेखि मोबाइल लाइब्रेरी, साहित्यिक डबली तथा अन्य कार्यक्रम चलाइरहेको जनाए। करिब ६ लाख नेपाली रहेको मध्यपूर्वमा नेपाली साहित्यले फल्नेफुल्ने अवसर पाएको र गज़ल लेखनमा धेरै सर्जकहरु रहेको जानकारी गराएका थिए। उनले केही कवितासमेत पाठ गरेका थिए।
यस्तै एनआएएनए ब्राजिलका अध्यक्ष गणेश गुरुङले त्यहाँ १०० जनाको संख्यामा नेपाली रहेका र व्यापार-व्यवसाय गरिरहेको जानकारी दिए। कोविद १९ को प्रभाव अमेरिकापछि ब्राजिलमा परिरहेको बताउँदै दिनमा ४ घण्टा मात्र बजार खुल्ने गरेको जनाए।
कार्यक्रमको अन्त्यमा अथिति दिनेश अधिकारीले गैरआवासीय नेपाली संघ भाषा साहित्य संस्कृति तथा सम्पदा प्रवर्धन समितिले चलाएको प्रवासी प्रवाह कार्यक्रम अत्यन्त प्रभावकारी रहेको भन्दै प्रशंसा गरे।
विभिन्न महादेशबाट सहभागिता रहेको हुनाले फरक देशको फरक अनुभव सुन्न पाउँदा रमाइलो लागेको उनको भनाइ थियो। यस कार्यक्रमको संचालन भगवती बस्नेतले गरेकी थिइन्।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

