सन् १९७८ देखि कूटनीतिक नियोगको स्थापना र नब्बेको दशकदेखि नै साउदी अरबमा नेपालीहरु आउने क्रम सुरु भएयता अहिले यहाँ छ लाख भन्दा बढी नेपाली रोजगारीमा रहेकामा पछिल्लो समय भने उक्त संख्या घटेर चार लाखको हाराहारीमा रहेको देखिन्छ ।

अन्य देशहरुमा जस्तै यहाँ रहेका नेपाली पनि साहित्यिक गतिविधिबाट अछुतो रहन सकेका छैनन् । आफ्नो कामपछिको समयमा कहीँ न कहीँ, कतै न कतै सांगठनिक रुपमा वा स्वस्फूर्त रुपमा कलम चलाएको पाइन्छ ।

साउदी अरबमा साहित्यको विजारोपण गर्ने सबैभन्दा पहिलो संस्था विश्व साहित्य महासंघ रहेको थियो । खगेन्द्र अधिकारी अमृतको अध्यक्षतामा २०१० को १४५ औं मोति जयन्तीको अवसरमा गठन भएको यस महासघंले “आँसुले जलेका मनहरु”, “क्वीज स्मारिका २०११”, “सृजनाका लहरहरु” एवं अनलाइन रेडियो कार्यक्रम र “कोसेली” पुस्तक प्रकाशन गरेको थियो । यसैगरी यस महासंघको दोस्रो कार्यकाल कमल शाही निर्मलको अध्यक्षतामा २०१३ मा गठन गरियो । उनको कार्यकालमा “मुग्लानी सौगात” त्रैमासिक पत्रिका तीन अंकसम्म प्रकाशन गरिएको थियो ।

त्यस्तै संस्थाका पछिल्ला कार्यकालहरुमा कृष्ण सतुर्जे, केपी पौडेल, बालकृष्ण पौडेल, विमल बजगाईं, लालबहादु थापा बगाले लगायतले केही उल्लेखनीय काम तथा कार्यक्रमहरु गरेका थिए । विश्व साहित्य महासंघले “साहित्य यात्रा” भन्ने साहित्यक रचना तथा लेखहरुले भरिएको पुस्तक तीन अंकसम्म निकालेका थिए । यसैगरी यस महासंघका उपाध्यक्ष तथा गजलकार, कथाकार लाल बहादुर बुढा ढाङ्ढुगेका “सीमापारि सीमावारि” संयुक्त गजल संग्रह, समाकालीन “रोल्पाली मुक्तकहरु”, “अमर साइनो”, “विदेशिदाको पीडाहरु” गजल संग्रह लगायतका एकल तथा संयुक्त कृतिहरु प्रकाशनमा ल्याएका थिए । यसै संस्थाका पूर्वअध्यक्ष तथा साहित्यकार बालकृष्ण पौडेलको “आकाश गंगा” उपन्यास, लालबहादुर थापा बगालेको “बगालेका गजलहरु” प्रकाशनमा आएका थिए ।

वैदेशिक रोजगारीमा आउने नेपालीहरुको मध्यपूर्वको बसाई कम्पनीको कामको आधारमा तय हुने हुँदा कतिपय साहित्यकार नेपाल फर्किसकेको अवस्था भएकाले यो संस्था पछिल्लो समयमा निष्कृय जस्तो देखिएको केहीको गुनासो छ । यद्यपि साउदी अरबको पूर्वीय क्षेत्र दम्माममा आफ्नो क्षेत्रीय शाखा भने खोलेको छ ।

यसैगरी साहित्यिक चौतारी नेपाल शाखा साउदी नेपाली भाषा र नेपाली साहित्यको संरक्षण, सम्बद्धर्न, प्रवर्द्धन गर्न सामाजिक संजालको माध्यमबाट संस्था गठन भई २०७१ सालमा नेपाल सरकारबाट मान्यता प्राप्त संस्था साहित्यिक चौतारी नेपालले पनि दोस्रो शाखाको रुपमा साउदी अरबमा आफ्नो उपस्थिति जनाउँदै विभिन्न कार्यक्रम र साहित्यिक प्रकाशनहरु गर्दै आएको छ ।

कल्पनाको खेती गर्छौ,
ज्ञानको ज्योति छछौं,
साहित्यको ढुकढुकीमा
शाब्दिक अन्न भछौं,
साउदीका श्रष्टाहरु संगठित गरी
कलमबाटै हामी आमूल परिवर्तन गर्छौं
भन्ने मूल नाराका साथ यस संस्था साउदी अरबमा निक्कै सक्रिय रुपमा अगाडि बढिरहेको छ । साहित्य क्षेत्रलाई मात्र नभएर सामाजिक कार्यहरुमा उत्तिकै चासो र सहभागिता जनाउँदै आएको चौतारीमा संलग्न साहित्यकारहरु गजल लेखनमा अगाडि रहेको पाइन्छ । यस शाखाले तीन वर्षको अन्तरालमा संयुक्त गजल संग्रह “बगर” पाठकसामु दिइसकेको छ भने विश्यव्यापि खुल्ला अनलाइन गजल प्रतियोगिता, गजल महफिलजस्ता उत्कृष्ट कार्यक्रहरु गरेर स्रष्टाहरुलाई एकै ठाँउमा उभ्याउने कार्य गरेको छ ।

अध्यक्ष कविराज शंकर कन्चान र महासचिव घायल तिवारी घनश्यामको नेतृत्वमा शाखा साहित्यिक चौतारी साउदी अरबले विशेषतः गजल लेखनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै संस्थालाई उचाइमा पुर्याउने कार्य गर्दै आएका छन् ।

यसैगरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आफ्नो कार्यक्षेत्र विस्तार गर्ने क्रममा साउदी अरबमा पनि आफ्नो च्याप्टर गठन गरेको छ । १९ जनवरी २०१९ का दिन नेपाली राजदूतावासको प्राङ्गणमा तत्कालीन नियोग उपप्रमुख आनन्दप्रसाद शर्माको प्रमुख अतिथ्यमा विभिन्न संघसंस्थाहरुका प्रतिनिधि र साहित्यप्रेमीहरुको भेलाले नमराज लामिछानेको नेतृत्वमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज साउदी च्याप्टरमा नौ सदस्यीय कार्यसमिति सर्वसम्मतिबाट चयन गरेको थियो ।

साउदी अरबमा रहेका सर्जकहरुको पहिचान, सम्मान र साहित्यको उत्थानको लागि अनेसास साउदी च्याप्टरले विभिन्न समयमा साहित्य कार्यक्रमहरु गर्दै आएको छ । साउदी अरबस्तरीय अन्तर नेपाली खुला गजल प्रतियोगिता, भानुजयन्ती, रचना वाचन “पँलेटी” शृङ्खलाजस्ता कार्यक्रमहरु गर्दै साहित्यक संरक्षण तथा श्रमिक जनचेतना अभिवृद्धि गर्दै अगाडि बढ्नु नै संस्थाको उद्देश्य रहेको संस्थाका महासचिव अरुण बेल्बासे रोज बताउँछन् ।

आगामी दिनहरुमा अन्य रचनात्मक कामहरु गर्ने र पुस्तकहरु प्रकाशन गर्ने कार्ययोजना भएता पनि अहिलेको परिस्थितिले सबै योजनाहरु रद्द गर्नु परेको बेल्बासे बताउँछन् । अनेसास साउदी च्यप्टरले विभिन्न संघसंस्थाहरुसँग हातेमालो गर्दै एकल र संयुक्त रुपमा सामाजिक कार्यहरुमा सक्रियरुपमा अगाडि बढिरहेका छन् । समस्यामा परेका पीडितहरुको उद्धारदेखि स्रष्टा तथा समाजका विशिष्ट व्यक्तिहरुको सम्मान गर्दै समाजमा उदाहरणीय कार्यहरु गर्न यहाँका सबै साहित्य संघसस्थाहरु अग्रपङ्तिमा रहेका छन् ।