धार्मिक कथनअनुसार हिमालयपूत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दु नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् । यही मान्यतालाई अनुसरण गर्दे विवाहित महिलाले आफ्ना श्रीमान्‌को दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने नेपाली चलन छ ।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तीजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषि पञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ ओटा दतिउनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् र त्यसो गरेमा जान अन्जानमा भए- गरेका गल्तीबाट मुक्ति पाइन्छ भन्ने भनाइ छ ।

दिलीप अधिकारी

सम्बन्ध सुधार गर्ने, यसलाई अझ प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटाबलाई प्रेममा बदल्ने पर्व हो तीज । बालीनाली लगाइसकेपछि केही फुर्सदको समयमा माइतीबाट बाबु वा दाजुभाइ गएर छोरीचेलीलाई भेट्ने र सकेसम्म माइती लिएर फर्कने चलन छ, जसले माइती-चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउँछ । विवाह गरेर टाढा पुगेका दिदीबहिनीबिच भेट गराएर यो पर्वले उनीहरूको मन हलुका पार्न र सुखदुःख एकअर्कामा साटासाट गर्ने अवसरसमेत जुटाइदिन्छ ।

तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्त्व छ । रातो सारी; सुःख समृद्धि एवं साहसको, रातो टीका सौभाग्यको प्रतीक मानिन्छ । साथसाथै पोतेले शान्ति र आनन्द प्रदान गर्छ । यस पर्वमा गीतसङ्गीतको पनि विशेष महत्त्व रहन्छ । महिलाहरू विद्युतीय उपकरण र साधन नहुँदा समूहमा भेला भई गीत गाउँथे भने अहिले रेडियो र टेलिभिजनमा आधुनिक शैलीका गीत र नृत्य गुन्जिन थालेका छन् । तीजका गीतमा छोराछोरीबिचको विभेद, पीडा, सासुबुहारीको कचकच, दुःख ईर्ष्या आदि विषयमा समावेश हुन्थे तर अहिले तीज गीतका विषय पनि परिवर्तन भएका छन् ।

तीज पर्व पनि समयको परिवर्तित चक्र सँगसँगै परिवर्तन हुँदै आएको छ र समयअनुसार मूलभूत यथार्थ, मूल्य र मान्यतामा आँच नआउने गरी परिवर्तन आवश्यक छ पनि । हिजो माइती घर, व्रत, पूजा, पँधेरो, चौतारी अनि मन्दिरहरूमा सीमित हुने पर्व आज सहर, बजार, बस्ती, व्यवसाय, विद्युतीय सञ्चार माध्यमहरू लगायत सामाजिक सञ्जालहरूमा व्यापकता लिएको छ तर विगत केही वर्षहरूदेखि आधुनिकताको नाममा, परिवर्तनको बहानामा अनि सस्तो लोकप्रियता, सजिलो आय आर्जनको लोभमा, तीजजस्तो पवित्र चाडलाई विकृति, विसङ्गति र यौन स्वच्छन्दताको सिकार बनाइँदै छ । पोइल जान पाम, डिस्कोमा तीज हुँदै अगाडि बढेको तीज गीतको आधुनिक यात्राले यसपालिको तीजमा दरको साटो रक्सी खाइन्छ सम्मको उचाइ छोइराखेको छ । थाहा छैन यो आधुनिकताको स्वच्छन्द गतिले कुन उचाइ छुने हो ।

पहिले चुल्हो, चौको एवं घरधन्दाको व्यस्ततामै अल्झिएका अधिकांश महिला तीजमा मन खोलेर आफ्नो व्यथा पोख्थे । अहिले भने टोलटोलमा समूह बनाएर एक महिना अघिदेखि नाचगान र खानपिनका कार्यक्रम सञ्चालन गरिन्छ । यसले तीजको खास अर्थ र महत्त्वलाई मारेको मात्र छैन, संस्कार र संस्कृतियुक्त तीजलाई भड्किलो र उत्ताउलो बनाउँदै लगेको छ । आफूलाई आधुनिक र सहरिया मान्ने महिलाहरू होटलमा भेला भएर पार्टी आयोजित गर्ने र लट्ठिने गरी मदिरामा डुब्ने प्रवृत्ति विकास भएको छ । इज्जत र सभ्यता अनि सुन्दर देखिने नभई अरूको देखासिकी र प्रतिस्पर्धाका लागि गहना लगाउने चलन पनि भित्रिएको छ । हुने खाने वर्ग त यस्तो चलनमा रमाउलान्, हुँदा खाने वर्गले पनि देखासिकी गर्न खोज्दा समस्या जटिल हुन सक्छ ।

अहिले तीजको धार्मिक पक्षभन्दा पनि अन्य पक्षहरूलाई नै बढी जोड दिएजस्तो देखिन्छ । चेली-माइतीबीच सुमधुर सम्बन्ध राख्ने, माइतीघर जाने दुग्धजन्य परिकार खानेभन्दा पनि पार्टी प्यालेसमा भोजभतेर आयोजना गर्ने, अघोषित रूपमा गरगहना, पहिरनमा प्रतिस्पर्धा गर्ने, माछामासु र मदिराजन्य परिकार खाने प्रवृत्ति बढ्दो छ । यस्तो व्यवहारले मौलिक संस्कृतिलाई ओझेलमा पारेको छ ।

हरेक चाडपर्वको आफ्नै मौलिक पन र महत्त्व हुन्छ । आधुनिकताको नाममा यी चाडपर्वको खास अर्थ र महत्त्वलाई मर्न नदिऊँ । आउनुहोस्, हामी सबै मिली तीजलाई भड्किलो र उत्ताउलो नबनाई यसको मूल्य र मान्यतालाई आत्मसात् गर्दै मनाऔँ ।