
विश्वको कुइकेलद्वारा लिखित ‘गोपिचा’ उपन्यासका मुख्य पात्र गोपी शर्मा नेपाली समाजको एक जटिल यथार्थको प्रतिनिधि पात्र हुन् । उनको जीवन र सङ्घर्षले तत्कालीन नेपाली समाजको जातीय विभेद, रूढीवादी विचारधारा र प्रेमको मुक्तिवादी दृष्टिकोणको चित्रण गर्दछ । गोपी कुनै योजनाबद्ध विद्रोही थिएनन् । उनी केवल आफ्नो व्यक्तिगत भावनालाई पछ्याउँदै प्रेममा अगाडि बढे । उनका निर्णय र क्रियाकलापहरूले एउटा विस्तृत र गहिरो सामाजिक समस्यालाई उजागर गर्न पुग्यो । त्यसरी हेर्ने हो भने गोपीलाई एक विद्रोहीभन्दा पनि रूढीवादी समाजको एक शिकार भएका पात्र भन्दा बढी सुहाउँछ ।
झण्डै १०० वर्ष अगाडिकाे नेपाली समाज अत्यन्त जातीय भेदभाव र रूढिवादी सोचबाट भरिएको थियो । हुन त त्यसका झिल्काहरू उच्च जातका मानिसहरूले तल्लो जातका मानिसहरूसँग कुनै प्रकारको मेलमिलाप राख्न सक्दैनथे। जातीय संरचना र सामाजिक विभाजन यति कठोर थियो कि एक ब्राह्मणको लागि तल्लो जातका व्यक्तिसँग प्रेम गर्नु वा विवाह गर्नु त परै जाओस्, छुँदा राम्रो वचन प्रयोग गर्दा या मानवता देखाउनुसमेत अपराध जस्तो मानिन्थ्यो । गोपी शर्मा एक ब्राह्मणका रूपमा जन्मे र समाजका यी कडा नियमहरू र परम्परामा जीवन यापन गर्दै आएका थिए । उनले प्रेम गरेको व्यक्ति सुनकेसरी तल्लो जातकी थिइन् । जसले तत्कालीन समाजका रूढीवादी दृष्टिकोणलाई चुनौती दियो ।
गोपीको प्रेम कुनै राजनीतिक विचार वा सङ्घर्षको परिणाम थिएन । उनले यो कदम प्रेमका कारण उठाए तर कट्टरपन्थी सामाजिक दृष्टिकोणले यसलाई विद्रोहको रूपमा लियो । समाजको दृष्टिमा यो प्रेम एक अपराध थियो जसका कारण गोपीलाई सामाजिक रूपमा बहिष्कार गरियो । शारीरिक र मानसिक यातनाको शिकार बनाइयो । जेलमा हालियाे पनि । गोपीले आफ्नो प्रेमलाई प्राथमिकता दिए, जसले गर्दा उनले समाजको हरेक नियमलाई तोडे । जातीय असमानता र विभेदलाई उल्टाउँदै उनले एउटा व्यक्ति र तल्लो जातका व्यक्ति बीचको प्रेमलाई स्वीकारे । यस कारणले उनी समाजबाट बहिष्कृत गरिए र ‘गोपिचा’ भनेर लाजमर्दो नामाकरण गरियो । उनी मानसिक र शारीरिक यातनाको शिकार भए, जसले उनको सङ्घर्षलाई नजानिदाे तरिकाले अझ तीव्र बनायो । उनको समाजविरुद्धको यो कदम कुनै ठूलो राजनीतिक उद्देश्यको हिस्सा थिएन तर पनि उनको यो कदमले सामाजिक संरचनालाई चुनौती दियो र विद्रोह झैँ प्रकट भयो ।
गोपीको व्यक्तित्वलाई दुई दृष्टिकोणबाट हेर्न सकिन्छ । केहीले उनलाई असल पात्र मान्न सक्छन्, किनभने उनले आफ्नो प्रेमका लागि सामाजिक बाधाहरूलाई चुनौती दिएका थिए । उनका कार्यले समाजको गहिरो असमानता र अन्यायलाई उजागर गर्यो । तर केहीले गोपीलाई गैर-जिम्मेवार वा आत्मकेन्द्रित पात्रका रूपमा देख्न सक्छन् । उनले आफ्ना व्यक्तिगत इच्छालाई पछ्याए तर त्यसको परिणामस्वरूप उनी समाजसँग लड्न पुगे । उनले कुनै गहिरो सामाजिक उद्देश्य वा परिवर्तनको प्रयास गरेनन् । त्यसैले उनलाई केही पाठकहरू कमजोर गैर-जिम्मेवार पात्रको रूपमा देख्न सक्छन् । त्यतिबेलाको समाजले जे गोपी शर्माको न्याय भनी कदम उठायो त्यो पूर्ण रूपमा रुपमा गलतै हो । त्यो समाजको सोच गलत हो । त्यो समाजले बुझ्ने सही र गलत गलत हो । त्यो समाजका हितकार गलत हुन् र त्यो समाजका न्यायकर्ता गलत हुन् । यो पुस्तक पढिसक्दा मेरो मनमा उठेको प्रश्न के गोपी एक आदर्श पात्र थिए त ? यसले मलाई पक्कै अलमलमा पारेको छ।
मेरो विचारमा किन गोपी असल पात्र बन्न सकेनन् भन्दा पनि उनका बाबुआमाले सदैव उनको हित मात्र चाहेका थिए । उनलाई असल शिक्षा र सीप सिकाउन चाहेका थिए । तर उनले त्याे स्नेहकाे कदर गर्न सकेनन् वा जानेनन् । उनी आफ्नो मोज मस्तीमा हराउन चाहे । उनी खराब सङ्गतमा परे । गलत कदम उठाए केका लागि ? परिवर्तनका लागि ? होइन । आफ्नो व्यक्तिगत चाहनाका लागि । यसले के उनीलाई मात्रै नराम्रो गर्यो त ? अहँ, त्यो पनि होइन । गोपीको गलत कदमले गैर जिम्मेवारीले उनका सम्पूर्ण परिवारलाई नै हानि गर्न पुग्यो । मैले जातीय विभेदको नाममा कसैलाई ठूलो या सानो मान्नु सही हो भनेर ठम्याएकी होइनँ। म त्यो सोचको विरुद्ध छु । म समानतामा विश्वास गर्छु र मान्छु पनि । म हरेक व्यक्तिलाई सम्मान र सही व्यवहारको हक छ भन्ने कुरामा पनि सहमत छु । तर गोपीलाई व्यक्तिगत रूपमा हेर्दा मलाई ऊ एक अनुकरणीय पात्र भने लागेन । समाजको रूढीवादी सोचलाई यदि उनी चुनौती दिन चाहन्थे । विद्रोह नै गर्न चाहन्थे भने पनि उनी एक सही सोचले । सही कर्म गरेर परिवर्तन चाहेर अघि बढ्न सक्थे तर उनी केवल आफ्नो मूर्खताका कारण रुढीवादी समाजको एक शिकार बन्न पुगेका हुन् । अन्ततः उनी नेपाली समाजको कालो इतिहासको एक प्रतिनिधित्व गर्ने पात्र मात्र हुन् ।
डियरवाक सिफल स्कुल, कक्षा : १२



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

