कसैले कुनै बालकलाई सोध्यो – ‘ठूलो भएर के बन्छौ ?’

उत्तरमा डाक्टर, इन्जिनियर, पाइलट वा शिक्षकबाहेक दिमागमा के आउँथ्यो होला त्यो अबोध बालकलाई ? उसलाई कसरी थाहा भयो सपना यो पनि तुहिन सक्छ भनेर ?

हामी पनि बाल्यकालको सपनाको लहरोमा डाक्टर, इन्जिनियर, पाइलट, शिक्षक, आर्मी वा पुलिस बनेर फल्यौँ होला । अनि, समयसँगै ती सपनाहरू खस्दै खस्दै गए होलान् । तर कति भने त्यही सपनाको लहरोमा रसिलो फल बनेर डाक्टर, इन्जिनियर, पाइलट, शिक्षक, आर्मी वा पुलिस फल्नुभयो होला । सपनाको लहरोमा अडिग बनेर फल्न सक्ने तपाईँको जय होस् ।

सपनाको परिधि कतिसम्म हुन्छ त्यो सोच्न मेरो मगजले भ्याउँदैन । तर भन्नेले ‘सपना ठूलो देख्’ नै भने । तर कुन सपना ठूलो हो भन्नेचाहिँ अर्थ्याएनन् । उनीहरूको पनि जय होस् ।

लियो टोल्सटोयको एउटा कथा छ ‘मानिसलाई कति जमीन चाहिन्छ ?’ नामक शीर्षकको । कथाको पात्रले जसरी सारा शहरलाई आफ्नो बनाउने सपना बुन्छ र सपनाको पछि दौडिन्छ अन्त्यमा ऊ टाउकोदेखि पाइतालासम्मको जमीनमा आफ्नो सपनालाई विश्राम दिन्छ । आज पनि हामी सपनाकै पछि दौडिरहेका छौँ ।

नेपालभित्रको चार कुना बाँधेर मान्छेहरूका सपना खोज्ने हो भनेर ज्यादातर सपना एउटा गज्जबको घर बनाउने र परिवारसँग आनन्दसँग बस्नेभन्दा पर जान सकेको छैन । अनि यही सपनाको भूमिपूजनको तयारीका लागि परदेशका लागि पखेटा हालेको कुरा त तपाईँ हाम्रो परिवारभित्रकै कुरा हो ।

त्यसो त हामीलाई अहिले घरको सपना देखेको नौलो लाग्नु त्यति परिस्कृत सपना भने होइन । किनकि उहिल्यै भारतका कवि हरिवंश राय बच्चनले आफ्नो एक कवितामा भनेका छन् –

एक घडी खरिदकर हातमे क्या बाँधली

ये वक्त तो पिछे ही पडगया मेरे

सोचा था, घर बनाकर सकुन से बेठुगां

पर घरकी जरुरोतो ने मुसाफिर बना डाला

घर बनाउने सपना हामीबीच मात्र सीमित भने होइन रहेछ ।

सपना कस्तो हुन्छ ? हामीलाई सपनाको दूरदराज थाहा नहोला तर सपनाको उडान भने पक्कै थाहा छ ।

खैर, यहाँ सपना कसरी विभाजन भयो थाहा भएन, तर सपनाको खुड्किलो भने हरेक भर्याङ उभिएको जमीनअनुसार भिन्न छ ।

म मीठो गीत गाउँछु भन्नेको लागि उसको सपना एउटा ठूलो मञ्च होला । मञ्चको अगाडि दर्शकको भीड होला । अनि ऊ दर्शकको आँखामा हेर्दै आफ्नो प्रस्तुति दिइरहेको होला । यस्तै कस्तै सपनाको आहालमा तपाईँ पनि पौडी खेलिरहनुभएको छ । तपाईँको आँखा अगाडि सपनाको आहालमा के सपना सम्झेर डुबुल्की मार्नुभयो ?

कुनै युद्धमा होमिएको सैनिकलाई बाँच्ने सपना हुन्छ होला । अनि युद्धको भूमरीमा परेका दुवै पक्षका सैनिकलाई पनि त बाँच्ने सपना हुन्छ । दुवै सैनिक बाँच्नलाई युद्ध रोकिनुपर्छ । किनकि कुरा सपनाको छ, कुरा बाँच्नुको छ ।

कुनै पैदलयात्रीलाई साइकलको सपना, साइकल भएकालाई मोटरसाइकलको सपना, मोटरसाइकल हुनेलाई चार पाङ्ग्रेको सपना र चार पाङ्ग्रे हुनेलाई विमानको सपना हुन्छ होला । अनि विमान हुनेको सपनाचाहिँ के हुन्छ ? उसलाई पनि यी पैदल यात्रीदेखि चार पाङ्ग्रे चढ्नेसम्मलाई आफ्नो अधीनमा राख्ने सपना हुन्छ होला । सपना त हो देख्न पाइयो ।

दश वर्षे जनयुद्ध हाँक्नेहरूको पनि सपना देश बनाउने नै थियो होला, चौध वर्ष देश र जनताका लागि जेल जीवन बिताउनेहरूको पनि सपना देश बनाउने नै थियो होला । प्रधानमन्त्रीको सातौँ तक्मा थाप्न कस्सिएकाहरूको पनि सपना त देश बनाउने नै थियो होला । तर सबै सपना पूरा नहुने रहेछन् । सपना सही र आफू गलत भइयो भने देश बनाउनेहरूको सपना दुर्घटनामा परेजस्तै सपना पनि दुर्घटनामा पर्ने रहेछ । होस् ! हामी रुमाले जग्गामा एउटा घर बनाउने नै सपना देखौँ ।

यहाँ कसैको सपना एक छाक खानामा अल्झेको हुन सक्छ । यहाँ कसैको सपना एक रात मस्त निदाउन पाए भन्नेमा छ । यहाँ कसैको सपना खुशी हुन पाए भन्नेमा छ । मान्छेले टेकेको जमीनअनुसार सपनाको व्याख्या हुन्छ यहाँ ।

हाम्रा हजुरबुवाहरूको सपना थियो पहाडबाट मधेश झरेर उब्जनी जमीनमा खेती गर्ने । त्यसपछि त्यो सपना जवान भयो र हाम्रा बाहरूको मगजमा मुगलान् पस्ने भनेर घुम्न थाल्यो र अहिले सपना हामीबीच स्थान्तरण भएर देश पो छाड्ने कि भएर बसेको छ । हामी र बाहरूको सपनामा खासै फरक भने भएन । बाले सानै देशमा आँखा लगाए र छोराछोरी सम्झे । हामीले ठूला देशमा आँखा लगायौँ र बा–आमा नै पो बिर्सियौँ कि !

तपाईँलाई थाहा छ ? यहाँ देश छाड्ने सपनाहरूको लर्कोमा, परदेशमा कसैको सपना देश फर्किने पनि छ ।

मान्छेहरू मान्छेलाई नै भेट्ने सपना देख्छन् । क्या गज्जब लाग्छ मलाई, मान्छेले मान्छेलाई भेट्ने सपना । किनकि आफूलाई कसैले भेट्ने सपना बन्नको लागि त्यो मान्छेले आफ्नो सपनाको पछि कसरी दौडिएको थियो होला ?

आनन्द अधिकारीको शब्दमा लता मङ्गेस्कर गाउँछिन्, ‘सपना त सपना हो बिपनीमा रित्तिहाल्छ’ । यो निदाए पछिको सपना र निदाउनका लागि निन्द्रासँग बहस गरुञ्जेलको समयमा देखेको सपनामा कति फरक छ ?

सपना खासै ठूलो छैन । सपनाको आयतन कत्रो हुँदाचाहिँ सपना ठूलो हुन्छ ? कसैको सपना गाउँबाट शहर पस्ने हुन्छ । सपनाको ढोकाबाट शहर पसेपछि ऊ सामान्य दैनिकीमा आफूलाई चलायमान राख्छ कि सपनाको आयतन फैलाएर अर्को सपनाको पछाडि दौडिन्छ ?

गाउँमा आमाको एउटा सपना खासै ठूलो हुँदैन । गोठकी कोरलीले पहिलो बेतमै एउटी बाच्छी पाइदियोस् भन्ने हुन्छ ।  बाको सपना समयमै धानको बिउ मिलोस् भन्ने हुन्छ । तर समग्रमा बा–आमाको ठूलो सपना छोराछोरी ठूला मान्छे बनुन् नै हो ।

यो सपनाको जालो यति जेलिएको हुन्छ कि जसबाट मान्छेहरू सजिलै बाहिर निस्कन सक्दैनन् । न त जेलिएर नै बस्न सक्छन् ।

विवाह भएको वर्षौँसम्म पनि सन्तान नभएका एक जोडीलाई संसारकै सुखसयलको लोभ देखाए तापनि उनीहरूको सपनाको अन्तिम बिन्दु भनेको एक सन्तान प्राप्ति हुन सक्छ ।

अभावको हुरी छेकेर हुर्केको सन्तानले आफ्नो सपनाको खाल्डोमा कतै न कतै बा–आमाको खुशी पनि राखेको हुन्छ ।

एलन मस्कलाई अन्तरिक्षको सपना भएजस्तो कतिलाई एलन मस्क बस्ने देश पुग्ने सपना हुन सक्छ । त्यसैले त सपनाको कुनै आयतन हुँदैन ।

यही सपनाको फूलबारीमा हामी फुलेको धेरै भयो । त्यसो त  बगैँचाले आफूलाई जति नै लुकाए पनि फूलले म यहाँ छु भनेर फुलिदिन्छ । तपाईँको सपना फुलेर देखियो कि सपनाको कोपिला लाग्दैछ ?

सानो बालक आफूलाई ठूलो भएको वा वयस्क भएको सपना देख्छ । अनि त्यही समयमा कुनै वृद्ध आफ्नो नाति वा नातिनीको बिहे भएको हेर्ने सपना देखिरहेका हुन्छन् । त्यसैले त सपनाको कुनै सीमा हुँदैन ।

हिमाल चढिरहेको यात्रीलाई शिखर पुग्ने सपना हुन्छ । अनि हिमालबाट झरिरहेको यात्रीलाई सकुशल बेस क्याम्प पुग्ने सपना हुन्छ । त्यसैले सपनाको कुनै क्षेत्र हुँदैन ।

यही सपनाको नदीमा डुबुल्की मारिरहँदा डाक्टर बन्ने सपना देखेकाहरू आज आफ्नै जिन्दगीको उपचार गरिरहेका छन् । पाइलट बन्ने सपना देख्नेहरू आज आफ्नै जिन्दगीको उडानमा व्यस्त छन् । शिक्षकको सपना देख्नेहरू समयको परीक्षा दिइरहेका छन् । इन्जिनियरको सपनालाई अँगालेकाहरू जीवनको गति नापिरहेका छन् ।

कहाँ सधैँ, सजिलै र सबै सपना पूरा हुन्छ र ? तापनि ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ ।

हरिॐ ।