मुक्तिनाथ दर्शन साहित्य समाज नेपालले साहित्य तथा समाज सेवामाका क्षेत्रमा योगदान गर्ने विशिष्ट प्रतिभाहरूलाई शनिबार नेपाल प्रज्ञा प्रतिष्ठनमा आयोजित एक कार्यक्रममा सम्मान गरेको छ ।

कार्यक्रममा वरिष्ठ समालोचक एवम् चर्चित निबन्धकार गोपी मैनालीलाई साहित्य उद्बोधन सम्मान–२०७९ एवम् नगद पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा अन्य स्रष्टाहरू सञ्चारकर्मी त्रिभुवनचन्द्र वाग्ले, नियात्राकार रामप्रसाद पन्त, वरिष्ठ साहित्यकार विजय चालिसे, साहित्यकार एवम् सञ्चारकर्मी दुर्गाकिरण तिवारी, वियोगी बुढाथोकी, रामप्रसाद ज्ञवाली, बालस्रष्टा अनुश्री अधिकारीलाई समेत सम्मान, कदर र नगद पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि डा. विमल कोइरालाले साहित्य सिर्जना सर्जकको मथिङ्गलको भावनात्मक उत्पादन हो, यसका कच्चा पदार्थ कल्पना, प्रज्ञा, दर्शन हो, जुन अन्य उत्पादनका जस्ता सजिलै उपलव्ध हुँदैन भन्दै सम्मानित एवम् पुरस्कृत व्यक्तिहरूलाई बधाइ दिनुभएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व गोपी मैनालीले राष्टका प्रतिभाहरूलाई समाजले सम्मान गरेर पवित्र काम गरेकोमा प्रशंसा गर्दै पुरस्कार र सम्मान ठीक ठाउँमा पर्न गए मात्र र पुरस्कार र पुरस्कृतको गरिमा बढ्ने गर्दछ भन्दै आफू सम्मानित भएपछि साहित्यका क्षेत्रमा अतिरिक्त जिम्मेवारी थपिएको महसुस भएको बताउनुभयो ।

मुक्तिनाथ दर्शन समाजका अध्यक्ष हरिभक्त सिग्देल महेशको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा वरिष्ठ समालोचक युवराज मैनाली, वरिष्ठ समालोचक डा. खेम कोइराला बन्धु, प्रा. डा. अर्जुनदेव भट्ट, कल्पना दाहाल, सुचिता काफ्ले लगायत सयभन्दा बढी साहित्यकारहरुको उपस्थिति थियो ।