कोविद १९ रोगका कारण संसार नै बन्दाबन्दीमा रहेका कारण ‘मधुपर्क’कै इतिहासमा पहिलो पटक नयाँ अङ्क ६११ संयुक्त अङ्क (वैशाख, जेठ, असार २०७७) असार १ गते प्रकाशित भएको छ। रोचक के छ भने, यसलाई छापामा प्रकाशन नगरी अनलाइन संस्करण निकालिएको हो। www.gorkhapatraonline.com मा यसलाई पढ्न सकिने सम्पादक जयदेव भट्टराईले जनाएका छन्।

सम्पादक भट्टराई र आलेख संयोजक अभय श्रेष्ठकै टोलीले यो संयुक्त अङ्क निकालेको हो। सम्पादन समूहका अनुसार यसलाई चाँडै नै छापा संस्करणमा पनि प्रकाशित गरिनेछ।

मधुपर्कको यस अंकमा ‘बुद्ध दर्शन विशेष’ रहेको छ। जसमा ‘सिद्धार्थले किन दरबार छाडे ?: बीआर अम्बेडकर’, बुद्ध र मार्क्सको मिलनबिन्दुः तुल्सीदास महर्जन, बुद्धका प्रेरक वाणी र रोचक प्रसङ्ग, बुद्ध दर्शनमा अनात्माः डा. केशवमान शाक्य, बौद्ध सङ्घमा नारीः डा रीना तुलाधर, सुन्दर मधिकर्मी, योगेन्द्र प्रधान र सरस्वती प्रतीक्षाका बुद्ध दर्शन वा जीवनमाथिका कविता, बुद्ध दर्शनका प्रगतिशील पक्षः गोविन्द भट्ट, बुद्ध दर्शनमा करुणाः नेत्र आचार्य, अनित्य, दुःख र अनात्माः बसन्त महर्जन, क्रान्तिकारी तर समस्याग्रस्तः राहुल साङ्कृत्यायन, समीक्षाको कसीमा बौद्ध धर्मः सत्यभक्त, बुद्धका आर्य सत्य आदि आलेख संगृहित छन्।

त्यसरी नै कवितामा गोविन्द वर्तमान, नीलकमल, राम विनय, रमेश श्रेष्ठ, भूपिन, सतिश त्रिपाठी ‘सार्थक, कृसु क्षेत्री, महेश रेग्मी, ज्ञान उदास, घिमिरे युवराज, उषा शेरचन, ठाकुर बेलवासे, रामेश्वर राउत मातृदास, लीलाराज दाहाल, साम्ब ढकाल, राजेशमान केसी, ज्ञानशाली पन्त जिज्ञासु, गोविन्द नेपाल, कमला रिसाल ज्योति, लीला अधिकारी, मुकुन्द पौडेल, ऋषि पाण्डे ‘शीलम’, उपमा आचार्यका प्रकाशित छन् भने गोविन्द गिरी प्रेरणा, मान्छेको स्वाद, रत्न प्रजापति, होमशङ्कर बास्तोला, विन्दु अधिकारी ढकाल, दुर्लभलाल सिंह आदिका कथा लघुकथाहरू छन्।

यसरी नै हालै दिवंगत गीतकार रत्नशमशेर थापाबारे जयदेव भट्टराईको आलेख प्रकाशित छ। यसका साथै डा. डीपी भण्डारी, डा. कान्छी महर्जन, सृजन लम्साल, घनबहादुर थापा, डा. गोविन्दराज भट्टराई, रमेश गोर्खाली, जेबी दर्लामी, आत्माराम खरेल, रञ्जुश्री पराजुलीका लेख-निबन्ध, अनुभूति-नियात्राहरू संगृहित छन्। मूल्य रु २५ तोकिए पनि अहिले अनलाइनमा सित्तैमा पढ्न सकिने शब्दपथले जनाएको छ।