सन्धिखर्क (अर्घाखाँची), कात्तिक ५ / तेस्रो छेस्का कविता कृति ‘अनुराग’ आज अर्घाखाँचीमा सार्वजनिक गरियो ।

लुम्बिनी वाङमय प्रतिष्ठान अर्घाखाँची शाखाद्वरा आयोजित एक विशेष साहित्यिक कार्यक्रमका बीच कवि ज्ञान बहादुर क्षेत्रीको एकल छेस्का कवितासङ्ग्रह ‘अनुराग’को विमोचन सम्पन्न भएको हो ।

कृतिको लुम्बिनी वाङमय प्रतिष्ठानका अध्यक्ष ऋषिराज आचार्य आजाद तथा छेस्का साहित्य नेपाकला सदस्य ओम आचार्यले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो भने ‘अनुराग’ माथि पाणिनी बहुमुखी क्याम्पसका प्राध्यापक माधवराज चुदालीले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

कृतिबारे टिप्पणी गर्दै उहाँले अर्घाखाँचीले एउटा साहित्यिक कीर्तिमान कायम गरेकोमा गौरव गर्नुपर्ने बताउनुभयो । लुम्बिनी वाङमय प्रतिष्ठान अर्घाखाँची शाखाका अध्यक्ष लीलामणि ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा छेस्का कविता र छेस्का साहित्य नेपालको गतिबिधिबारे ओम आचार्यले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा प्रमुख व्यक्तित्व साहित्यकार समालोचक ऋषि आचार्य आजादले लुम्बिनी वाङमय प्रतिष्ठानले कवि ज्ञानबहादुर क्षेत्रीको छेस्का कविता सङ्ग्रह अनुरागको प्रकाशन गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा अरु सर्जकका कृतिहरु पनि क्रमशः प्रकाशनमा ल्याइने लक्ष्य रहेको बताउनुभयो । कृतिकार कवि ज्ञान बहादुर क्षेत्रीले आफ्नो साहित्यिक यात्राको चर्चा गर्नुभएको कार्यक्रम कवि तीर्थ आचार्यले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा करिब ४० जना साहित्यकार तथा सञ्चारकर्मीको उपस्थिति थियो ।

स्मरणीय छ, नेपाली काव्य साहित्यको लघुतम रुप छेस्का कविता लेखनको प्रारम्भ विनोद नेपालले गरेका हुन् र यसअघि ‘अभिव्यञ्जना’ नामक नौ जना छेस्का कविता अभियन्ताहरू टङ्क पन्थ, विनोद नेपाल, खगेन्द्र बस्याल, जयनारायण नेपाल, हृदय लेकाली, एलपी पराजुली, ओम आचार्य, किशन पौडेल तथा मुरारीराज मिश्रको संयुक्त र एलपी पराजुलीको ‘छनक’ नामक एकल छेस्का कविता कृति प्रकाशित भइसकेका छन् ।