हिमाल खबरपत्रिकाले हरेक दशैंका बेला प्रकाशन गर्ने दशैंविशेष साहित्य धेरैको पर्खाइमा हुने गरेको छ । असोज १ देखि बजारमा आएको हिमालको यस पटकको दशैं विशेष सामग्रीहरूले पहिलेको हिमालको क्रेजलाई कायम राख्न सफल भएको छ ।

कोभिड १९ का कारण साप्ताहिक हिमालको प्रकाशन बन्द भएको थियो । पुनः सुचारू भएपछि पत्रिका यतिबेला मासिकमा परिणत भएको छ । तथापि दशैंका बेला प्रकाशन गर्ने साहित्य विशेषका कारण रोज्जा पत्रिकाका रूपमा धेरैको मन मस्तिष्कमा बस्न सफल भएको थियो ।

सो क्रेजलाई यसपाला हिमालले कायम राख्न सफल भएको छ ।

हिमालले यस पटक नेपाली सङ्गीतको विविध पक्षलाइ कभर स्टोरी बनाएको छ, गाउँछ गीत नेपाली शीर्षकमा । यसले नेपाली सङ्गीतले विधागत रूपमा मारेको छलाङका विविध आयामका बारेमा विज्ञ लेखकहरूको टिप्पणी पनि प्रकाशन गरेको छ ।

हिमालले आफ्नो दशैं साहित्य विशेष २०७९ मा कभर चाहिँ प्रख्यात चित्रकार एससी सुमनको लकडाउन ब्लुजको राखेको छ । मनोहर सो चित्रकला सुमनको शृंखलाबद्ध चित्रकलाको एउटा चित्र हो ।

पत्रिकाले साहित्य र समाजलाई सुरेश ढकाल, अमर न्यौपाने, नयनराज पाण्डे, गुरूङ सुशान्त, रणेन्द्र बरालीको कोणबाट हेरेको छ । उहाँहरूका तिखा नजरका विश्लेषणले समाजका विविध पाटाबारे आँखा खोलिदिन्छ ।

त्यस्तै श्रवण मुकारूङसँगको विशेष अन्तरवार्ता निकै रोचक र पठनीय छ । गणेश खनिया, प्राध्यापक अरूण गुप्तोको अन्तरवार्ता पनि रोचक छ ।

यस अङ्कमा विजेता चौधरी, कुमार नगरकोटी, दिनमान गुर्मछान, संगीत मगर, सुबिन भट्टराई, राजेन्द्र विमलका कथासँगै अविनाश श्रेष्ठ, हरिशरण परियार, विवेक धिमाल, रीमा केसी, चन्द्र घिमिरे, याक्दुहाङ धिरज, सुष्मा रानाहँमा, छम गुरूङ, नदीश, प्रतिभा पाठकका कविता निकै सुन्दर छन् ।

शैलीका छेत्री र वसन्त थापाका मनोहर संस्मरण निकै पठनीय छन् ।

यस्तै चिनियाँ राजदूत याङ कोङ्सुको अरनिको राजमार्गसम्बन्धी अनुदित सामग्री र मोहन मैनाली तथा प्रकाश वस्तीको रोचक र पठनीय निबन्धसमेत सङ्ग्रहित छन् ।

समग्रमा, हिमालको यो अङ्क सङ्ग्रहणीय बनेको छ ।

हिमाल खबरपत्रिका हिमाल मिडिया प्रा.लि.द्वारा प्रकाशित पत्रिका हो । यसले अनलाइन हिमालखबरडटकम सञ्चालन गर्ने गर्छ । यसका प्रकाशक कनकमणि दीक्षित हुनुहुन्छ भने पत्रिकाका सम्पादक रविन गिरी हुनुहुन्छ ।