कोभिड १९ र त्यसअघिका अनेक समस्याले जेलिएको देश र नागरिकको अवस्था झनझन बिग्रँदै जाँदा पनि शासकहरुको विलासितामा रत्तिभर परिवर्तन नआउनु ‘गणतान्त्रिक’ मुलुकका नागरिकको दुर्भाग्य भएको बताउँदै शिल्पी थिएटरले एउटा खबरदारी कार्यक्रम आयोजना गर्यो।

चुनाब जितेर सत्तामा जानु भनेको जनताले पसिना र रगत बगाएर कमाएको पैसामाथि मोज गर्ने हैन, विधिको शासन सञ्चालन गर्न जनताले दिएको वैधानिकता हो भन्ने बुझाउन यस किसिमको खबरदारी आयोजना गरेको शिल्पीका संयोजक घिमिरे युवराजले जनाएका छन्।

घिमिरेले खबरदारी कार्यक्रमका मुख्य चार बुँदा भएको बताएका छन् । चरम संकटको अवस्थामा प्रधानमन्त्री, मन्त्री तथा सांसदहरुले नैतिकताका आधारमा एक वर्षसम्म आफ्नो तलब र सुविधाको ५० प्रतिशत रकम राज्यकोषलाई फिर्ता गरुन्, रुकुमको चौरजहारीमा भएको दलित नरसंहारमा संलग्न सबैलाई दण्ड होस्, महामारीको बहानामा लापरबाहीपूर्वक गरिएको लकडाउनको कारण जीवन संकटमा परेका मजदुर तथा विपन्न वर्गको जीवन रक्षा गरियोस् तथा महामारी रोकथामका लागि सरकारले खर्च गरेको भनिएको १० अर्ब रुपैयाँ कहाँकहाँ खर्च भयो, हिसाब सार्वजनिक गरियोस् भन्ने आफ्नो माग रहेको उनले बताए ।