साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूद्वारा लिखित को ‘पनौतीको बाह्रवर्षे मकरमेला’ नेपाली भाषामा र Makar Mela of Panauti अंग्रजी भाषामा लिखित दुई पुस्तक तथा पनौतीको चिनारी बोकेको गीत लोकार्पण गरिएको छ ।

पुस्तक विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले लेखन र साहित्यकर्ममा निरन्तर लाग्दै आएका लाकोजू पनौतीको गौरव रहेको विचार व्यक्त गर्नुभयो ।

एक अर्को प्रसंगमा उहाँले साहित्यको विकासबाट सभ्य समाजको निर्माणमा महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ साहित्यकार मोहन दुवालले सर्जकहरुको लेखन समाजको दर्पण भएको बताउँदै जनप्रतिनिधिहरुमा पनि साहित्य र लेखनप्रति सकारात्मक धारणा हुनुपर्ने विचार प्रकट गर्नुभयो। समालोचक तथा आख्यानकार प्रभा बरालले नेपाली साहित्यमा मात्र नभइ संस्कृतिमा समेत सफलतापूर्वक कलम चलाइरहनुभएका लाकोजूको विमोतिच कृतिले पनौती नगरलाई जान्न चाहने सबैका लागि उपयोगी रहेका विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा लेखकीय मन्तव्य व्यक्त गर्दै लेखक लाकोजूले खोज, अनुसन्धानको काम जटिल र कठिन भएपनि आफ्नो जन्मथलोलाई चिनाउन यस्ता पुस्तक लेखेको बताउनुभयो ।

लोकार्पण गरिएको पुस्तकमा मकरमेलाका बारेमा, पनौतीको ऐतिहासिक, प्राकृतिक, त्रिवेणी क्षेत्रमा अवस्थित अशंख्य मन्दिरहरुको धार्मिकता तथा किम्बदन्तीहरुको बारेमा उल्लेख गरिएको छ। पनौती क्षेत्रको ऐतिहासिकता र चिनारीलाई विश्वमाझ परिचित गराउन मकर मेला संगै पनौतीको चिनारी समेटेर अंग्रेजी लिपिमा पनि प्रकाशित गरी आज लोकार्पण गरिएको हो।

कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसक्षे, विमोचित गीतका गायक विजयराम कर्माचार्य, रामसुन्दर देउजा, संगीतकार सुरेन्द्र श्रेष्ठ, प्याब्सन पनौतीका अध्यक्ष विमल न्यौपाने लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम स्वस्थ्य मापदण्ड अपनाएर सीमित काभ्रेली साहित्यकाररू, समाजसेवी लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।