शताब्दी पुरुष सत्यमोहन जोशी

देशको जेठो नगरपालिका ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन मेयरहरुको सम्मेलनमा सहभागी हुन फ्रान्स पुगेका छन् । फ्रान्सका मेयर आल्ञा इस्कुदेलारो (Alain Scudellaro) को निमन्त्रणामा उनी गत बुधबार फ्रान्स पुगेका हुन् ।

फ्रान्समा मेयर महर्जनले शताब्दी पुरुष तथा संस्कृतिविद सत्यमोहन जोशीको प्रतिमा फ्रान्सको एक सहरमा बनाउने समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । ललितपुर महानगरपालिकाले आफ्नो प्रेस विज्ञप्तिमा भनेको छ, “फ्रान्सका प्रख्यात कविको सालिक ललितपुर महानगरपालिकाभित्रको कुनै स्थानमा र एक सय दुई वर्षका वाङ्मय शताब्दी पुरुष, संस्कृतिविद् सत्यमोहन जोशीको प्रतिमा फ्रान्सको एक सहरमा राख्ने सन्दर्भ लगायतका समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।”

साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वको सालिक तथा प्रतिमा स्थापनाले अपनत्व र घनिष्टता वृद्धिमा सहयोग पुर्याउने विश्वास महानगरको रहेको जनाइएको छ ।

फ्रान्सको विभिन्न प्रान्तहरुका मेयरहरुको सम्मेलनमा प्रमुख अतिथिका रुपमा सहभागी हुन मेयर महर्जन फ्रान्स गएका हुन । मेयरको यो भ्रमण ललितपुर महानगरपालिकाको लागि मात्र नभएर देशभरका स्थानीय तहको विकासका लागि पनि महत्वपूणर् रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मेयर महर्जनले नेपालका २५ भन्दा बढी स्थानीय तह र फ्रान्सका विभिन्न स्थानीय तहहरुबिच भागिनी सम्बन्ध स्थापनाका लागि समन्वयन गर्नेछन् । साथै, भागिनी सम्बन्धले नेपाल र फ्रान्सका स्थानीय निकायबिचको सम्बन्धलाई मजबुत बनाउँदै विकास निमाणर्मा सहयोग पुर्याउने, र अनुभवको आदानप्रदानले नेपालका स्थानीय तह तथा सहरहरुको विकासमा मद्दत पुर्याउने विश्वास ललितपुर महानगरको रहेको छ ।

तस्बिरः अन्तुवान बोँफिस (फ्रान्स)