काभ्रे ∕ साहित्यकार तथा संसकृतिकर्मी सूर्यप्रसाद लाकोजूको परिमार्जित परिचयात्मक पुस्तक पनौती प्रकाशित भएको छ ।
पनौती नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि भीम न्यौपानेले लक्ष्मीपूजाका दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तिको अवसर पारेर सो पुस्तक लोकार्पण गर्नु भएको छ ।
पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पुस्तक राम्रो र पठनीय बनेको विचार पोख्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशाशकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, कृतिकार सूर्यप्रसाद लाकोजू, पूर्व नगरप्रमुख सप्तकाजी बुद्धाचार्य, लेखक तुयुकाजी ताम्राकार, संगीतकार सुरेश अधिकारी, रामचन्द्र नास्नानी, पुरूषोतम कर्माचार्य लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
विगत लामो समयदेखि साहित्यिक पत्रकारिता क्षेत्रमा समेत क्रियाशील बन्दै आउनुभएका लाकोजूबाट लिखित करिब ३५० पृष्ठको सो पुस्तकमा पनौतीको इतिहास, शिक्षा, धर्म, संस्कृति, कला, जात्रापर्व, साहित्य, पर्यटनजस्ता विषय समेटिएका छन् ।
नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका लाकोजूका कविता, बालसाहित्य, कथा, नियात्रा, निबन्धजस्ता साहित्यिक विधाका दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

