पोखरा, कार्तिक १२ / नेपाली वाङ्मयको जरोटुप्पो संरक्षण हुन आवश्यक छ भन्ने ध्येयले क्रियाशील जरोटुप्पो संरक्षण साहित्य समाज नेपालमा महिला सशक्तिकरणका लागि कोष स्थापना भएको छ ।
राष्ट्रिय एकता, देशभक्ति र साहित्यको उन्नति उद्घोषका साथ क्रियाशील संस्थामा समाजसेवी सिद्धि गौचनको ११ औं स्मृति सभाका बीच सिद्धि गौचन स्मृति कोष घोषणा भएको हो ।
कार्यक्रममा वक्ता सरुभक्तले तत्कालीन समयमा सिद्धि गौचनको नेतृत्व क्षमता, सामाजिक सेवा र समुन्नत समाज निर्माणको कार्ययोजना प्रभावकारी रहेको बताए ।
प्राध्यापक ज्योति गौचनले सिद्धि गौचनलाई बहुआयामिक व्यक्तित्वका रुपमा चिनाइन् । ज्योतिले थकाली समुदायकी महिला भएर पनि सिद्धि गौचन थकाली, नेपाली, नेपाल र अंग्रेजी भाषामा पोख्त प्रतिभा भएको बताइन् ।
सिद्धि गौचनका श्रीमान् विश्वमोहन गौचनले सिद्धि गौचन जीवनसंगिनी मात्र नभएर कुशल अभिभावकका रुपमा आफ्ना जीवनमा आएकाले उनको योगदानलाई चिरस्थायी बनाउन कोष स्थापना गरेको बताए ।
उनले जरोटुप्पो संरक्षण साहित्य समाज नेपालका अध्यक्ष डा नारायण अधिकारीलाई दुई लाख ८० हजार आठ सय रुपैयाँ हस्तान्तरण गर्दै समाजमा श्रीमतीलाई गरिने व्यवहारमा समयानुकूल परिवर्तन हुन आवश्यक रहेको बताए ।
समारोहमा विश्वमोहन गौचनका बहिनीज्वाइँ विश्वशान्ति शेरचन र ज्ञानबहादुर शेरचनबाट १५ हजार, भाञ्जीज्वाइँ डा. अनु शेरचन शर्मा र डा राजन शर्माबाट १० हजार उक्त कोषमा थप गरेका थिए ।
डा. नारायण अधिकारीले समाजमा जुन व्यक्तित्व जसका लागि बाँचेको हुन्छ त्यसको स्मरण सोही अनुरुप हुने भएकाले सिद्धि गौचनको सामाजिक व्यक्तित्वलाई जीवन्त राख्न संस्थाले कुनै कसर बाँकी नराख्ने बताए ।
जरोटुप्पोका कोषाध्यक्ष असफल गौतमले संस्थाले सिद्धि गौचन स्मृति कोष निर्देशिका २०७८ तयार गरेर कोषलाई व्यवस्थापन गर्ने बताए । उनले वर्तमानमा हरेक दुई वर्षमा प्रदेशस्तरमा महिला सशक्तिकरणका घरेलु उद्योग, सिलाइबुनाइ, कृषि, शिक्षा, स्वास्थ्य, समाजसेवा, कला, साहित्य, संगीतलगायतका विविध क्षेत्रमा जीवन समर्पण गरेका एक जना प्रतिभालाई १० हजार एक सय ११ राशीसहित सिद्धि गौचन महिला सशक्तिकरण पुरस्कार अर्पण गरिने बताए ।
इन्द्रहुमा वाङ्मयकोषका संस्थापक सविन जिसीले सामाजिक काम गर्ने व्यक्तित्वलाई सदा साथ र सहयोग आवश्यक पर्ने बताउँदै जरोटुप्पोबाट सञ्चालन हुँदै आएको उक्त कोषमा ५० हजार थप गरी कोषको रकम एक लाख ६१ हजार एक सय ११ पु-याउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा थकाली सेवा समितिका अध्यक्ष ई. गोविन्द गौचन, थासाङ युवा परिवारका अध्यक्ष वसन्त भट्टचन, संस्थाका उपाध्यक्ष प्राडा यामबहादुर पौडेल क्षत्री, महासचिव मदन भण्डारीलगायतले सिद्धि गौचनको सामाजिक, राजनीतिक, सांस्कृतिक योगदानका बारेमा चर्चा गरेका थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

