प्रगतिशील, जनवादी, क्रान्तिकारी गायक जेबी टुहुरेको निधन भएको छ । मस्तिष्कघात भएर बयोधा अस्पतालमा उपचारत टुहुरेको ७८ वर्षको उमेरमा निधन भएको हाे ।
भदौ १ गते मंगलबार कलंकीस्थित निवासमा लडेपछि उनलाई बयोधा अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मस्तिष्कघात भएको बताएका थिए । टुहुरेका पत्नी सत्यदेवी, एक छोरा, चार छोरी छन् ।
पाँच दशक प्रगतिशील सांस्कृतिक क्षेत्रमा सक्रिय रहेका टुहुरेका ‘आमा दिदी बहिनी’, ‘बसाईं हिँड्नेको ताँतीले’, ‘आँधी खोलैले’, ‘चौरी चर्ने ठाउँमा’, ‘छोराहरु हो’, ‘जुनीभरी मुटु’, ‘दु:खको बोझ’, ‘रातको अनिँदो’लगायतका थुप्रै गीत चर्चित छन् ।
टुहुरेको शव बिहीबार दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र पशुपतिमा दाहसंस्कार गरिने छ ।
२००१ कार्तिक १५ मा धरानको पुरानो बजारमा जन्मिएका जेबीले न्याय, समानता र परिवर्तनको पक्षमा उभिँदै जनमत निर्माणका लागि थुप्रै गीतहरू गाए । माले भूमिगत हुँदा सांस्कृतिक कार्यक्रममार्फत् उनले पार्टीका कुरालाई आमजनता माझ पुर्याए ।
जेबीको पूरा नाम जुठबहादुर खड्गी हो । विस. २०२१ मा बुवाको निधनपछि उनी टुहुरो बने । त्यतिबेला उनले आफूलाई वास्तवमै टुहुरो अनुभव गरे । त्यतिखेर ‘निक नेम’ राख्ने चलन पनि थियो । उनले आफ्नो नामको पछाडि ‘टुहुरे’ थपे । त्यसयता प्रगतिशील गायन क्षेत्रमा उनी टुहुरेकै नामैले चिनिए ।
विस. २०२० को दशकदेखि कम्युनिष्ट पार्टीको निकटमा रहेर कम्युनिष्ट पार्टी निर्माणका लागि गीत गाउँदै हिँडे उनी । विस. २०६६ मा उनी माओवादीमा प्रवेश गरे । त्यसयता माओवादीका लागि उनले आफ्नो स्वर दिँदै आएका थिए ।
सन् २०७० मा उनी संविधानसभा सदस्य समेत भएका थिए । क्रान्तिकारी गीत गाएकै कारण उनी कयौंपटक जेल जानुपर्यो । उनी तत्कालीन मालेका नेता मात्रै नभई सांस्कृतिक टोलीका नेता पनि थिए । उनले पार्टीको लागि गाउँदै हिँड्दा जीवन गुजाराका लागि कपडा पसलदेखि साग बेच्नेसम्म र किताब पसल तथा होटलसमेत चलाए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

