कवि सूर्यप्रसाद लाकोजूको कविता सङ्ग्रह ‘घाम फुल्ने याम’ हालै बजारमा आएको छ । ट्रान्सवल्ड प्रकाशन प्रकाशक रहेको सो कवितासङ्ग्रहमा विविध विषयका ५८ ओटा कविताहरू सङ्ग्रहित छन् ।

नेपाली भाषा र साहित्यमा निरन्तर दुई दशकदेखि लागिरहेका घामकवि सूर्यप्रसाद लाकोजूको ‘घाम फुल्ने याम’ कविताङ्ग्रह बुबाबाट प्रारम्भ भएको छ भने आमा कवितामा पुगेर टुङ्गिएको छ । बीचमा विविध विषयका अन्य कविताहरू सङ्कलित छन् । कवितासङ्ग्रहमा कवि लाकोजूका परिचित शैलीका सुन्दर कविता छन् ।
केही कविता आफ्नै प्यारो जन्मभूमिलाई छुने, केही प्रेमका, केही आदर्शका, केही आफ्नो परिवेशका कविता छन् । घाम फुल्ने यामभित्रका कविताहरूमा एक दिन अवश्य उज्यालो घाम लाग्ने आशा गरिएको छ । कविताहरूले छलछाम गरेर सत्ताको सुख हत्याई देश र जनतालाई ढाँटिरहने सक्रिय वर्गमाथि रोष प्रकट गर्नुभएको छ।

नयाँ पुस्ताले अनेकबार बलिदान गरे, तर देश भ्रष्टहरूकै हातमा परेको यथार्थता कवितामा छ । प्रस्तुत सङ्ग्रहका अधिकांश कविता छोटा आकारका छन् र तिनमा विषय वा भावको विविधता पाइन्छ । मानवीय संवेदना, देशको राजनीतिक विसङ्गति, नेताहरूमा देखिएको स्वार्थी र अवसरवादी चरित्र, मानवीय कमीकमजोरी, मानवीय सम्बन्धमा आउने उतारचढाव जस्ता विषयमा कविता रचिएका छन् । यसका साथै आत्मिक प्रेममाथिको विश्वास, देशका सपुतप्रति सम्मान, प्रकृतिप्रेम, संस्कृतिप्रेम आदि पनि कविता भएर आएका छन् ।

लामो समयदेखि साहित्य कर्ममा रमाउँदै आएका लाकोजूका घाम फुल्ने याम कवितासङ्ग्रहका अलावा भावनाका पूmलहरु (मुक्तकसङ्ग्रह), फूलहरुको मेला (मुक्तकसङ्ग्रह), स्पर्श (कवितासङ्ग्रह), मेरो मन मेरो मीत (कवितासङ्ग्रह), पनौती (अनुसन्धानमूलक), पनौतीको बाह्वर्षे मकरमेला(अनुसन्धानमूलक), स्मृतिका आलेखहरु, प्रेरणाको चौतारी (प्रेरकप्रङ्ग), गुराँस फुल्ने मन (हाइकुसङ्ग्रह), कोपिला (बालकवितासङ्ग्रह), केही काभ्रेली अक्षरकर्मीहरु—१, घामको चुम्वन (कवितासङ्ग्रह), अक्षरका स्वरहरु (हाइकुसङ्ग्रह), सुसेली (गीतसङ्ग्रह), यःमरी (परिचयात्मक बालपुस्तक), घाम उदायो (बालकविता सङ्ग्रह), शाश्वत स्वरहरू (मुक्तकसङग्रह), मेरो घाम (कवितासङ्ग्रह), फूलैफूल (बालकविता सङ्ग्रह), साथी (बालकविता सङ्ग्रह), मेरो सानो घर (बालकविता सङ्ग्रह), आसामको स्पर्श (नियात्रा), दिवाकरका चुम्वन (कवितासङ्ग्रह, हिन्दीमा अनुदित) र Atithee (अंग्रेजी कथा) आदि प्रकाशित छन् भने दुई दर्जनकै सङ्ख्यामा विभिन्न स्मारिका, स्मृतिग्रन्थहरु, साहित्यिक कृतिहरूको सम्पादन पनि गरेका छन् । कवि लाकोजू विगत लामो समयदेखि साहित्यिक पत्रकारिता क्षेत्रमा समेत क्रियाशील रहँदै आउनु भएको छ ।