वी रिडबाट चित्रकार सुरेश कुमार द्यःलाले बनाएका विभिन्न साहित्यकार र कविका मुहारचित्रमा कवि मञ्जुलले लेखेका कविताहरु समेटिएको ‘हाम्रा कवि र साहित्यकार’ नामक चित्रकविता सङ्ग्रह प्रकाशित भएको छ । यस संग्रहमा भानुभक्तदेखि सरुभक्तसम्मका मुहारचित्र र ती मुहारचित्रले बोल्ने कविताहरु छन् ।
साहित्यकारहरुका सिर्जनामा पाइने भाव र उनीहरुका मुखाकृतिमा देखिने भावअन्तर सम्बन्धित हुन्छन् भन्ने चित्रकार सुरेश कुमारलाई लाग्छ । त्यसैअनुरुप उनले कवि र साहित्यकारका मुहारचित्र चारकोलले बनाएका थिए । ती मुहारचित्र हेरेर कवि मञ्जुलले ती मुहारचित्र माथि कविता नै लेखे । तिनै चित्र र कविताहरु यस पुस्तकमा हेर्न र पढ्न पाइन्छ । संग्रहमा भानुभक्त आचार्यदेखि सरुभक्त र स्वयम् कवि मञ्जुल लगायत ५५ कवि तथा साहित्यकारहरु समेटिएका छन् ।
पुस्तकको एकातिर उदास आखाँभित्र विद्रोह बोकेकी पारिजातको विशिष्ट मुहारचित्र हेर्दै अर्कोपट्टि यही मुहारचित्रमा आधारित ‘माथि शैलुङमा’ कविता पढ्दा पाठकहरुले कला सम्मिश्रणको नौलो अनुभव जस्तो महसुस गर्छन् । यसरी बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, गोमा, छिन्नलता, भूपि शेरचन, पारिजात, शंकर लामिछाने, खगेन्द्र संग्रौलाहरुलाई हेर्दै पढ्दै गरिरहँदाको अनुभूति सिनेमाजस्तो लाग्छ।
पुस्तकमा चित्र र शब्दको प्रयोग गरेर कलाको रोचक प्रयोग गरिएको छ । ‘हाम्रा कवि र साहित्यकार’ कवि र चित्रकारको संगमले नयाँ आयाम ल्याउन सक्दोरहेछ भन्ने उदाहरण दिने पुस्तक बनेको छ ।
यस सङ्ग्रहका चित्रकार सुरेश कुमारले देश विदेशमा थुप्रै कला प्रदर्शनी गरी ‘क्यान कला पुरस्कार’(२०७४), ‘भानुभक्त मुहारचित्र प्रतियोगिता’(२०४५(प्रथम) लगायतका विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरेका छन्। त्यस्तै प्रसिद्ध उपन्यास छेकुडोल्माका लेखक स्थापित कवि मञ्जुलले पनि ‘शिक्षा पुरस्कार’(सन् १९९६), ‘साझा पुरस्कार’(२०५५) लगायत थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन्।
नेपाली साहित्यका उहिलेदेखि अहिलेसम्मका कवि र साहित्यकारसँग परिचय गराउने यस किताबको मुल्य रु २७५।– तोकिएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

