साहित्यपोस्टमा केही दिनदेखि परीक्षण भइरहेको सुन्ने साहित्यले निरन्तरता पाउने भएको छ । साहित्यपोस्टका पाठकहरुले यसको परीक्षण प्रशारण मन पराएपछि यसलाई नियमित गरिने भएको हो । साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले सुन्ने साहित्यको छनोट, रेकर्डिङ र सम्पादन गुणस्तरीय भएको भन्दै खुसी व्यक्त गरे ।
‘अहिले युट्युबमा कविता, गजल, कथा र उपन्यासहरु प्रशस्त सुन्न पाइन्छन् तर धेरैजसो अनाधिकृत छन्,’ कोइरालाले भने, ‘हामीले सकेसम्म स्रष्टाको स्वरमा नत्र स्रष्टा वा स्रष्टाका निकटले दिएको मार्ग निर्देशनमा सुन्ने साहित्यलाई अघि बढाएका छौँ । मोनिटाइजेसन भएपछि सुन्ने साहित्यको रोयल्टी स्रष्टाले पाउने व्यवस्था गर्नेछौँ ।’
अहिले सयौँ युट्युबर र केही रेडियोहरुले स्रष्टाका सामग्री अनुमतिबेगर नै बजाइरहेका छन् । कतिपयले स्रष्टासँग अनुमति लिए पनि त्यसबाट प्राप्त आम्दानीको सामान्य अंश पनि स्रष्टालाई दिने गरिएको पाइँदैन ।
सुन्ने साहित्यलाई व्यवस्थित गर्न साहित्यपोस्टको बेवसाइट, फेसबुक पेज, फेसबुक ग्रुप र युट्युब च्यानलबाट सुन्ने साहित्य प्रशारण हुन थालेको छ ।
सुन्ने साहित्यलाई चर्चित कवि दुर्गालाल श्रेष्ठले आफ्नै आवाजमा रेकर्ड गराएका छन् । कवि श्रेष्ठको ‘फूलको आँखामा फूलै संसार’ गीत नेपाली साहित्यमा सर्वकालिक गीत मानिन्छ । उनले दर्जनौँ पुस्तक लेखेका छन् । त्यसमध्ये ‘दुबो’ कविता संग्रहका ११० कविताहरु सुन्ने साहित्यमा प्रशारण हुने भएको छ ।
त्यसैगरी सुन्ने साहित्यमा बौद्ध दर्शनका अध्येता आर. मानन्धरको ‘क्षितिजको स्पर्श’ दर्शन साहित्य पनि प्रशारण भइरहेको छ । यसलाई साहित्यकार एवं गोरखापत्रका पूर्वसम्पादक श्रीओम श्रेष्ठ रोदनले स्वर दिएका छन् ।
सुन्ने साहित्यमा नाम छुटाउनै नमिल्ने एक दर्जनभन्दा बढी साहित्यकारका महत्त्वपूर्ण सामग्रीहरु पनि प्रशारण हुनेछन् । अहिले ती सामग्री धमाधम रेकर्ड भइरहेको साहित्यकार श्रीओम श्रेष्ठले साहित्यपोस्टलाई बताएका छन् ।
श्रेष्ठका अनुसार सुन्ने साहित्यका लागि विश्वेश्वरप्रसाद कोइराला, शंकर लामिछाने, भैरव अर्याल, बासुदेव शर्मा लुईँटेल, ताना शर्मा, धच गोतामे, कृष्णचन्द्र सिंह प्रधान, राममणि रिसाल, तेजेश्वरबाबु ग्वंग, गणेश रसिक, पारिजात, रमेश विकल, जगदीश घिमिरे, खगेन्द्र संग्रौला र डा. माधव पोखरेलका सामग्रीहरु धमाधम रेकर्डिङ् भइरहेका छन् ।
‘हरेक दिन बिहान सबा आठ बजे साहित्यपोस्टमार्फत कुनै पुस्तकको महत्वपूर्ण अंश, जुन आफैँमा पूर्ण महसुस हुन्छ, प्रशारण सुरु गरेका छौँ,’ प्रधानसम्पादक कोइरालाले भने, ‘भविष्यमा सुन्ने साहित्यको छुट्छै संसार बन्नेछ । जहाँ संसारभरिका नेपाली साहित्य प्रेमीले साहित्यिक रेडियो र साहित्यिक युट्युब च्यानलको स्वाद एकसाथ अनुभव गर्नु हुनेछ ।’
कोइरालाका अनुसार जीवित स्रष्टाको स्वरले साथ दिएसम्म स्रष्टाकै स्वरमा उनीहरुका उत्कृष्ट रचनाहरु प्रशारण गर्ने नीति लिइएको छ । केही स्रष्टाहरुका त्यस्ता रचना साहित्यपोस्टलाई प्राप्त हुन थालेको पनि कोइरालाले जनाएका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

