सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–सुनसरीले आफ्नो १९ औँ स्थापना दिवसको अवसरमा दुई सर्जकलाई सम्मान र पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।

समाजले आज एक विज्ञप्ति जारी गर्दै ‘स्वर्णिम साहित्य सम्मान–२०८२’ बाट बराहक्षेत्रका अग्रज साहित्यकार मान बज्राचार्यलाई र ‘स्वर्णिम साहित्य पुरस्कार–२०८२’ बाट पाँचथर, मिक्लाजुङ निवासी कवि तथा उत्तरवर्ती सोचका प्रवर्तक सगुन सुसारालाई सम्मानित गर्ने निर्णय गरेको हो। सम्मानको राशि ११ हजार ११ रुपैयाँ र पुरस्कारको राशि ५० हजार १ सय एकाउन्न रुपैयाँ रहेको समाजले जनाएको छ।

विज्ञप्तिका अनुसार सम्मान तथा पुरस्कार वितरण समारोह आगामी वैशाख २७ गते शनिबार हुनेछ। समारोहको स्थान र समय भने पछि घोषणा गरिने समाजले जनाएको छ। यस वर्षको पुरस्कार तथा सम्मानले साहित्य क्षेत्रको उत्थानमा योगदान पुर्‍याउने विश्वास समाजले लिएको छ।

बज्राचार्य लामो समयदेखि साहित्य क्षेत्रमा सक्रिय रहेर नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको हो भने सुसाराले आफ्नो नवीन र उत्तरवर्ती कविता शैलीले साहित्य क्षेत्रमा छुट्टै पहिचान बनाउनुभएको छ। उहाँहरूको साहित्यिक योगदानलाई स्वर्णिम साहित्य समाजले उच्च सम्मान गर्दै पुरस्कृत गर्न लागेको हो।

यस अवसरमा स्वर्णिम साहित्य समाजले आफ्नो स्थापना दिवसको शुभकामना आदानप्रदान समेत गर्ने कार्यक्रम रहेको जनाएको छ। समाजले साहित्य क्षेत्रको उत्थान र प्रतिभा सम्मानमा निरन्तर क्रियाशील रहँदै आएको छ। पुरस्कार तथा सम्मानले साहित्यिक क्षेत्रमा थप ऊर्जा थप्ने र नयाँ प्रतिभाको प्रेरणा बढाउने विश्वास समाजले व्यक्त गरेको छ।