काठमाडौँ । नेपाली साहित्यमा कवि तथा कथाकारका रूपमा परिचित र ब्रिटिस गोर्खा सैन्य सेवाबाट अवकाशप्राप्त रक्ष राईको नयाँ सैद्धान्तिक ग्रन्थ ‘डायस्पोराः अवधारणा र अभ्यास’ प्रकाशित भएको छ।

पछिल्ला वर्षहरूमा विचारक तथा सिद्धान्तकारका रूपमा चिनिनुभएका राईले यसअघि पनि ‘नवचेतनाग्रह’ र ‘डायस्पोरा सिद्धान्तः सिर्जना र समालोचना’ जस्ता महत्वपूर्ण सैद्धान्तिक कृतिहरू प्रकाशित गरिसक्नुभएको छ। ‘युद्ध सौन्दर्य चिन्तन’ पछि प्रकाशित यो पछिल्लो कृतिले डायस्पोराको अवधारणा र अभ्यासलाई गहन रूपमा विश्लेषण गर्दछ।

‘डायस्पोराः अवधारणा र अभ्यास (गोर्खाली आप्रवासनको सन्दर्भ)’ नामक यस ग्रन्थलाई दुई खण्डमा विभाजन गरिएको छ: अवधारणा र अभ्यास। अवधारणा खण्डमा विश्व आप्रवासनको संक्षिप्त परिचय, पुरानो र आधुनिक डायस्पोरा, ग्लोबल तथा समकालीन डायस्पोराका अवधारणा, विधि र पद्धतिहरू, र नेपाली आप्रवासन र डायस्पोराको विस्तृत अध्ययन समेटिएको छ। अभ्यास खण्डमा बेलायती नेपाली डायस्पोराको साहित्यिक तथा सिर्जनात्मक पक्षको विश्लेषण गरिएको छ।

प्रख्यात डायस्पोरिक समालोचक प्रा.डा. गोविन्दराज भट्टराईले यस ग्रन्थलाई प्रशंसा गर्दै यसलाई प्रत्येक प्राज्ञिक अनुष्ठानमा पुग्नुपर्ने विचार व्यक्त गर्नुभएको छ। उहाँले लेख्नुभएको छ, “नेपाल–भारतका नेपाली समुदायले अध्ययन–अध्यापन गर्ने विश्वविद्यालय र कलेजमा यस ग्रन्थ पुगोस्।” डायस्पोरिक साहित्यको अध्ययन तथा अनुसन्धानमा रुचि राख्ने अध्येता तथा अध्यापकहरूका लागि यो ग्रन्थ अत्यन्त उपयोगी हुने विश्वास गरिएको छ। ग्रन्थ रत्न पुस्तक भण्डारबाट प्रकाशित यो ग्रन्थ ६४० पृष्ठ लामो छ र यसको मूल्य रु. ११ सय ९९ तोकिएको छ।