पाँचथर ।  निबन्धकार योगी एल.भी. नेम्बाङ लिम्बूको लिम्बू भाषामा लेखिएको पहिलो निबन्धकृति ‘मुयेङ केएप्पा याप्मिहा’ (मुस्कुराउँने मानिसहरु) को मंगलबार पाँचथरको राँके बजारमा विमोचन भएको छ। फाल्गुनन्द प्रज्ञा प्रतिष्ठान पाँचथरको आयोजनामा सम्पन्न कार्यक्रममा गणतन्त्र नेपालका प्रथम कुलपति तथा मुन्धुमविद् वैरागी काइलाको हातबाट पुस्तकको लोकार्पण गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि वैरागी काइलाले पुस्तकका विषयवस्तु र महत्वबारे लामो र सारगर्भित मन्तव्य राख्नुभएको थियो । उहाँले पुस्तकमा समावेश योग दर्शनसम्बन्धी विषयवस्तु, वीर नेम्बाङ र भाषाविद् तथा ज्योतिषशास्त्री श्री रन्धोज नेम्बाङको जीवनी लगायतका पक्षहरूले पुस्तकलाई महत्वपूर्ण बनाएको बताउनुभयो। उहाँको मन्तव्यले पुस्तकको व्यापक साहित्यिक तथा ऐतिहासिक महत्वलाई उजागर गरेको थियो।

फाल्गुनन्द प्रज्ञा प्रतिष्ठानका कुलपति समदर्शी काइला (मनकुमार लावती) को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लिम्बू भाषा साहित्यप्रेमी तथा सरोकारवालाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। लिम्बू भाषा साहित्यको क्षेत्रमा एउटा महत्वपूर्ण कोशेढुङ्गा मानिएको यस कृतिले भाषा र साहित्यको संरक्षण तथा संवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ। योगी एल.भी. नेम्बाङ लिम्बूको यस उल्लेखनीय प्रयासले लिम्बू भाषा साहित्यलाई अझ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।