
काठमाडौं । नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत सञ्चालित ‘दशकदशकका कथा’ मासिक वाचन कार्यक्रमको अठारौँ शृङ्खला सम्पन्न भएको छ।
कार्यक्रममा ८३ वर्षअघि प्रकाशित युद्धप्रसाद मिश्रको ऐतिहासिक कथा ‘पुनर्मिलन’ को वाचन गरिएको थियो। यो कथा स्रष्टा मिश्रको पहिलो कथा हो भने विसं १९९८ जेठमा प्रकाशित ऐतिहासिक साहित्यिक पत्रिका ‘शारदा’ बाट वाचन गरिएको थियो । उपन्यासकार शुकदेव उपाध्यायले यो कथा वाचन गर्नुभएको थियो।
कार्यक्रमको सुरुवातमा यसै महिना दिवंगत हुनुभएका कथाकार राप्रउ पोखरेल (रामजीप्रसाद उपाध्याय)प्रति श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो। हरेक महिना कुनै दिवंगत स्रष्टाको कथा वाचन गर्ने प्रचलन अनुसार यस पटक मिश्रको कथा चयन गरिएको थियो।
यस कार्यक्रममा २०२०, २०४० र २०५० को दशकका कथाहरू पनि वाचन गरिएको थियो । २०२० को दशक अन्तर्गत नरेन्द्रराज पौडेलले ‘घैयाको बाला’ (पहिलो प्रकाशन: विसं २०२७, ‘विदेह’ पत्रिका; संग्रह: ‘फट्टिकको खम्बा’, २०५३), २०४० को दशक अन्तर्गत राशि पाण्डेले ‘दिल्लीकट लाहुरे’ (पहिलो प्रकाशन: विसं २०४३ साउन, ‘उत्साह’ पत्रिका, अङ्क २९) र मधुबन पौडेलले ‘झझल्को’ (पहिलो प्रकाशन: विसं २०४४ मङ्सिर, ‘मधुपर्क’ मासिक; संग्रह: ‘नलिनी भाउजू’, २०४९) वाचन गर्नुभएको थियो ।
२०५० को दशकका कथाहरूमा सुलोचना मानन्धर धितालले ‘एक जोर आँखा’ (पहिलो प्रकाशन: नेपाल भाषामा ‘झ्यारखाना’, पछि नेपालीमा: ‘समकालीन साहित्य’, २०५८) र अमरकुमार प्रधानले ‘गोधूलि’ (पहिलो प्रकाशन: २०५२, ‘अनुराग’ पत्रिका; संग्रह: ‘अमरका कथाहरू’ वाचन गर्नुभएको थियो ।
कार्यक्रममा अभियानका परिकल्पनाकार चन्द्रप्रसाद भट्टराई र पुष्कर लोहनीले नेपाली कथा साहित्यको इतिहास र यस अभियानको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो। लोहनीले मोतीराम भट्टको समय वा गोरखापत्रको प्रकाशनपछि मात्र नेपाली कथा लेखनको सुरुवात भएको बताउँदै शारदाको प्रकाशन (विसं १९९१) पछि मात्र यस विधाको विकास भएको धारणा राख्नुभयो। उहाँले २०१७ सालपछि निस्केका इन्द्रेणी, धरती आदि पत्रिकाहरूले आधुनिक नेपाली कथाको विकासमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयो।
यो मासिक कार्यक्रम साहित्यकार पुष्कर लोहनीको निवासस्थित सभाकक्ष, डिल्लीबजार, घट्टेकुलो, काठमाडौंमा हुने गर्दछ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

