खोटाङ । दिप्रुङ चुईचुम्मा प्राज्ञिक समाज खोटाङद्वारा आयोजित राष्ट्रिय खुल्ला कविता प्रतियोगितामा उदयपुरकी कवि सुमि पोखरेल प्रथम हुनुभएको छ । ६७ वटा प्राप्त कवितामध्ये उहाँको कविता प्रथम भएको हो ।

दिप्रुङ चुईचुम्मा गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा ६७ वटा कवितामध्ये १५ वटा छनोट गरी वाचन गरिएको थियो । भौगोलिक विकटताका कारण केही कविहरू वाचन कार्यक्रममा उपस्थित हुन नसक्नुभएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा धनकुटाको भरत थापा दोस्रो, खोटाङ केपिलासगढीका अनाम उपेक्षित तेस्रो स्थानमा रहँदा सिन्धुलीका रुपक जमरा र धनकुटाका अनिल सुवेदीले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो । प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने कविहरूले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५/५ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्नुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले पुरस्कृत कविहरूलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

देशभरबाट २४ जिल्लाका कविहरूले कविता पठाउनुभएकोमा अन्तिम प्रतिस्पर्धामा ११ जिल्लाका कविहरू सहभागी हुनुभएको थियो । कास्की, रुपन्देही, मकवानपुर, सिन्धुली, धनकुटा, ओखलढुङ्गा, काठमाडौँ, उदयपुरलगायत जिल्लाका कविहरूको सहभागिता रहेको आयोजकले बताएको छ । प्रतियोगिताले देशभरिका कविहरूलाई एउटै मञ्चमा ल्याउन र प्रतिभा प्रस्फुटन गर्न सहयोग पुर्‍याएको आयोजकको भनाइ छ ।