दोहा । अनेसास कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालयले संयुक्त रूपमा आयोजना गर्दै आएको साहित्य डबलीको १५७ औँ शृङ्खला ‘बाल साहित्य’ विशेष कार्यक्रम सम्पन्न भएको छ।

दोहाको मुन्ताजास्थित गोरखोली रेष्टुरेण्टको सभाहलमा आयोजित कार्यक्रममा बालबालिकाहरूले आफ्ना सिर्जनाहरू प्रस्तुत गर्दै साहित्यिक क्षमताको प्रदर्शन गर्नुभएको थियो ।

कार्यक्रममा बालकलाकारहरूले कविता, कथा र निबन्धात्मक सिर्जनाहरू प्रस्तुत गर्नुभएको थियो । नैतिक शर्मा न्यौपानेको ‘कुखुरी काँ’, आर्या ज्ञवालीको ‘ताराबाजी लै लै’, श्रीजल भट्टराईका ‘हजुरबुवा हजुरआमा’ र ‘ज्ञानीराम’ कथा, मायरा खत्रीको ‘मेरी आमा’, आनुष्का श्रेष्ठको ‘पढ पढ नानी हो’, खुशी गौतमको ‘मेरो मातृभूमि नेपाल’, सिवान्स रिजालको ‘सगरमाथा’ निबन्ध, आतिश शर्माको ‘काग र स्याल’ कथा, समृद्ध भट्टराईको ‘सात बार सात दिन’, नतिजा शर्मा न्यौपानेको ‘गर्मीका दिन’ र सानवी रिजालको ‘हाम्रो ध्वजा’ ले कार्यक्रमलाई जीवन्त बनाएका थिए। यी बाल सिर्जनाहरूले नेपाली भाषा र साहित्यप्रतिको बाल मनको लगाव झल्काउनुका साथै समाज प्रति उनीहरूको चेतनालाई पनि उजागर गरेको थियो।

प्रत्येक महिना आयोजना हुने साहित्य डबलीमा साहित्यिक व्यक्तिहरूलाई श्रोताका रूपमा निमन्त्रणा गर्ने परम्परा रहेको छ। १५७ औँ डबलीमा अभियन्ता कल्याण थापा श्रोताको रूपमा उपस्थित हुनुभएको थियो। उहाँले बालबालिकाको सिर्जनाले हराउँदै गएको सामाजिक चेतनालाई जगाएको बताउनुभयो।

आयोजक संस्थाले विदेशी जीवनशैली र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले बाल मस्तिष्कमा पर्न सक्ने नकारात्मक प्रभावलाई मध्यनजर गर्दै यस्ता कार्यक्रमले बालबालिकामा सकारात्मक ऊर्जा प्रदान गर्ने र नेपाली भाषा तथा साहित्यप्रति लगाव बढाउने विश्वास व्यक्त गरेको छ। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने आयोजकको योजना रहेको छ। बाल साहित्यको यस उल्लेखनीय प्रयासले कतारमा रहेका नेपाली बालबालिकाको सिर्जनात्मक क्षमतालाई प्रस्फुटित गर्नुका साथै उनीहरूलाई नेपाली भाषा र संस्कृतिसँग जोड्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।