नयाँ भूटानको छायाँ चित्र – गोविन्दराज भट्टराई

प्रा.डा समालोचक तथा लेखक गोविन्दराज भट्टराईको नविन कृति हो नयाँ भूटानको छायाँ चित्र ।
पुस्तकमा भट्टराईले अमेरिकामा स्थानान्तरण भएको भूटानबाट निर्वासित नेपाली भाषी भूटानी नागरिकहरुले गर्नुभएको साहित्यिक कार्यक्रममा अमेरिका जाँदाको यात्रा संस्मरण लेख्नुभएको छ ।

”यतिखेर नेपाली जातिले ग्लोबल रुप धारण गरिसकेको छ ।” प्रा.डा गोविन्दराज भट्टराई लेख्नुहुन्छ, ”विश्व परिस्थिति भिन्न भयो, ज्ञानज्योति विस्तारित भयो तर पनि हाम्राहरु अधिक मात्रामा श्रमिक डायास्पोरामा पुगेका सदस्यहरु छन् जस्तै खाडी मुलुक जानेहरु । तिनीहरु स्वभावैले स्वदेश फर्किने परिस्थितिमा हुन्छन् भने अन्य मूलुक जानेहरु स्वदेश फर्किने वा नफर्किने दुवै सम्भावना बोकी जान्छन् । उनीहरूलाई छनौट सुविधा पनि हुन्छ बस्ने र फर्किने तर निर्वासित भूटानी(नेपालीहरू नफर्किने हुन् भनी सम्झिँदा हाम्रो मन काटिन्छ । उनीहरूलाई आफ्नो देश प्रवेश निषेध गरेका छन् भूटानी राजाले तर उनीहरू आद्यभूमि (नेपाल) आइजाई गरिरहन्छन, नेपालको हितमा, यहाँका आफन्तको पक्षमा पनि धेरै चिन्ता गरिरहेका, सोचिरहेका हुन्छन् । हामी रातोदिन भूटानी नेपालीबारे चिन्ता नगरी रहन सक्तैनौं ।
सबै भन्दा दुःख लाग्दो कुरा यहाँ (नेपाली शिविरमा) छुटेका शरणार्थी हुन् । तर असहाय भई देशविहीन, नागरिकताविहीन अवस्थामा बसिरहेका छन् । यो देशका सत्ताधारीहरूको कारणले नै नाजूक स्थितिमा अल्झिरहेका शरणार्थीको समस्या समाधान गर्नुको साटो, भूटानी शरणार्थीको नाममा अरू नागरिक बेचे, अमेरिका पठाए र जघन्य अपराध गरे । त्यसले देशको कुख्याति अन्तर्राष्ट्रिय जगतसम्म पुग्यो हामीलाई शरम भइरहेछ । तिनै बेचुवाहरू आज सत्तामा बसेर रामराज्य चलाई रहेछन् । हाम्रो समाजले यी विस्थापित र प्रतिस्थापितप्रति विशेष सद्भाव र सहानुभूति राख्न आवश्यक देख्तछु । यस यात्राले मलाई नयाँ दृष्टि प्रदान गरेको छ । त्यो के हो भने नेपाल, भारतमा र अन्यत्र समेत ग्लोबल नेपाली जातिले यी भूटानी नेपाली डायास्पोराले गरेका गर्न खोजेका कर्मलाई समर्थन र सहयोग पुर्याउनु पर्दछ र त्यो पाटो उपेक्षित रहेछ ।”

पुस्तकलाई ओरिएन्टल पब्लिकेसनले बजारमा ल्याएको हो । तीन सय ३१ पृष्ठमा फैलिएको पुस्तकको मूल्य पाँच सय पचास रुपियाँ रहेको छ ।