डा. नरेश गोस्वामी
नयाँ दिल्ली । सलील ज्ञवालीको  कृति ‘भारतको आत्मा: विश्वका महान् चिन्तकहरूको दृष्टिमा’ को पञ्जाबी संस्करण पटियालामा विमोचन भएको छ।

पञ्जाब सरकारको भाषा विभागका निर्देशक तथा प्रसिद्ध कवि जसवन्त सिंह जफरले यस पुस्तकको विमोचन गर्नुभएको हो। कार्यक्रममा पञ्जाबका साहित्यकार र विद्वानहरूको उपस्थिति रहेको थियो।

पुस्तकको पञ्जाबी अनुवाद पञ्जाब सरकार, भाषा विभागका सहायक निर्देशक आलोक चावलाले गर्नुभएको हो। यसअघि यो कृति जर्मन, अरेबिक, संस्कृत, उर्दू लगायत १५ भाषाहरूमा अनुवाद भइसकेको छ। विश्वका धेरै अरबी भाषी देशहरूका विद्वानहरूले यसलाई उच्च प्रशंसा गर्नुभएको छ ।

विमोचन समारोहमा बोल्दै निर्देशक जफरले ज्ञवालीको कृतिलाई ‘भारतीय ज्ञानमा गहिरो आधारित असाधारण कृति’ भन्दै प्रशंसा गर्नुभएको थियो । उहाँले यस पुस्तकको पञ्जाबी संस्करणको विमोचनमा सहभागी हुन पाउँदा गर्व महसुस गरेको बताउनुभयो। उहाँले अनुवादक चावलाको प्रयासको पनि उच्च प्रशंसा गर्नुभयो।

अनुवादक चावलाले यस पुस्तकमा आइन्स्टाइन, गोएथे, हेर्डर, टी.एस. एलियट, शोपेनहावर, हाइजेनबर्ग, हेगेल, युङ, ग्रीसकी रानी फ्रेडेरिका, मार्क ट्वेन, एच.जी. वेल्स र हेनरी डेभिड थोरो जस्ता विश्वविख्यात व्यक्तित्वहरूले भारतको प्राचीन बौद्धिक र सांस्कृतिक सम्पदामाथी गरेको प्रशंसा समावेश गरिएको बताउनुभयो । यी महान् व्यक्तित्वहरूले भारतको साहित्य, विज्ञान, दर्शन, अध्यात्म र कलाको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गरेको छ ।

लेखक ज्ञवालीले पञ्जाबका विद्वानहरू र पञ्जाब सरकारलाई यस कृतिको अनुवाद र विमोचनका लागि धन्यवाद दिनुभयो। उहाँले यो पुस्तकको अरेबिक संस्करण सन् २०२४ मा दुबईमा र जर्मन संस्करण सन् २०२२ मा मेघालयका मुख्यमन्त्री कोनराड संगमाद्वारा विमोचित भएको जानकारी दिनुभयो।

पूर्व असमका राज्यपाल गुलाबचन्द्र कटारियाले यो पुस्तकलाई ‘भारतको लागि राष्ट्रिय गर्वको विषय” भनेर प्रशंसा गर्नुभएको थियो र सन् २०२३ मा राजभवन, गुवाहाटीमा यसको उर्दू संस्करण विमोचित गर्नुभएको थियो।

सन् १९९८ मा पहिलो पटक जेरोक्स संस्करणमा प्रकाशित यो पुस्तक ज्ञवालीको २४ वर्षभन्दा बढीको अनुसन्धानको परिणाम हो। यसमा अमेरिकास्थित प्रो. कमलेश लुल्लाद्वारा लिखित प्रेरणादायी भूमिका समावेश छ।