
स्याङ्जा । ‘शुक्ला साहित्य संगम तनहुँ’ द्वारा आयोजित साहित्यिक यात्राको समापन स्याङ्जाको फापरथुमस्थित आनन्दआश्रममा साहित्यिक गोष्ठीको आयोजना गरी समापन गरेको छ । दुलेगौंडा, पोखरा, नागडाँडा र सेतीदोभान हुँदै आनन्दआश्रमसम्मको यात्रा टुकादेवी आचार्यको नेतृत्वमा सम्पन्न भएको थियो ।
आनन्दआश्रमको आनन्दभवनको ‘टुल्की नन्दकला’ सभाकक्षमा सम्पन्न गोष्ठीको अध्यक्षता आचार्य स्वयंले गर्नुभएको थियो। शुक्ला साहित्य संगमका संगीतकर्मीहरुले प्रस्तुत गरेको स्वागत गितले कार्यक्रमको शुभारम्भ गरेको थियो भने राष्ट्रिय गानसँगै गोष्ठीको औपचारिक सुरुवात भएको थियो।
आनन्दआश्रमका संस्थापक संरक्षक त्रिलोचन ढकाल प्रमुख अतिथि तथा शुक्ला साहित्य संगमका संरक्षक शेषमणि आचार्य विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। प्रमुख अतिथि ढकालले शुक्ला गण्डकी साहित्य संगमका विद्वानहरूलाई आनन्दआश्रममा स्वागत गर्ने अवसर पाउँदा आफूलाई अत्यन्त हर्ष लागेको बताउनुभयो। उहाँले आनन्दआश्रमको स्थापना र लक्ष्यबारे प्रकाश पार्दै एउटा मार्मिक कविता पनि सुनाउनुभयो। विशिष्ट अतिथि आचार्यले आनन्दआश्रम र शुक्ला साहित्य संगम साहित्यिक विकासमा सहयात्री भएको उल्लेख गर्दै पाँचवटा छोटा कविता वाचन गर्नुभएको थियो ।
गोष्ठीमा आनन्दसुन्दर श्रेष्ठ, जनार्दन दाहाल, जगन्नाथ पौडेल, जीवनसागर, खेमराज खनाल, ध्रुवराज पौडेल, मोहन भुजेल लगायतका कलाकारहरूले आफ्ना रचनाहरू प्रस्तुत गर्दा सभाकक्ष उत्साहले भरिएको थियो। दुर्गा बहादुर, हरिबहादुर महत, बिनिता परियार र उर्मिला थापाका जोशीला र ज्ञानवर्द्धक गीतहरूले पनि कार्यक्रमलाई थप रोमाञ्चक बनाएको थियो।
अन्तमा, कार्यक्रमकी सभापति आचार्यले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै एक कविता वाचन गर्नुभएको थियो र कार्यक्रमको समापन घोषणा गर्नुभयो। कार्यक्रमको सञ्चालन याम सापकोटाले गर्नुभएको थियो। यो साहित्यिक यात्रा तथा गोष्ठीले साहित्यिक क्षेत्रमा नयाँ उर्जा थपेको छ भन्ने आसा छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

