पोखरा । हिमालको काखमा व्यवस्थित मनमोहक गाउँ सिक्लेस यस पटक कला, कविता र चेतनाको अनुपम संगमको साक्षी बन्यो ।

पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गरेको ‘समता कला कार्यशाला’ को ६५औँ श्रृंखला शुक्रबार र शनिबार गैह्रीथर समाजघर, सिक्लेसमा सम्पन्न भएको छ । क्यानभास, रङ र कुची बोकेका कलाकारहरू र चोटिला कविता लिएर आएका कविहरूको उपस्थितिले सिक्लेसको वातावरणलाई झनै रमणीय बनाएको थियो ।

कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य मानबहादुर गुरुङले क्यानभासमा रङ पोतेर गर्नुभएको थियो । उहाँले पोखरेली युवा सांस्कृतिक परिवारको कला, साहित्य र संगीत मार्फत गाउँगाउँमा पुग्ने प्रयासको प्रशंसा गर्दै हरेक व्यक्तिमा रहेको क्षमताको उपयोग गर्न जोड दिनुभयो । मादी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष देवीजंग गुरुङले आफ्नो कविता वाचन गर्दै पहिले सिक्लेसमा सञ्चालन भएको ‘क्यानभासमा सिक्लेस’ कार्यक्रमको स्मरण गर्दै यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमलाई वातावरणविद् डा. हुमबहादुर गुरुङले जलवायु परिवर्तनका चुनौतीहरू उठाउँदै थप अर्थपूर्ण बनाउनुभयो । उहाँले हिउँ पग्लिने र हिमाल काला हुँदै गएको चिन्ता व्यक्त गर्दै आगलागीका घटनाले बढाएको समस्यातर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँले यस्ता सिर्जनात्मक कार्यक्रमले चेतना जगाउन र सिक्लेसजस्ता स्थानलाई विश्वभर चिनाउन सहयोग पुर्‍याउने बताउनुभयो ।

संस्थाका सल्लाहकार तथा कलाकार प्राज्ञ बुद्धि गुरुङले कार्यक्रमको सन्दर्भ, उद्देश्य र महत्वमाथि प्रकाश पारेर सहभागी कलाकार तथा कविहरूलाई सिर्जनात्मक यात्रामा अघि बढ्न प्रेरित गर्नुभयो । डा. ईश्वरमणि अधिकारी, सरस्वती श्रेष्ठ ‘सरु’, उपेन्द्र पौडेल, चैतन्य अधिकारी, अम्बिकाप्रसाद भट्टराई, विश्वराज रसाइली, विकल्प पराजुली र सविना सुनाम लगायतका कविहरूले आ–आफ्ना कविता वाचन गरेर सिक्लेसको साँझलाई साहित्यिक उज्यालोले भरिदिनुभएको थियो ।

कार्यक्रमको अर्को दिन, सहभागी कवि र कलाकारहरू डा. हुमबहादुर गुरुङको नेतृत्वमा सिक्लेस गाउँ र वरपरका हिमशृंखलाहरूको अवलोकन भ्रमणमा निस्किनुभएको थियो । उहाँहरूले स्थानीय भूगोल, जनजीवन, सामाजिक संरचना, विकास र वातावरणीय चुनौतीहरूको प्रत्यक्ष अनुभव लिएर त्यहीँ बसेर कला सिर्जना गर्नुभएको थियो । उहाँहरूले सिक्लेसको सौन्दर्य, समस्या र सम्भावनालाई क्यानभासमा उतारेर पोखरा फर्किनुभएको थियो ।

पूर्व अध्यक्ष ईश्वरमणि अधिकारीका अनुसार समता कला कार्यशाला केवल एउटा कार्यक्रम मात्र नभएर, गाउँ–सहर, सिर्जना–संवेदना र प्रकृति–सांस्कृतिक चेतनाको जिउँदो पुल हो, जसले हरेक शृंखलामा गाउँपिच्छे नयाँ रंग भर्दै अघि बढिरहेको छ ।