
हुरीको इन्द्रेणी उक्लेर – विष्णुविभु घिमिरे
कवि विष्णुविभु घिमिरेको नयाँ कविता संग्रह हो हुरीको इन्द्रेणी उक्लेर ।
कवि विष्णुले कवितामा समसामयिक समाज, जीवन र जगत्को चित्रण, वर्तमानको पीडा र देशको दुरवस्थाको मार्मिक चित्रण पाइन्छ ।
”पहिलो प्रभाव, भावसँग जोडिएको छ, कविताको भावसँग। यो प्रभाव कविलाई भेट्नुअघि तर कविका हृदयका सन्तानहरू भेटिसकेपछिको हो।” आख्यानकार अमर न्यौपाने पुस्तकमा लेख्नुहुन्छ, ”यहाँ प्रेमिका भेट्न जाँदा त आँखामा फूल फुलाउँदै काँडाकाँडामा टेकेर जानुपर्छ, कठघरामा उभिन जानेलाई कसले फूल ओछ्याइदिन्छ र ? उनले कविता लेख्न सुरु गर्दा देशमा प्रजातन्त्र थिएन । त्यसैले व्यवस्था र त्यसको अवस्थाबारे कविता लेख्दा खाली खुट्टा काँडाकाँडामा टेकेर हिँड्नुपर्थ्यो । कुनै कविता कुरा जस्ता, कुनै कुरकुराइ जस्ता, कुनै कुञ्ज जस्ता, कुनै निकुञ्ज जस्ता । कुनै कविता उकुसमुकुसबाट फुटेका मकैका फुल जस्ता, कुनै कविता शरद् ल्याउन फुटेका फूल जस्ता ।
जे होस्, अध्यात्म र दर्शन, विचार र भावनालाई ठिक्क पकाएर तयार पारिएको मनतातो परिकार जस्ता । कतै त बातैबातमा जन्मिएका साधरण कुराकानी जस्ता ।”
त्यसैगरी पुस्तकमा वैरागी काइला लेख्नुहुन्छ, ”विज्ञान र प्रविधिको चरम विकासले मानवजातिलाई सर्वशक्तिमान् बनाएको मात्रै होइन अत्यन्त असुरक्षित पनि तुल्याएको छ। राष्ट्रराष्ट्रका बीचमा सत्ता, शक्ति र स्वार्थलिप्साका लागि ज्ञानको चरम दुरुपयोग भएको छ । विश्वमा सत्ता र शक्तिका लागि हतियारको बहुराष्ट्रिय उद्योग र बेपारमा होडबाजी छ । विश्व आतङ्कित छ आज असुरक्षित अस्तित्व जोगाउनका लागि । युद्धको भयले आक्रान्त विश्व र देश राजनीतिक विकृति र विसङ्गतिले त्रसित मानवसभ्यता र मानवताप्रति कवि विभु सारै चिन्तित छन् । मान्छेले बाँच्नका लागि कुनै शान्तिको गाउँ कतै छ कि ? भन्ने खोजीमा सधैँ रहेको मानवतावादी बोधले भरिएका उनका सुन्दर काव्य अभिव्यक्तिले बताउँछ । प्रेम, सद्भावनाका संवेदनाले ओतप्रोत शब्दहरूले लटरम्म कविताले कवि विभुको वैश्विक चिन्तन देखाउँछ ।
आफ्नो समाज र देशमा बढ्दो विकृति, स्वार्थान्धता र राष्ट्रियताविरोधी बढ्दो विमर्शप्रति रोष प्रकट गर्दै कविले के चेतावनी दिन्छन् भने ‘….. छातिमा राष्ट्रियता रित्तिएपछि, एउटा देश नक्साबाट हराउन पनि सक्छ…।’ कविको भनाइले सबै राष्ट्रवादीको मन र मुटु छुन्छ ।
पुस्तकलाई माया पब्लिकेशनले बजारमा ल्याएको हो । ४६ ओटा कविता सङग्रहित पुस्तको मूल्य दुई सय ९५ रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

