गाउँ छाडेको मान्छे – अमर शाह

कवि अमर शाहको नयाँ कविता संग्रह हो गाउँ छाडेको मान्छे ।
अमर शाहको कवितामा समाजको विद्यमान वर्ग विभेद, राजनीतिक विकृति, अन्धविश्वास, धार्मिक उत्पीडन चित्रण भएको पाइन्छ ।

”राजनीतिक विकृति र विसङ्तिको आलोचना शाहका कविताको एक महत्वपुर्ण विशेषता हो ।” पुस्तकमा डा.अमर गिरी लेख्नुहुन्छ, ”मुलुक राजनीतिक विकृति र विसङ्गतिले आक्रान्त भएका कारण जनताले पीडा खप्नु परेको छ । राजनीतिक परिर्वतनपछि मुलुकको अनुहार फेरिने छ भन्ने धेरैलाई लागेको थियो तर त्यसो हुन सकेन । राजनीतिक विकृति र विसङ्गति यसको एक महत्वपूर्ण कारकका रुपमा रहेको छ । समकालीन कविहरुले यस कटु यर्थाथलाई आलोचनात्मक चेतना सहित आफ्ना कवितामा अभिव्यक्ति दिएका छन् । कवि शाहका कवितामा पनि यस यर्थाथले काव्यात्मक अभिव्यञ्जना पाएको छ ।”

त्यसैगरी पुस्तकमा कवि अमर शाह लेख्नुहुन्छ, ”मेरो लागि सिर्जन कर्म रुचिको मात्र नभै गहन जिम्मेवारी पनि हो र, यो जिम्मेवारी पुरा गर्ने क्रममा म मेरा रचनाहरु सिर्जनाको लागि सिर्जना मात्र नहोऊन् वा पाठकको लागि अर्ति उपदेशका पोका मात्र पनि नबनुन् भन्नेमा सचेत रहने प्रयास गर्छु । यो प्रयासमा सफल भए वा भइनँ, मूल्याङकन गर्ने जिम्मा पाठकलाई । कविता आफैँले बोल्ने कुरा मैले यहाँ लेख्नु जायज पनि नहोला । प्रकाशित पुस्तकको संख्याका हिसाबले मेरो चौथो र कविता सङग्रहको रुपमा दोस्रो यो सङग्रहमा समावेश कविताहरु लामो कालखण्डमा रचना गरिएका र प्राय पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । संकलन गरी पुस्तकको रुपमा प्रकाशन हुँदा पाठकसम्म पुर्याउन सहज हुने र अभिलेख पनि रहने भएकोले यो सङग्रहको प्रकाशन भएको छ ।”

पुस्तकलाई शब्दमिडिया प्रा.लि (साहित्यपोस्ट) ले प्रकाशन गरेको हो ।
५४ ओटा कविता संग्रहित पुस्तकको मूल्य चार सय रुपियाँ रहेको छ ।