
काठमाडौं । लेखक सुमति बज्राचार्यद्वारा लिखित पुस्तक ‘स्तूप र चैत्य’ परिमार्जनसहित पुनः प्रकाशित भएको छ।
काठमाडौं उपत्यकाका प्राचीन चैत्य तथा स्तूपहरूको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्वमाथि केन्द्रित यस पुस्तकले १७ वर्षपछि पुनः पाठकहरूको हातमा स्थान पाएको हो।
सन् २००६ मा पहिलो संस्करण प्रकाशित भएको यस पुस्तकको विमोचन खेन्पो ग्युर्मे छुल्ठ्रिम, डा. गौतमवीर बज्राचार्य र स्वयं लेखक सुमति बज्राचार्यद्वारा संयुक्त रूपमा गरिएको थियो । पहिलो संस्करणको लोकप्रियता र पुरातन सम्पदाको संरक्षणमा पुस्तकले पुर्याएको योगदानलाई मध्यनजर गर्दै मुगुम पब्लिकेसन प्रा.लि.ले यसलाई पुनः प्रकाशन गर्ने निर्णय गरेको हो।
यस पुनः प्रकाशित संस्करणमा पुरातात्विक अनुसन्धानका पछिल्ला तथ्यहरू समावेश गरिएका छन्। पुस्तकमा केही नयाँ फोटोग्राफहरू थपिएका छन् भने पहिलेका केही जानकारीहरू परिमार्जन गरिएका छन्। मुगुम पब्लिकेसनले यस नयाँ संस्करणले काठमाडौंका प्राचीन चैत्य तथा स्तूपहरूको अध्ययनमा थप सघाउ पुर्याउने विश्वास व्यक्त गरेको छ।
पुस्तकको पुनः प्रकाशनले काठमाडौंको बौद्ध सांस्कृतिक र पुरातात्विक सम्पदाहरूको अध्ययनमा चासो राख्ने अनुसन्धानकर्ता, विद्यार्थी र आम पाठकहरूलाई महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। विगतमा यस पुस्तकमा समावेश जानकारी र अनुसन्धानको प्रशंसा भइसकेको छ र यसको पुनः प्रकाशनले उपत्यकाको सांस्कृतिक सम्पदाको अध्ययनलाई थप बल पुग्ने आशा गरिएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

