
काठमाडौं । नेपाली मुक्तक साहित्यको उन्नयनमा क्रियाशील चार संस्थाहरू – नेपाल मुक्तक प्रतिष्ठान, घुम्ती मुक्तक नेपाल, मुक्तक मञ्च काठमाडौं र मुक्तकालय नेपाल – को संयुक्त आयोजनामा एक आकर्षक मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं प्रज्ञा प्रतिष्ठानमा आयोजित यस कार्यक्रममा मुक्तकका पारखीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाली मुक्तक परम्पराका बारेमा चर्चित साहित्यकार तथा चलचित्रकर्मी यादव खरेलले प्रकाश पार्नुभएकत्र थियो । उहाँले नेपाली मुक्तकको इतिहास, विकास र वर्तमान अवस्थाबारे आफ्नो धारणा राख्दै यस विधाको महत्व र सम्भावनाबारे प्रकाश पार्नुभएको थियो ।
खरेलको प्रस्तुति पश्चात् ११ जना प्रतिभावान् मुक्तककारहरूले आफ्ना सिर्जना वाचन गरेर कार्यक्रमलाई झनै रोमाञ्चक बनाउनुभएको थियो । भैरहवाका रुद्र ज्ञवाली, रौतहटका हरिकृष्ण काफ्ले, नेपालगन्जका खगेन्द्र गिरी ‘कोपिला’, झापाका मदन भण्डारी, पोखराकी सरु लामिछाने, काठमाडौंका उदास कार्की, सन्तोष अम्गाईं, मीना चौलागाईं, पार्वती भट्ट, अनुराधा ढकाल र दीक्षा भण्डारीले दुई चरणमा १०/१० वटा मुक्तक वाचन गर्नुभएको थियो । उहाँहरूका मुक्तकहरूले श्रोताहरूलाई भावुक र मनोरञ्जन दुवै प्रदान गरेको थियो ।
घुम्ती मुक्तक नेपालका निर्मलरमण पराजुलीले कार्यक्रमको सफलताको जानकारी दिँदै चार संस्थाको संयुक्त पहलले नेपाली मुक्तक साहित्यको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमले नेपाली मुक्तक साहित्यको समृद्धिमा टेवा पुग्ने र यस विधाका प्रतिभाशालीहरूलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
