
भद्रपुर । झापाकी लेखिका बालिका वान्तवाद्वारा लिखित उपन्यास ‘प्याउली’ को भद्रपुरमा स्थानीयस्तरमा विमोचन तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। भद्रपुर जेसीजको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा उपन्यासको साहित्यिक महत्व र समसामयिक सान्दर्भिकतामाथि चर्चा गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगर प्रमुख गणेश पोखरेल रहनुभएको थियो भने भद्रपुर जेसीजका अध्यक्ष शैलेश श्रेष्ठले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो। सहप्राध्यापक चुडामणि वशिष्ठ, सहप्राध्यापक होम सुवेदी र साहित्यकार लता खरेलले उपन्यासको समीक्षा गर्दै यसमा समेटिएका विषयवस्तुको व्याख्या गर्नुभयो।
समीक्षकहरूले ‘प्याउली’ ले पूर्वी पहाडी भेगको जीवनशैली, अन्तरजातीय विवाहका चुनौती, वैदेशिक रोजगारीका कारण सिर्जित पारिवारिक समस्या, गरिबी र अभावबीचको संघर्षजस्ता विषयलाई मार्मिक ढंगले प्रस्तुत गरेको बताउनुभयो । उपन्यासले नारीको संघर्ष, साहस र अस्तित्वको खोजीलाई मौलिक शैलीमा चित्रण गरेको उहाँहरूको धारणा थियो।
सहप्राध्यापक वशिष्ठले उपन्यासमा भोजपुर, झापा, काठमाडौं र हङकङसम्मको भौगोलिक विस्तारलाई कथावस्तुसँग सफलतापूर्वक जोडिएको बताउनुभयो। उहाँले उपन्यासमा समेटिएको नारीवादी चेतना र नेपाली मौलिकताको प्रशंसा गर्नुभयो।
सहप्राध्यापक सुवेदीले ‘प्याउली’ मा किराँत परम्पराको प्रयोग र नारी चेतको उजागरलाई उल्लेख गर्दै उपन्यासले भौतिक, मानसिक र आध्यात्मिक सुखको खोजीलाई कसरी नारीत्वको बलियो प्रस्तुतिद्वारा जोडेको छ भन्ने कुरा स्पष्ट पार्नुभयो।
साहित्यकार खरेलले उपन्यासले बेरोजगारी र गरिबीका कारण विदेशिने महिलाहरूको संघर्षलाई मार्मिक रूपमा प्रस्तुत गरेको बताउनुभयो। भोजपुरबाट झापा हुँदै परदेशसम्मको यात्रामा एक महिलाले भोगेका कठिनाइ र संघर्षलाई उपन्यासले उजागर गरेको उहाँको भनाइ थियो।
कार्यक्रममा भद्रपुर जेसीजका कार्यक्रम संयोजक आरोग्य तिम्सेनाले स्वागत मन्तव्य राख्नुभएको थियो भने महासचिव हेडम्बराज निरौला र साहित्यकार खगेन्द्रा खुसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा झापाका विभिन्न स्थानबाट साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

