याउमा तेई । हङकङमा १४ वर्षदेखि निरन्तर चल्दै आएको हङकङ साहित्यिक साझाको १४२ औँ संस्करण याउमा तेईस्थित एकीकृत नेपाली समाज (हिन्स) को सभाकक्षमा भव्यताका साथ सम्पन्न भएको छ। रमन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालबाट प्राप्त साहित्यिक कृतिहरूको विमोचन, विभिन्न साहित्यिक सिर्जनाहरूको वाचन र नयाँ पुरस्कारको घोषणा गरिएको थियो।

कार्यक्रमको उद्घोषण रोशन याक्सोले गर्नुभएको थियो भने अरुणा शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा दाजु गुरुङ, राजकुमार राई, चन्द्र मादेन ‘आन्छन्’, डा. चेतकुमारी गुरुङ, टिवी याक्खा, सुनिता गिरी, बज्रकुमार राई लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।

सो संस्करणमा दीपक सुवेदीद्वारा लिखित ‘हङकङको नेपाली साहित्य र अन्य समालोचना’, कवि समीप वैरागीको कविता सङ्ग्रह ‘साहीमासा’ र म्यामराज राईको लघुकथा सङ्ग्रह ‘बुन्छत’ को विमोचन गरियो। कवि जुनु रानाले ‘साहीमासा’ बाट कविता वाचन गर्नुभएकत्र थियो भने सुन्दर गुरुङ, बज्रकुमार राई, सुनिता गिरी, जानु काङमाङ लिम्बू, रमण गुरुङ, डोम राना, अरुणा शर्मा, विष्णु मुखिया, खुसी लिम्बू लगायतका सर्जकहरूले आ-आफ्ना रचनाहरू वाचन गर्नुभयो । कवि नरेन्द्र गुरुङ र बालकवि सुनिष्का याक्खाको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।

कार्यक्रममा पहिलो पटक सहभागी डा. चेतकुमारी गुरुङ, खुसी लिम्बू र नागरिक आवाजका सम्पादक दिलिप राईलाई संयोजक रमण गुरुङले डायरी, कलम र खदा लगाएर स्वागत गर्नुभएको थियो। चित्रकार दिपेन्द्र राईले डा. सन्दुक रुइतको चित्र प्रदर्शन गर्दै उहाँको व्यक्तित्वबारे प्रकाश पार्नुभएको थियो।

यस संस्करणले पूर्वसंयोजक स्व. लालबहादुर गुरुङको स्मृतिमा नगद राशि सहित प्रत्येक वर्ष एक जना साहित्यिक व्यक्तित्वलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । यस वर्षदेखि नेपालका एक जना साहित्यिक सर्जकलाई पनि नगद र ताम्रपत्र सहित सम्मानित गरिने घोषणा गरिएको छ।

आगामी मे महिनाको अन्तिम आइतबार हङकङ साहित्यिक साझाको १३ औँ वार्षिकोत्सव मनाइनेछ, जहाँ वार्षिक मुखपत्र विमोचन गरिनेछ र घोषणा गरिएका पुरस्कारहरू प्रदान गरिनेछ। प्रत्येक महिनाको आइतबार निरन्तर हुँदै आएको यस साझाले नेपाली भाषा साहित्यको जगेर्नामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।