काठमाडौँ । रमाकृष्ण सृजना प्रतिष्ठानले २०८० र २०८१ सालका लागि प्रदान गर्ने विभिन्न सम्मान तथा पुरस्कारका विजेताहरूको घोषणा गरेको छ। प्रतिष्ठानको हालै सम्पन्न कार्यसमिति बैठकले विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान र पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

२०८० सालको लागि ‘कवि भवानी घिमिरे स्मृति रमाकृष्ण साहित्य सम्मान’ साहित्यकार तथा समालोचक प्रा.डा. चूडामणि बन्धुलाई प्रदान गरिने भएको छ। यसैगरी, ‘वीर झागल गुरुङ स्मृति रमाकृष्ण जनजाति उन्नयन पुरस्कार’ संगीतकार बुलु मुकारुङलाई र ‘डा. हर्क गुरुङ स्मृति रमाकृष्ण विज्ञान तथा प्रविधि पुरस्कार’ डा. मनीषराज पाण्डेलाई प्रदान गरिनेछ।

त्यसैगरी, २०८१ सालको लागि ‘कवि भवानी घिमिरे स्मृति रमाकृष्ण साहित्य सम्मान’ प्रा.डा. अभि सुवेदीलाई, ‘वीर झागल गुरुङ स्मृति रमाकृष्ण जनजाति उन्नयन पुरस्कार’ संगीतकार राजकुमार श्रेष्ठलाई र ‘डा. हर्क गुरुङ स्मृति रमाकृष्ण विज्ञान तथा प्रविधि पुरस्कार’ डा. इन्द्रप्रसाद सुवेदीलाई प्रदान गरिने निर्णय भएको छ।

यो सम्मान तथा पुरस्कारहरू आगामी चैत्र २३ गते शनिबार काठमाडौँमा आयोजित एक विशेष समारोहमा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।

वि.सं. २०६६ मा स्थापित रमाकृष्ण सृजना प्रतिष्ठानले विभिन्न क्षेत्रका क्रियाशील व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ। प्रतिष्ठानले साहित्यिक गोष्ठी आयोजना, कृति प्रकाशन र साहित्यिक भ्रमण जस्ता कार्यक्रमहरू पनि आयोजना गर्दै आइरहेको प्रतिष्ठानका महासचिव यादव भट्टराईले जानकारी दिनुभयो। यी सम्मान तथा पुरस्कारहरूले सम्मानित व्यक्तित्वहरूको योगदानको कदर गर्नुका साथै नेपाली साहित्य, कला र विज्ञानको क्षेत्रमा थप प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।