देवदह । नेपाली लेखक संघको आठौँ राष्ट्रिय अधिवेशनले वियोगी बुढाथोकीलाई अध्यक्षमा चयन गरेको छ। लुम्बिनीमा सम्पन्न अधिवेशनमा उहाँले प्रतिस्पर्धी रत्नमणि नेपाललाई पराजित गर्दै अध्यक्ष पदमा विजयी हुनुभएको हो । तीन सय एक जना प्रतिनिधि सहभागी अधिवेशनमा बुढाथोकीले एक सय १५ मत प्राप्त गर्दा नेपालले ५९ मत प्राप्त गर्नुभएको थियो ।

अध्यक्ष पदसँगै अन्य केही पदहरूमा पनि प्रतिस्पर्धा भएको थियो । सह–अध्यक्ष पदमा मनोज न्यौपानेले डा. शैलेन्दु नेपाललाई पराजित गर्दै विजयी हुनुभएको छ । न्यौपानेले एक सय १२ मत प्राप्त गर्दा नेपालले ६९ मत प्राप्त गर्नुभएको थियो । महासचिव पदमा सोझो गाउँलेले प्रकाश विमिललाई पराजित गर्दै विजय हासिल गर्नुभएको हो । गाउँलेले एक सय २६ मत प्राप्त गर्दा विमिलले ४९ मतमा चित्त बुझाउनुपरेको थियो।

निर्वाचन संयोजक धर्मेन्द्र नेम्वाङ्गका अनुसार अन्य पदहरू भने सर्वसम्मत चयन भएको छ । खुल्ला उपाध्यक्षमा दामु मर्सिफुल, डा. इश्वरमणी अधिकारी, डा. विष्णु के.सी र डा. शशि थापा पण्डित चयन हुनुभएको छ । महिला उपाध्यक्षमा विमला तुम्खेवा, परराष्ट्र उपाध्यक्षमा युवराज डि.सी., उपमहासचिवमा नारायण सापकोटा, कोषाध्यक्षमा विशु कुमार के.सी. तथा खुल्ला सचिवमा निर्मल ढुङ्गाना, डा. लोकेन्द्र बहादुर खड्का र मिलन समीर सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

महिला सचिवमा निर्मला कोइराला निर्विरोध निर्वाचित हुँदा सदस्यहरूमा इन्द्र लम्साल, सन्तोष बोहरा, राजन बस्नेत, सुदर्शन आचार्य, दिवाकर घिमिरे, विमल बैद्य, अमृत क्षेत्री, हरिप्रसाद चालिसे, मोहव वाग्ले र रामचन्द्र घिमिरे चयन हुनुभएको छ । प्रदेश प्रतिनिधिहरूमा कोसी प्रदेशबाट जेबी खत्री, वागमतीबाट भगवती खनाल, गण्डकीबाट डा. गणेश प्रसाद शर्मा, लुम्बिनीबाट लिलाधर पाण्डेय, कर्णालीबाट कमला के.सी र सुदुरपश्चिमबाट प्रा.भोजराज जोशी निर्विरोध चयन हुनुभएको छ ।

महिला सदस्यमा राधिका गुरागाई, गंगा विष्ट, शोभा अधिकारी, ईन्दिरा निरौला र सन्जा कुमारी दनुवार, दलित सदस्यमा गणेशबहादुर नेपाली, आदिवासी जनजाती सदस्यमा मनु योङहाङ र पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गर्दै द्रोपती डाँगा सदस्यमा चयन हुनुभएको छ ।

शनिवार उद्घाटन भएको अधिवेशन आइतबार नयाँ नेतृत्व चयनसँगै सम्पन्न भएको नवनिर्वाचित सचिव ढुङ्गानाले जानकारी दिनुभएको छ ।