काठमाडौं । उपन्यासकार ज्ञानेन्द्रराज काफ्लेको कृति ‘नौला शिक्षकहरू’ नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा लोकार्पण गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथि पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले उपन्यासको विमोचन गर्दै यसलाई फरक धार र शैलीमा लेखिएको कृति भनेर प्रशंसा गर्नुभयो । उहाँले पुस्तकमा पूर्वीय दर्शनको गहिरो प्रभाव र स्थान विशेषको जीवन्त लवजको प्रयोगलाई उल्लेखनीय मान्दै लेखकको लेखन शैली र भाषिक सीपको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगा प्रसाद उप्रेतीले उपन्यासकार काफ्लेको व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्दै यस कृतिलाई कथा र उपन्यासको मिश्रित स्वरुप भएको ‘कथान्यास’ को रुपमा व्याख्या गर्नुभयो । उहाँले आत्मअनुभूति समेटिएका श्रृंखलाबद्ध कथा र उपकथाको संयोजन मार्फत लेखकले नेपाली आख्यान साहित्यमा नौलो प्रयोग गरेको बताउनुभयो । उप्रेतीले यो कृतिले समकालीन उपन्यास लेखनमा नयाँ आयाम थपेको उल्लेख गर्दै लेखकले जीवन दर्शनका बहुआयामिक पक्षलाई विशिष्ट ढंगले उजागर गरेको धारणा राख्नुभयो । उहाँले लेखकले जीवन चिन्ने क्रममा विभिन्न गुरुहरूसँगको संगतलाई र कठिन जीवनयापन गर्ने सामाजिक वर्गका मानिसहरूलाई समेत गुरुको रूपमा आत्मसात गरेको कुरा उल्लेख गर्नुभएको थियो ।

पुस्तक प्रकाशक सोपान मासिकका प्रकाशक बासुदेव ढकालले लेखक काफ्लेसँगको लामो समयदेखिको सम्बन्ध स्मरण गर्दै उहाँको नेपाली भाषा र साहित्यप्रतिको लगावको प्रशंसा गर्नुभयो । उहाँले कृतिको सफलताको कामना पनि व्यक्त गर्नुभयो ।

साहित्यपोष्टका प्रधान सम्पादक अश्विनी कोइरालाले पुस्तकको आवरणदेखि अन्तरवस्तुसम्मको समीक्षात्मक टिप्पणी गर्नुभएको थियो भने कार्यक्रमका सभापति पूर्व न्यायाधीश ईश्वरप्रसाद खतिवडाले उपन्यासकार काफ्लेको लेखकीय र सामाजिक व्यक्तित्वमा रहेको भिन्नतालाई उल्लेख गर्नुभयो । उहाँले कार्यक्रममा व्यक्त भएका मन्तव्यहरूले उपन्यासलाई नयाँ उचाइ दिएको धारणा राख्नुभयो ।

स्वयं उपन्यासकार काफ्लेले सतहदेखि उचाइमा रहेका मानिसहरूबाट प्राप्त ज्ञान र जीवन दर्शनलाई उपन्यासमा अभिव्यक्त गर्ने प्रयास गरेको बताउनुभयो । उहाँले जन्म र मृत्युलाई हेर्ने दृष्टिकोण र जीवनका विभिन्न परिवेशका अनुभूतिहरूलाई समेटेर साधारण मानिसको गाथा चित्रण गर्ने प्रयास गरेको उल्लेख गर्नुभयो । उहाँले झ्याउरे लयमा मुना मदनको आधुनिक प्यारोडीमार्फत परदेशी जीवनका पक्षहरू पनि उजागर गरेको बताउनुभयो ।

उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावलले कार्यक्रम सञ्चालन गर्दै कृति र कृतिकारबारे समालोचनात्मक प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा विभिन्न विधाका साहित्यकार, लेखकका सहकर्मी र परिवारका सदस्यहरूको उपस्थिति थियो।