
काठमाडौँ । कवि तथा सञ्चारकर्मी छविरमण सिलवालको कविताकृति ‘डोरम्याट’माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा बौद्धस्थित उत्पला क्याफे परिचर्चा कार्यक्रम सम्पन्न भएको हो ।
वरिष्ठ कवि कृष्ण बाउसेले डोरम्याटलाई नेपाली जनताको बिम्बको रूपमा कविता बुनिएको बताउनुभयो । उहाँले भन्नुभयो, ”कृतिमा सुन्दर पर्याकविताहरू पनि केही थान परेका छन् । पर्यावरणीय दृष्टिचेतका कविता हुनु राम्रो हो । आगामी संस्करणमा कृतिको आवरण प्रतिकात्मक होस् ।”
कवि एवं सम्पादक विमल भौकाजीले डोरम्याट आयातीत शब्द भएको बताउँदै भन्नुभयो, “तर यसलाई नेपाली बोलीचाली र भाषा साहित्यले ग्रहण गरिसक्यो । यो वर्ष पढेका कविता कृतिमध्ये डोरम्याट सरल, सुललित भाषा, सरल बिम्बहरू प्रयोग गरी समसामयिकतालाई ध्यान दिएको कविता कृति हो ।”
कवि आर.एम. डंगोलले कृतिमाथि चर्चा गर्दै सामान्यतया कथ्य एउटै भए पनि त्यसलाई कसरी प्रयोग गर्ने भन्ने कविको आफ्नै शैली हुने बताउनुभयो ।उहाँले भन्नुभयो, “समकालीन नेपाली कविताको मूलमै लेखिएका कविताहरू कथ्यको हिसाबले प्रचलित शैलीमै लेखिएका छन् ।”
कवि तथा साहित्यकार नवराज रिजालले पाठकीय टिप्पणी प्रस्तुत गर्दै भन्नुभयो, “कविता जीवनसँग जोडिनुपर्दछ । गलत कुराहरूको सपना देखाइ जनताको भावनामा शोषण हुनेगरी गलत क्रियाकलापप्रति कविको व्यङ्ग छ । कविताहरूले परिवर्तन र पहिचानप्रति खबरदारी गरेका छन् । हरेक कविता जीवनसँग जोडिएको छ ।”
कृतिकार एवं सभाध्यक्ष छविरमण सिलवालले लेखकीय मन्तव्य व्यक्त गर्दै समाजका अवयवहरूले कविता कोर्न आफूलाई प्रेरित गरेको बताउनुभयो । विभिन्न घटनाहरूले प्रभाव पारेर कविता सिर्जना हुने बताउँदै परिष्कृत र परिमार्जित रूपमा ल्याउन आफू तत्पर भएको बताउनुभयो ।
यसअघि कवि विष्णु थापा, विश्व सिग्देल र पूर्णबहादुर श्रेष्ठले कवि सिलवालका कविताकृति डोरम्याटका कविताहरू वाचन गर्नुभएको थियो ।
कार्यक्रममा होमशंकर बास्तोलाले स्वागत गरेको उक्त कार्यक्रममा केशव पराजुली, वेदराज पौडेल लगायतले आफ्ना धारणा राख्नुभएको थियो ।
‘आफू विरुद्धको आफैं’सँगको सहकार्यमा भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव साहित्यकार प्रदीप सापकोटाले गर्नुभएको थियो ।
डोरम्याट भुँडीपुराण प्रकाशनद्धारा प्रकाशनमा आएको हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
