
रुपन्देही । अनुराग साहित्य समाज नेपालको चौथो अधिवेशनले सरस्वती वस्याललाई अध्यक्षमा चयन गरेको छ। शुक्रबार देवदहमा सम्पन्न अधिवेशनले वस्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। यसअघि अध्यक्ष रहनुभएको यमलाल अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि नवराज पराजुलीले आफ्ना कविता वाचन गरेर सहभागीहरूलाई मन्त्रमुग्ध बनाएउनुभएको थियो ।
कवि पराजुलीले ‘रुख’, ‘हेप्पी बर्थडे’, ‘कथामा भेटौंला’ र ‘तिमी उसको हुनु’ जस्ता चर्चित कविताहरू करिब डेढ घण्टा लामो प्रस्तुति दिनुभएको थियो । उहाँको भावुक शैलीले दर्शकहरूको मन छोएको थियो।
कार्यक्रममा देवदह नगरपालिकाकी कार्यवाहक नगरप्रमुख विद्यालक्ष्मी गुरुङले भौतिक विकाससँगै कला र साहित्यको विकासलाई पनि उत्तिकै महत्व दिनुपर्नेमा जोड दिनुभयो । उहाँले देवदहमा प्रज्ञा प्रतिष्ठान गठनको निर्णय भए पनि हालसम्म कार्यान्वयन हुन नसकेको र छिट्टै यसको पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अधिवेशनले विभिन्न क्षेत्रमा योगदान पुर्याउनुभएका व्यक्तित्वहरूलाई सम्मान पनि गरेको छ। ‘नरेन्द्र अनुराग साहित्य पुरस्कार २०७९’ बाट सरस्वती तिमिल्सिना र २०८० बाट वनमाली निराकार, ‘कविता रत्न सम्मान २०८१’ बाट यज्ञप्रसाद न्यौपाने, ‘अनुराग गौरव सम्मान २०८१’ बाट मुकेश ज्ञवाली, र ‘संरक्षण श्री सम्मान २०८१’ बाट देवदह नगरपालिकालाई सम्मानित गरिएको छ। यसैगरी, ‘श्रेष्ठ योगदान सम्मान २०८१’ शिवप्रसाद काफ्ले र रीता पराजुली, ‘समर्पण रत्न सम्मान २०८१’ राजकिरण अर्याल र गोमा बस्याल, र ‘अक्षयकोष सम्मान २०८१’ नवनिर्वाचित अध्यक्ष सरस्वती वस्याललाई प्रदान गरिएको थियो । रेडियो देवदहका निमित्त स्टेशन म्यानेजर गोविन्द घर्ती र पत्रकार कमला अर्याललाई सञ्चार क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।
नवनिर्वाचित कार्यसमितिका अन्य पदाधिकारीहरूमा श्यामप्रसाद न्यौपाने (वरिष्ठ उपाध्यक्ष), शिवप्रसाद काफ्ले (उपाध्यक्ष), अनन्तराम भण्डारी (सचिव), दलबहादुर विक (सहसचिव), र रीता पराजुली (कोषाध्यक्ष) रहनुभएको छ । सदस्यहरूमा जानुका लम्साल, भगवती शर्मा तिवारी, मधु भण्डारी, पूजा ढुंगाना र मिनप्रसाद भट्टराई चयन हुनुभएको छ । कार्यक्रममा देवदह नगरपालिकाका पूर्व नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगर प्रवक्ता, जनप्रतिनिधि, शिक्षक, समाजसेवी र साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

