प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साहको पुस्तक ‘गर्भको गर्व’को दोस्रो संस्करण प्रकाशनमा आउने भएको छ । गत वर्ष साहित्यपोस्टबाट प्रकाशनमा आएको पुस्तकको दोस्रो संस्करण प्रकाशनमा आउनेभएको हो ।

डा. साहले अनुभवमा आधारित रही महिलाहरुमा मासिकश्रावदेखि गर्वावस्था हुँदै वृद्धावस्थासम्म देखिने जटिलता र त्यसका सामाधानहरुलाई कथाशैलीमा पुस्तकमा समेट्नुभएको छ ।

पुस्तकले पाठकहरुसँग भावनात्मक सम्बन्ध बढाउन सहयोग गरेको डा. साहको अनुभव छ । उहाँ भन्नुहुन्छ, ‘‘पाठकहरु, विशेषतः गर्भवतीहरुलाई यो पुस्तकले सचेत गराएको छ । गर्भवतीको पारिवारलाई पनि यसले गर्भ र यसका जटिलता र विशेषताबारे सजग गरायो । त्यही भएर होला, पाठकहरु नै यो पुस्तकको प्रचारक बन्नुभयो र छोटो समयमा नै २ हजार प्रति पुस्तक बिक्री भई नयाँ संस्करण प्रकाशनको सँघारमा आइपुग्यौं ।’’

यसअघि पाठ्यक्रमसँग सम्बन्धी पुस्तक लेख्नुभएका साह ‘गर्भको गर्व’ भने साहित्य र स्वास्थ्य शिक्षाको संगम भएको बताउनुहुन्छ । भन्नुहुन्छ, ‘‘यो मेरो पहिलो लेखन होइन तर यसअघिका पुस्तकहरुमा पाठ्यक्रमसँग सम्बन्धित थिए जुन चिकित्सकीय सुझावहरु मात्र समेटिएका छन् । यो चाहिँ साहित्य र स्वास्थ्य शिक्षाको संगम सावित भयो । यो प्रयोग पाठकहरुले मन पराउनुभयो । पाठकबाट जुन हौसला र ऊर्जा पाएको छु, त्यसका लागि आभार व्यक्त गर्छु ।’’

वि.स. २०८०, भदौमा प्रकाशनमा आएको पुस्तकको दोस्रो संस्करण चैत्र अन्तिमबाट बजारमा उपलब्ध हुने प्रकाशक साहित्यपोस्टका सञ्चालक तथा प्रधानसम्पादक अश्विनी कोइरालाले जनाउनुभएको छ ।