
ललितपुर । इतिहासविद् तथा शिक्षासेवी लीला बहादुर तुम्बाहाङ्फेको कृति ‘याक्थुङ साप्मुन्धुमः लिम्बु र लिम्बुवान इतिहास’ शनिबार ललितपुरको तिखेदेवलमा एक समारोहका बीच सार्वजनिक भएको छ। मुन्धुमविद् बैरागी काइँला, सभाध्यक्ष पूर्वअन्चलाधीश ऋतुवर्ण तम्बाहाङ्फे, किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापो र स्वयं लेखकले पुस्तकको लोकार्पण गर्नुभएको थियो ।
डीबी आङबुङले सम्पादन गरेको यस पुस्तक लेखककी कान्छी छोरी भावना तुम्बाहाङ्फे र पासाङ नाम्ग्याल लामाले प्रकाशन गर्नुभएको हो । पुस्तक दुई खण्डमा विभाजित छ। पहिलो खण्डमा वि.सं. १८१८, १८३१ देखिका ५७ वटा सरकारी अभिलेखहरू समावेश छन्। यी अभिलेखहरूमा ‘कामदत्त सेनको चाकिल्ले लालमोहर’, ‘लिम्बुहरूले अधिकार भोग्न पाउने लिखत’, ‘सुभा–सभाङ्गीलाई दिइएको हातहतियार’, ‘हिन्दुपति राजाले थिति थामिदिएको पत्र’, ‘किरातीहरूलाई झारा जान वा मूल्य तिर्न निर्देशन’, ‘लिम्बु र याक्खालाई नमासिने मान्यताको मोहोर’ जस्ता ऐतिहासिक दस्तावेजहरू समेटिएका छन्।
दोस्रो खण्डमा ३३ वटा तमसुक र स्थानीय अभिलेखहरू छन्। यस खण्डमा ‘अन्याय भएको मुद्दामा निसाफका लागि जाहेरी’, ‘युवालाई बेलायती सेनामा भर्ती हुन आदेश’, ‘बिफर रोग नियन्त्रण गर्न वैद्यहरू बोलाएको लिखत’, ‘बाली खायेको तिर्जा रसिद’, ‘जान लागेको थिति थाम्ने पत्र’ जस्ता अभिलेखहरू समावेश गरिएका छन्। प्रत्येक अभिलेखको सक्कल तस्बिर र त्यसको लिप्यान्तर पनि पुस्तकमा समावेश गरिएको छ।
इतिहासविद् तुम्बाहाङ्फेको यो दोस्रो कृति हो। यसअघि उहाँले ‘सातरेनुहाङ तुम्बाहाङ्फे वंशावली र फेदाप लिम्बुवान’ (२०६३) प्रकाशित गर्नुभएको थियो।
लोकार्पण समारोहमा बोल्दै मुन्धुमविद् बैरागी काइँलाले लिम्बु समाजमा आफ्नो इतिहासप्रति चासो बढ्दै गएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले पछिल्ला दश वर्षमा लिम्बुवान सम्बन्धी धेरै पुस्तकहरू प्रकाशित भएको र यस पुस्तकले लिम्बु इतिहासको अध्ययनमा महत्वपूर्ण योगदान दिने बताउनुभयो। पुस्तकमा समेटिएका अभिलेखहरूले लिम्बुहरूको सामाजिक स्थिति, जग्गाजमिनको साँधसीमाना, र शासन प्रणालीको बारेमा जानकारी दिने उहाँले बताउनुभयो। कार्यक्रममा इतिहास अध्येता डा. कमल तिगेला, सम्पादक डीबी आङबुङ र सांसद सीता गुरुङले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

‘शम्भु-निर्मला विशिष्ट साधक सम्मान’बाट काइँला र अमात्य सम्मानित
